+
+

अखिल क्रान्तिकारीको विवाद समाधान, २९ जेठमा केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:४१

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद मिलेको नेताहरुले बताएका छन् ।

काठमाडौंमा दुई दिनसम्म चलेको पदाधिकारी बैठकले सबै विवाद समाधान गरेको महासचिव दिपेश पुनले अनलाइनखबरलाई जानकारी दिए ।

गत भदौमा भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र अन्य चयन नहुदै अध्यक्ष मात्र तोकिएको थियो ।

त्यस्तै पदाधिकारी चयनमा एकलौटी भएको भन्दै असन्तुष्ट भएर अखिल क्रान्तिकारीका नेता पवन कार्कीले नेता समानान्तर गतिविधि चलाएका थिए ।

संगठनको अनुशासन विपरी समानान्तर गतिविधि गरेको भन्दै अखिल क्रान्तिकारीले उनलाई निलम्बन गरेको थियो । विवाद बढ्दै गएपछि माओवादी केन्द्रको विस्तारित केन्द्रीय कार्यालय बैठकमा समेत छलफल भएको थियो । पार्टीको बैठकले विवाद समाधानका लागि पहल लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सोमबारदेखि बुधबारसम्म अखिल क्रान्तिकारीको पदाधिकारी बैठक बोलाइएको थियो । बैठकमा निलम्बित कार्कीले समानान्तर गतिविधि गर्नु आफ्नो गल्ती भएको भन्दै आत्मआलोचना गरेपछि उनीमाथिको कारवाही फिर्ता लिएको महासचिव पुनले बताए।

त्यस्तै पदाधिकारी बैठकले २९ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनेछन् ।

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा समेत तय गरेको छ । महासचिव पुनका अनुसार केन्द्रीय समितिमा मनोनित गर्न बाँकी ९९ जना सदस्य थप्ने, सचिवालय गठन र कार्यविभाजन गर्ने एजेन्डा तय गरिएको छ ।

त्यस्तै ३ महिने संगठन सुदृढिकरण अभियान चलाउने र थप १२ लाख सदस्य बनाउने एजेन्डा पनि पदाधिकारीले बैठकले तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?