+
+
जसपामा फेरि सुरु भयो विवाद :

बाबुरामलाई काउन्टर दिन उपेन्द्रको लोसपा कार्ड !

दुबै पक्ष पार्टीमा एकता बनाउनेभन्दा आफ्नो बहुमत जुटाउनेतिर उद्दत देखिन्छ । कतिसम्म भने दुबै पक्षले हिजो फुटेर गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तिर आँखा लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते २०:२६

२५ जेठ, काठमाडौं । पार्टी बैठकमा सहभागी हुन जनकपुरधाम पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुलाई आह्वान गरे, ‘हिजोको समीक्षा गरौं । फुटेर होइन, जुटेर अगाडि बढौं ।’

महन्थ ठाकुर नेतृत्वको समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पार्टी फुटाए पनि केही नपाएको भन्दै उनले विगतको समीक्षा गर्दै एकतामा आउन आग्रह गरे । यादवले अघि भने, ‘खुला हृदयले स्वागत गर्न तयार छौं ।’

लोसपाका नेताहरु भने यादवको अभिव्यक्ति पार्टी एकताका लागि नभई पार्टीमा आएको संकट टार्ने अस्त्र मात्र भएको बताउँछन् । ‘जब पार्टी फुट्न थाल्छ, यहाँले यस्ता कुरा गर्नुहुन्छ’, लोसपाका एक कार्यकारीणी सदस्य भन्छन्, ‘यदि उहाँले साच्चै एकता चाहेको भए मिडियामा होइन, हामीसँग संवादमा आउनुहुन्थ्यो ।’

लोसपा नेताहरुले भने जस्तै यादव नेतृत्वको जसपामा फेरि विवाद सुरु भएको देखिएको छ ।

पहिल्यै फुट नजिक पुगेको थियो जसपा

ओली नेतृत्वको सरकारमा जाने वा नजाने विवादका कारण महन्थ ठाकुर समूह साउन २०७८ मा जसपाबाट अलग भएको थियो । निर्वाचन आयोगले ठाकुर समूहलाई हराएर उपेन्द्र यादव र डा. बाबुराम भट्राई पक्षलाई वैधानिकता त दियो तर रिक्त रहेको अध्यक्ष पदलाई लिएर फेरि विवाद सुरु भयो ।

मन्त्री, राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट लगायतमा समेत परामर्श नगरेको भन्दै असन्तुष्ट बनेको भट्टराई पक्षले पुस–माघमै पार्टीमा आफ्नो पक्षको बहुमत जुटाउन कसरत गर्‍यो । सके बहुमत जुटाउने, नसके ४० प्रतिशत पुर्‍याएर स्थानीय चुनावअघि नै नयाँ दल बनाउने समेत भट्टराई पक्षको प्रयास थियो ।

तर उपेन्द्र यादव केही लचिलो भए । टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई दिए भने असारमा विधान अधिवेशन गर्ने सहमति गर्दै पार्टीको फुट टारे ।

फेरि सुरु भयो विवाद

जसपामा असार १ र २ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो, जसमा ‘समावेशी सामूहिक नेतृत्व’को अवधारणामा जाने भट्टराई पक्षको तयारी थियो ।

यो अवधारणा अनुसार मधेसी, आदिवासी जनजाति र खसआर्य समूहबाट तीन अध्यक्ष रहनेछ । यसो गर्दा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई अध्यक्ष बन्ने र समूहिक नेतृत्वमा पार्टी चलाउन सकिने नेताहरु बताउँछन् ।

तर विधान अधिवेशन नै अनिश्चित भएको छ । अहिलेसम्म विधानको मस्यौदा बनेको छैन, प्रतिनिधिहरु छनोट पनि नभएकाले विधान अधिवेशन नहुने पक्का जस्तै छ । ‘निर्वाचनको धपेडीका कारण डेलिगेट्सहरु चयन गर्न सकिएको छैन’ कार्यकारीणी सदस्य मनिष सुमन भन्छन्, ‘अझै जिल्ला समन्वय समितिको चुनाव भइरहेको छ । त्यसैले असारको विधान अधिवेशन अब सम्भव देखिएन ।’

भट्टराई पक्षका नेताहरुले भने विधान अधिवेशन नहुने अवस्थामा केन्द्रीय समितिको बैठक बोलाएर पार्टीमा देखिएका समस्याबारे छलफल गर्नुपर्ने माग गरेका छन् । उपमहासचिव गंगा श्रेष्ठ भन्छन्, ‘विधान अधिवेशन गर्ने भनिएको थियो । तर अहिलेसम्म कुनै तयारी नभएकाले केन्द्रीय समितिको बैठक राखौं भनेका छौं ।’ तर अध्यक्ष यादवले खासै चासो देखाएका छैनन् ।

यदि अध्यक्ष यादवले बैठक नबोलाउने र पार्टी सञ्चालन शैली पनि परिर्वतन नगर्ने हो भने भने विधानमा भएको व्यवस्थाअनुसार विकल्प खोज्ने भट्टराई पक्षको तयारी छ । एक नेता भन्छन्, ‘उपेन्द्रजीले प्रक्रियागत रुपमा ढोका खोलिदनु भएन भने विधानको व्यवस्था, अरु ऐन कानुनमा के छ खोज्छौं ।’

यो भनेको पार्टीमा बहुमत जुटाएर आधिकारिकता लिने, नभए ४० प्रतिशत पुर्‍याएर दल फुटाउनसम्म हुने नेताहरु बताउँछन् । यसका लागि हाल कानुनी अड्चन छ । संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउने अध्यादेश ल्याएर फिर्ता लिएको सरकारले प्रतिस्थापन विधेयक ल्याएको छैन ।

संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याएर दल फुटाउन पनि सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई ब्यूँताउनुपर्छ । यसका लागि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवासँग समेत सम्वाद गरिसकेको नेताहरुको दाबी छ ।

दुबैको नजर लोसपातिर

जसपा नेताहरुका अनुसार स्थानीय चुनावअघि नै यादव र भट्टराई दुबै पक्षलाई लामो समयसम्म सँगै जान सकिन्न भन्नेमा लागेको थियो । हालै सम्पन्न स्थानीय चुनावको नजिताले त्यसलाई झन् बल पुर्‍याएको नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘बाबुरामजीलाई उपेन्द्रलाई नेता मानेर पहाडमा पार्टी बनाउन सकिन्न भन्ने लागेको छ । उपेन्द्रजीलाई पनि बाबुरामजीहरु भन्दा मधेसको शक्तिसँग मिल्ने भने शक्तिशाली भइन्छ भन्ने लाग्न थालेको छ ।’

त्यसैले दुबै पक्ष पार्टीमा एकता बनाउनेभन्दा आफ्नो बहुमत जुटाउनेतिर उद्दत देखिन्छ । कतिसम्म भने दुबै पक्षले हिजो फुटेर गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तिर आँखा लगाएका छन् ।

पार्टीमा फुट आए लोसपाको साथ लिएर अघि बढ्ने यादव र भट्टराई दुबै पक्षको रणनीति देखिन्छ । यादवले विगतको समीक्षा गरेर पार्टी एकतामा आउन लोसपा नेताहरुलाई आह्वान गर्नु पनि त्यही भएको नेताहरु बताउँछन् ।

भट्टराई पक्षका नेताहरु पनि लोसपा नेताहरुसँग निरन्तर सम्पर्कमा छन् । ‘अघिल्लो विवादमा बाबुरामजी आफैं सम्पर्कमा हुनुहुन्थ्यो, अहिले दोस्रो, तेस्रो तहका नेताहरु कुराकानीमा हुनुहुन्छ,’ लोसपाका एक कार्यकारिणी सदस्य भन्छन्, ‘विभाजन गरेर नआउँदासम्म अरु कुरा गर्न सकिन्न भनेका छौं ।’

यद्यपि जसपामा विभाजन आएको अवस्थामा उपेन्द्रभन्दा बाबुराम पक्षसँग सहकार्यको सम्भावना हुने उनले बताए । ‘पटकपटक धोका पाएकाले उपेन्द्रजीसँग मिल्न डर छ,’ लोसपाका ती नेता भन्छन्, ‘बाबुरामजीसँग जसपामा हुँदा पनि सहज थियो । भोलि फुट आउँदा पनि उहाँ नै प्राथमिकतामा पर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?