+
+
झलनाथ खनालसँग अन्तर्वार्ता :

‘मन्त्री हेरफेर नभए गठबन्धनको आवश्यकता समाप्त हुन्छ’

हाम्रो पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ । यो पार्टीले गरेको निर्णय अस्वीकार गर्ने अधिकार कसैलाई पनि छैन । हामी पर्खिरहेका छौं । यदि निर्णय कार्यान्वयन भएन भने हामीलाई त्यस्तो गठबन्धनमा बस्नुपर्ने आवश्यकता नै समाप्त हुन्छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ जेठ २६ गते २०:०४

२६ जेठ, काठमाडौं । सत्ता गठबन्धन मध्येको एउटा प्रमुख दल नेकपा एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टी एकाएक तरंगित बन्यो ।

सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्रीले अहिले मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय सुनाइदिए, पुरानै मन्त्रीहरूले यथावत् काम गरे । बाहिरबाट हेर्दा घटना यहींनिर रोकिए झैं लागे पनि नेकपा एकीकृत समाजवादी पार्टीभित्रको तरंग साम्य भइसकेको छैन ।

पार्टीका शीर्ष नेताहरूले आफ्नो निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बारम्बार ताकेता गरिरहेका छन् । बुधबार बिहान मात्रै पनि प्रधानमन्त्रीलाई भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् । उसो त यो गठबन्धनसँग नेकपा एकीकृत समाजवादीको थुप्रै आक्रोश र असन्तुष्टि बाहिर आएका छन् ।

यही सन्दर्भको वरिपरि रहेर अनलाइनखबरले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरुको पार्टीको हालखबर के छ ?

पार्टी ठीकै छ । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जुन परिणामहरू आए त्यो आधारमा मान्छेहरू आ-आफ्ना समीक्षा गर्दैछन् । हामी पनि समीक्षा गर्दैछौं । स्थानीय तह निर्वाचनको परिणामलाई गहिरो गरी अध्ययन गरेर निर्मम ढंगले समीक्षा गर्नुपर्छ भन्ने लागेको छ ।

स्थानीय तहको चुनावबारे समीक्षा गर्दैगर्दा अर्काे चुनावको मिति नजिक आइसक्छ । समीक्षा गर्ने हो कि आउँदो चुनावको तयारी ?

दुइटै कुरा गर्नुपर्छ । समीक्षा नगरी अर्काे चुनावको तयारी हुन सक्दैन । त्योभन्दा पहिले त हामीले स्थानीय निर्वाचनको नतिजाले के भन्दैछ, जनमानसमा जनताको आकांक्षा के रहेछन् भन्ने यो निर्वाचनले पनि केही न केही प्रकट गरेको छ । यो सबै चिजलाई राम्रोसँग अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्छ ।

अहिलेसम्मको विश्लेषण के हो ?

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन भनियो । पाँच दलका बीचमा गठबन्धन हुन सकेन । विशेष गरी नेपाली कांग्रेस र नेकपा माओवादीबीच धेरै ठाउँमा गठबन्धन भएको देखियो ।

स्वयम् नेपाली कांग्रेस र माओवादीले कतिपय ठाउँमा एमालेसँग गठबन्धन गरेको देखियो । जे निर्णय भयो त्यसलाई प्रमुख दलहरूले पालना गरेको देखिएन । पालना गर्ने इमानदार पार्टी हाम्रो मात्रै भयो । हामीले धेरैजसो ठाउँमा उम्मेदवार उठाउन पनि पाएनौं । धेरै ठाउँमा भोटर मात्रै बन्न पायौं ।

नेकपा एकीकृत समाजवादी त नयाँ पार्टी पनि हो, त्यति हुँदा पनि महानगर, उपमहानगरमा विजयी हुनुभएको छ । त्यसमा त सन्तुष्ट हुनुपर्ने होला नि ?

स्थानीय तह निर्वाचनमा थोरै ठाउँमा गठबन्धन भयो । काठमाडौंमा पनि भयो । काठमाडौंमा पनि ६२ हजार उपमेयरको मत बदर भयो । त्यो कलम र रूखको थियो । यसको अर्थ रूखवालालाई राम्रोसँग प्रशिक्षण नै नगरिएको हो या त्यो ढंगले मत हाल्न नचाहेको भन्ने प्रकट भयो नि ! त्यसकारण गठबन्धन भए पनि नियम पालना गरेको देखिएन ।

अर्काे निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि मत बदल्यो त्यो भनेको जनताको बालिग मताधिकारलाई तल-माथि पार्ने एक किसिमको आपराधिक काम हो त्यो । किनभने जनताको बालिग मताधिकारको अधिकारलाई सही ढंगले वातावरण बनाउने काम निर्वाचन आयोगको हो । तर उसको गलत निर्णयका कारण धेरै ठाउँमा मत बदर भएको छ ।

काठमाडौं महानगरमा उपमेयरको मात्रै ६२ हजार बदर भयो । त्यो मत र उहाँले पाएको २५ हजार जोड्ने हो भने सबैभन्दा धेरै मत काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले प्राप्त गरेको देखिन्छ तर उहाँले प्राविधिक कारणले जित्नुभएन । जनताले मत त हालेको हो, तर रूखमा भोट हाल्ने साथीहरूलाई गठबन्धनबारे जानकारी नै गराइएन । हामी पराजित हुनुपर्‍यो ।

त्यसो भए अब यहाँहरूको सोच के हो त ?

म त के पक्षको मान्छे हुँ भने, नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो अब हाम्रो समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । अब हामीले प्राप्त गर्ने भनेको वैज्ञानिक समाजवाद हो । यसमा म एकदमै प्रष्ट छु ।

त्यो लक्ष्यलाई प्राप्त गर्न नेपालका वामपन्थीहरूले, कम्युनिस्ट क्रान्तिकारीहरूले एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । उनीहरूका बीचमा एकता हुनुपर्छ । एकतामा कुनै कमजोरी भएको छ भने आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्छ । वामपन्थी एकता निर्माण गरेर अरू लोकतान्त्रिक प्रगतिशीललाई पनि समावेश गर्नुपर्छ । यो नेपालको वस्तुगत आवश्यकता हो । तर नेपालका प्रमुख वामपन्थी दलका नेताहरूले यो कुरा बुझिरहेका छैनन् ।

जनवादी क्रान्ति सफल भयो, अबको बाटो वैज्ञानिक समाजवादको हो भनेर एमालेको आठौं महाधिवेशनले पारित गर्‍यो, त्यतिखेर तपाईं पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । बीचमा नेकपा बन्यो अनेक उतारचढाव आए । यति धेरै यहाँलाई थाहा रै’छ, आफ्नै पार्टीका अध्यक्षलाई हटाएर फेरि यो वैज्ञानिक समाजवादको कल्पनै गर्न नसक्ने लोकतान्त्रिक-वाम गठबन्धन किन बनाउनुभयो त ?

मैले लामो समयदेखि निर्माण गरेको पार्टी एमाले हो नै । नवौं महाधिवेशनसम्म मैले नेतृत्व गरेको पनि हो । नवौं महाधिवेशनले समाजवादीको बाटोमा गएर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्यो र त्यही सारलाई पारित पनि गर्‍यो । तर नेतृत्वले त्यसलाई स्वीकार गरेन । निर्वाचनमा दुई पार्टीले दुई तिहाइ बहुमत ल्यायौं, पार्टी एकीकरण भयो ।

एकीकृत पार्टीले नवौं महाधिवेशनले पारित गरेको दस्तावेज अस्वीकार गर्‍यो । एकीकृत पार्टीलाई नै अदालतमार्फत विभाजित गराइयो । स्वयम् एमालेलाई पनि केन्द्रीय कमिटीको बैठकको नाममा आधाभन्दा बढी सदस्यलाई बोलाउँदा पनि नबोलाई त्यसैलाई एमाले भन्ने खालको कुरा गर्न थाले । दक्षिणपन्थी अवसरवादी खाडलतर्फ एमालेलाई लैजाने काम भयो, परिणामस्वरुप हामीले विद्रोह गर्‍यौं ।

यहाँकै भनाइलाई आधार मान्दा त्यति धेरै बैगुनसहितको पार्टीसित कसरी गठबन्धन होला त ?

गठबन्धन भनेको पार्टी एकता होइन नि ! अहिले हामीले पाँच दलको गठबन्धन भनेको पार्टी एकीकरण हैन नि ! साझा सवालमा एकता हो । यदि वामपन्थी समूह भनेर आफूलाई भन्नेहरूले नेपालमा समाजवाद स्थापना गर्नुपर्छ, हामी वैज्ञानिक समाजवादको बाटोमा जानुपर्छ भन्छन् भने कतिपय कार्यदिशामा नीतिमा, सिद्धान्तमा भिन्नता हुँदाहुँदै पनि हामी कतिपय साझा सवालमा एकमत हुन सकियो भने वामपन्थी एकता हुन सक्छ ।

यो मोर्चाबन्दी हो, एउटै पार्टी होइन । त्यस्तो मोर्चा निर्माण गरेर अगाडि जाने सिलसिलामा नीति, कार्यक्रम, सिद्धान्त आदि कुरामा एकरूपता हुन्छ । आवश्यक पर्‍यो भने पार्टी एकता पनि हुन सक्छ ।

पार्टी निर्माणपछि एउटा चुनाव सकिंदा नसकिंदै फेरि वाममोर्चाको आवश्यकताको महसुस कसरी गर्नुभयो ?

यो चुनाव नसकिंदा पनि देशको वस्तुगत आवश्यकताको हिसाबले भन्ने हो भने वामपन्थी एकताको आवश्यकता थियो । तर वामपन्थी समूहकै नेताले दक्षिणपन्थी बाटो, संसदविरोधी, संविधानविरोधी बाटो लिएको हुनाले हामीले पाँचदलीय गठबन्धन बनाउनु परेको हो । त्यो बाटोमा हामीले स्थानीय तह निर्वाचनको अनुभव लिएका छौं । त्यहाँ राम्रा नराम्रा दुइटै चिजहरू छन् ।

मैले भनेको वामपन्थी एकता वस्तुगत आवश्यकता हो । तर आत्मगत रूपले वामपन्थी नेता तयार छैनन् । आम कार्यकर्ता तयार देख्छु । मेचीदेखि महाकालीका कार्यकर्ताले अगाडि बढ्नुस्, साथ छ भन्छन् । त्यसो हुनाले कहिलेकाहीं नेताहरूले माथिबाट पहल गरेपछि हुन्छ, कहिलेकाहीं तलबाट हुन्छ । स्थानीय तह निर्वाचनमा पनि कतिपय ठाउँमा तल एकता भएको छ । भोलि के हुन्छ थाहा छैन, तर अहिलेकै अवस्थामा पाँचदलीय गठबन्धन जुन छ, त्यो जारी रहन्छ ।

कहिलेसम्म जारी रहन्छ ?

सामान्य रूपमा भन्नुपर्दा आउने निर्वाचनसम्म जान सक्छ । निर्वाचन सम्पन्न भइसकेपछि कस्तो संसद बन्छ, त्यो कसैले पनि भन्न सक्दैन, यो चाहिं आमजनतामाथि निर्भर गर्छ । उनीहरूले दिने फैसला मान्नुपर्ने हुन्छ । त्यतिखेर मान्नुस्, अब नेकपा एकीकृत समाजवादीकै बहुमत आयो, एउटा परिस्थिति हुनेभयो । कांग्रेसको बहुमत आयो अर्काे परिस्थिति हुनेभयो । कुनै पार्टीको बहुमत नआए संभावनाका खेल अनेक हुन सक्छन् । त्यो सिनारियो प्रकट भइसकेपछि पाँचदलीय गठबन्धन के हुन्छ, टुंगो लाग्छ ।

एकातिर वाम एकता आवश्यक छ भन्नुहुन्छ, अर्कातिर अहिलेको गठबन्धन निरन्तर गइरहन्छ भन्नुहुन्छ, विरोधाभास भएन ?

विरोधाभास किन भयो भने वस्तुगत आवश्यकता र आत्मगत आवश्यकताका बारेमा अन्तरविरोध भयो । त्यो अन्तरविरोध अहिले तपाईंको दिमागमा सुल्भिmएन । तपाईंले अहिले मिल्दै नमिल्ने कुरा देख्नुभयो । कहिलेकाहीं यस्ता खण्डहरू आउँछन् ।

हाम्रो देशको आवश्यकता समाजवादी क्रान्ति हो । समाजवादी क्रान्ति पूँजीवादी वर्गले गर्दैन । जुन वामपन्थी पूँजीवादी वर्गसँग मिलेर अघि बढिरहेका छन् उनीहरूले समाजवादी क्रान्ति गर्दैनन्, स्पष्टै छ नि ! त्यसो हुनाले म चाहिं के कुरा छोडिरहेको छैन भने, समाजवादी क्रान्तिको युग हो । त्यो बारेमा गम्भीरतापूर्वक सोचेर कार्यनीतिक कार्ययोजना बनाए राम्रो हुन्छ । तर अब वामपन्थी नेताहरू नै तयार नभएको अवस्थामा आत्मगत शक्ति तयार नभएको अवस्थामा मुलुक त चलाउनु पर्‍यो । त्यो मुलुक चलाउनका लागि यो गठबन्धन जे उद्देश्यले तयार भएको थियो, अहिले विघटनको अवस्थामा छैन, जारी रहन्छ ।

अब व्यावहारिक भएर हेर्दा, त्यहीं बसेर असन्तुष्टि प्रकट गरिराखेको छ, वाम एकता हुनुपर्छ पनि भनिराखेको छ । तपाईंहरूमाथि त झन् अविश्वास बढ्ला नि ?

त्यो पनि हुनसक्छ । उहाँहरूले अविश्वास बढाउनुभयो भने त्यो उहाँहरूको खुबीको कुरा हो । ‘लेट देम डु’ । त्यसले केही पनि फरक पार्दैन । तर देशको वस्तुगत यथार्थ जे छ त्यसलाई भन्न कसैले यस्तो मान्छ कि भनेर डराउनुहुँदैन । माक्र्सवाद भनेको कसैलाई लुकाएर गरिने राजनीति होइन । प्रष्ट रूपले जे देख्नुहुन्छ, त्यो जनताका सामु राख्ने हो । र, निर्णय जनताले गर्ने कुरा हो ।

नेताहरूले निर्णय गर्ने कुरा होइन । नेताहरूले बुझिदिने, अनुभूत गर्ने कुरा हो । त्यसैले हामीले गर्ने राजनीति नेतामुखी होइन, आमजनताका निम्ति हो । तपाईंले लिएको अन्तर्वार्ता सम्माननीय प्रधानमन्त्री देउवाले हेरेर केही प्रतिक्रिया दिनुभयो भने मैले आश्चर्य मान्नुपर्दैन । मैले उहाँसँग पनि भन्छु, आवश्यकता वाम गठबन्धनको हो तर तपाईं हामीले मिल्ने परिस्थिति आयो ।

मन एकातिर, शरीर अर्कातिर हुँदा कहिलेकाहीं धेरै कुरा मिल्दैनन् । तपाईंहरू पनि त्यही परिस्थितिमा हुुनुहुन्छ !

समस्या आउन सक्छन् । अहिले हामीले मुलुकलाई अग्रगामी दिशातिर लैजानुपर्ने भएको हुनले वामपन्थीहरूले गैरवामपन्थीसित मिलेर अघि बढेको बेलामा पनि सकेसम्म वाम ओरिएन्टेसन लिएर अघि जाने प्रयत्न गर्नुपर्छ । त्यहाँबाट अगाडि बढ्ने सिलसिलामा वाम समूहलाई विश्वास गर्न सक्ने अवस्था बन्यो भने, बहुमत जनताले वामपन्थीलाई नै भोट हालेका छन्, अलग भए पनि एक ठाउँमा आउने हो भने ठूलो बहुमत वामपन्थीकै हुन्छ, कमसेकम वाममोर्चा बनाएर जाऔं भन्नेमा साथीभाइ पुगे भने त्यतिखेर अर्कै परिस्थिति हुन्छ । तर निर्वाचन अघि त्यस्तो परिस्थिति आउने देखिरहेको छैन । किनभने नेताहरूको बुझाइ र अनुभूति आफ्नो डबलीभन्दा माथि गएको छैन । डबलीकै सेरोफेरोमा उहाँहरूले जे नाटक मञ्चन गर्नुछ, गर्नुहुन्छ ।

आफूले परसम्म पनि नदेखेको कुराको कल्पना चाहिं किन गर्नुभएको ?

हाम्रो पार्टी बलियो हुने भनेको पार्टीको कार्यदिशा, नीति, लक्ष्य आम जनताको बीचमा पुर्‍याएर बलियो हुने हो । साँठगाँठ गरेर बलियो हुँदैन । नेकपा एकीकृत समाजवादी एक्लै देशव्यापी रूपमा उठेको भए अहिलेभन्दा ५/६ गुणा बढी मत आउँथ्यो ।

तर यति धेरै त तपाईंहरूका उठ्ने मान्छे पनि त भएनन् नि !

उठ्ने मान्छे किन भएनन् ? हामीलाई उठ्नै दिइएन । सबै ठाउँमा गठबन्धनका नाममा अल्झाउने काम भयो । १० गते बल्ल गठबन्धन भयो, ११ गते उम्मेदवारी दिने दिन सकियो । हतारहतारमा उम्मेदवारी दिंदा कांग्रेस र माओवादीले मात्रै उम्मेदवारी हाले । अनि अब अर्काेतर्फ हाम्रा साथीहरूलाई गठबन्धन भन्या छ, उम्मेदवारी हाल्दा त समानान्तर तरिकाले गए झैं देखिने भयो । त्यसैले गठबन्धन नै कायम राखौं भन्दा हाम्रा साथीहरू भोटर मात्रै हुनुभयो ।

अर्काे चाहिं, यहाँहरूको भूमिका आफूले जित्ने भन्दा पनि अरूलाई हराउने अधिक भयो होला

हामीले कांग्रेस र माओवादीलाई जिताउने भूमिका खेल्यौं । अरूलाई हराउने भूमिका भन्दैनौं । हामी कांग्रेस र माओवादीका भोटर भयौं, हाम्रो भूमिका उहाँहरूलाई जिताउने र आफूलाई हराउने भयो ।
हामीले किन विद्रोह गर्‍यौं भन्ने कुराको औचित्य लिएर देशव्यापी रूपमा जानुपथ्र्याे । हाम्रो संगठनलाई यसैगरी विस्तार गर्नुपथ्र्याे र संभव भएका सबै ठाउँमा हाम्रा उम्मेदवार उठाउनुपथ्र्याे । यसो गरेको भए हामीले धेरै ठाउँमा जित्थ्यौं, धेरै ठाउँमा आफ्नो आधार तयार पाथ्र्याैं । हाम्रो देशव्यापी मत कति छ भनेर देखाउन सकिन्थ्यो ।

अहिले त कुल मतदाताको ४ प्रतिशत मात्रै मत यहाँहरूलाई छ…

हामीसित भएको सबै मत अरूलाई हाल्यौं त कहाँ हुन्छ हाम्रो धेरै !

यहाँले माओवादी र कांग्रेसलाई भोट हाल्नुभयो, जिताउने भूमिका खेल्नुभयो, आफूलाई हराउने भूमिका पनि खेल्नुभयो, सँगसँगै एमालेलाई पनि हराउने भूमिका खेल्नुभयो । को-अर्डिनेसन केन्द्र बन्ने बेलालाई विन्दु मानेर भन्दा तपाईंहरूले यसपालि त्यहाँदेखि यहाँसम्मको सिंगो आन्दोलनलाई पराजित गर्न भूमिका खेल्नुभयो…

यो चाहिं समस्याको विषय हो । हामीले जुन कार्यदिशा, नीति, सिद्धान्त को-अर्डिनेशन केन्द्र बनाउँदा निर्धारण गरेका थियौं, माले बनाएका थियौं, एम्ााले बनाएका थियौं ! त्यसैको निरन्तरता हो हाम्रो पार्टी । कतिपय ठाउँमा कहिले देबे्र गल्ती होला, कहिले दाहिने गल्ती होलान् । ती गल्तीसँग जुध्दै अघि बढ्न हामीले पार्टी बनाएका छौं । यो पार्टी अहिले सानो सानै छ । यही बेलामा हामीले राष्ट्रव्यापी नम्बर वान पार्टी बन्छौं भन्ने पनि थिएन । त्यसरी बन्दैन पनि । तर जुन संभावनाका बीचमा हामी अगाडि बढिरहेका छौं, यो पार्टी देशको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्छ ।

पार्टीले के निर्णय गर्ने/नगर्ने पनि थाहै नपाई अघि बढ्नुहुन्छ, कसरी निर्णय गर्नुहुँदो रै’छ भन्ने त भर्खरै मन्त्रीहरू फेरबदलकै सवालमा देखियो नि !

हाम्रो पार्टीको त्यो निर्णयलाई कसरी बचकना निर्णय देख्नुभयो ?

प्रधानमन्त्रीले नै यहाँको निर्णय स्वीकार गर्नुभएन त !

तपाईंले यसै निष्कर्ष ननिकाल्नुस् न ! यो निर्णय कसरी भएको छ, मलाई पहिले सोध्नुस् !

कसरी भएको छ, त्यहींबाट सुरु गरौं न त…

यो निर्णय हामीले जतिबेला गठबन्धन सरकार बन्यो, त्यो गठबन्धन सरकार बनेकै बेलामा जुन टिम त्यतिबेला पार्टीले पठाउने निर्णय गर्‍यो त्यतिबेलै यो टिम ६ महिनाका लागि हो, ६ महिना पछि अर्को पठाउँछौं भनेर निर्णय गरेका थियौं । अहिले कार्यान्वयन गर्ने स्थितिमा पुग्दा सचिवालयको बैठक गर्‍यौं, त्यस बैठकमा हाम्रा पार्टीको अध्यक्षलाई मैले नै यसबारेमा प्रधानमन्त्रीसँग कुरा भएको छ कि छैन भनेर सोधें ।

हाम्रो अध्यक्षले प्रधानमन्त्रीसँग मैले सल्लाह गरिसकें भनेपछि हामीले निर्णय गरेको हो । हामीले विल्कुल परिपक्व निर्णय गरेका छौं । एउटा कम्युनिस्ट पार्टीले जसरी निर्णय गर्नुपर्छ, त्यसरी निर्णय गरेका छौं । बरु तपाईं के भन्न सक्नुहुन्छ भने प्रधानमन्त्रीसँग समेत सल्लाह गरिकन गरेको निर्णयलाई कार्यान्वयन गर्न नसक्नु चाहिं बचकना निर्णय हो ।

उहाँले किन कार्यान्वयन गर्न सक्नुभएन भनेर प्रश्न पनि गरेको सुनिएन नि ?

हामी किन, कसो भन्नेतिर गएका छैनौं । हाम्रो भनाइ जे निर्णय गरेका छौं, त्यो अविलम्ब लागु हुनुपर्छ । यसमा यदि, तर, अथवा केही हुँदैन । हाम्रो पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ । यो पार्टी सार्वभौम पार्टी हो । यो पार्टीले गरेको निर्णय अस्वीकार गर्ने अधिकार कसैलाई पनि छैन ।

अस्वीकार भइसक्यो, तपाईंहरू चुपचाप हुनुहुन्छ…

हामी पर्खिरहेका छौं । निर्णय कार्यान्वयन हुन्छ भन्ने हामीलाई आशा छ, यदि निर्णय कार्यान्वयन भएन भने हामीलाई त्यस्तो गठबन्धनमा बस्नुपर्ने आवश्यकता नै समाप्त हुन्छ ।

तपाईंहरूले प्रधानमन्त्रीलाई कहिलेसम्मको समय दिनुभएको छ ?

हामीले भनेका छौं, आजै गर्नुस् । भरेसम्म नै गर्नुस् । हामीले सुरुदेखि यही भनेका छौं । कुनै अवधि तोकेका छैनौं । त्यसको अवधि भनेको हामीले निर्णय दिइसकेपछि २४ घन्टाभित्र लागु हुनुपर्छ ।

प्रधानमन्त्रीको जवाफ के छ ?

हामीले जुन निर्णय गरेका छौं, त्यो कार्यान्वयन गर्नुहोस् । यताउति हुँदैन । हामीबाट कुनै पुनर्विचारको आशा गर्नुभएको छ भने त्यो हुँदैन । कार्यान्वयन गर्ने काम तपाईंको हो गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कार्यान्वयन गर्छु भन्नुभएको छ ।

उहाँले निश्चित समय दिनुभएको होला नि ?

समय दिइएको छैन । हाम्रो निर्णय कार्यान्वयन हुनुपर्‍यो । बजेटमा केही असर पर्दैन, मन्त्रीको सट्टा मन्त्री नै हुन्छ । सधैं त्यही भइरहेको छ । आज कुन क्राइसिस छ र ?

आफ्नो मन्त्रिपरिषद् के गर्ने भन्ने सर्वाधिकार प्रधानमन्त्रीलाई मात्रै हुन्छ पनि भनिन्छ नि त हैन ?

यो गठबन्धनको सरकार हो । एउटा पार्टीकै सरकार हुँदा पनि त्यो सरकारलाई पार्टीले चलाउनुपर्छ ।

अहिले बजारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष त शेरबहादुर देउवा पो हुनुहुँदो रै’छ भन्ने चर्चा पनि चल्यो नि…

यदि यो पार्टीले गरेको निर्णय कार्यान्वयन भएन र पार्टीलाई लतार्न खोजियो र बालुवाटारले पार्टीहरू चलाउन खोज्यो भने तपाईंले भनेको प्रश्न जबर्जस्त रूपले उठछ्, देशव्यापी रूपमा उठ्छ । हाम्रो देशको जुन प्रजातान्त्रिक मान्यता हो लथालिंग हुन्छ । त्यो दिशातर्फ गठबन्धनका प्रधानमन्त्री जानुहुन्छ भन्ने लाग्दैन । उहाँ समझदार नै मान्छे हो ।

६/६ महिनामा मन्त्री बनाउने भन्ने निर्णय नै किन गर्नुपरेको ?

त्यो हाम्रो पार्टीको आवश्यकता हो । सबै पार्टीले आफ्नो पार्टीको आन्तरिक आवश्यकता अनुरूप काम गर्छन् । तपाईंको कुरालाई आधार मान्ने हो भने त पठाएकै मन्त्रीलाई किन पठाएको, अर्काे टिम पठाएको भए पनि हुन्थ्यो भन्ने पनि त होला नि !

तपाईंहरूले मन्त्रीहरू फिर्ता बोलाउँदा, अरूतिर पनि त्यही खालको दबाव सृजना भइसक्यो भन्ने नेताहरूको अभिव्यक्ति आइसक्या छ । यहाँको आफ्नै कुरा छ । यसैले गठबन्धन भत्काउँछ कि के हो ?

गठबन्धनका पार्टी तपाईंले भनेझैं कमजोर छन् भने त हामी लोकतन्त्रलाई अगाडि बढाउँछौं भन्ने दुस्साहस नगरे पनि हुन्छ । होइन पार्टीको रूपमा एउटा कार्यदिशा, नीति, सिद्धान्तले यी पार्टी चलेका हुन् भने त पार्टीको एउटा मापदण्ड हुन्छ नि ! पार्टीको निर्णय पालना गर्ने कुरा हुन्छ नि ! त्यही आधारमा पार्टी नै विभाजित हुने र गठबन्धन नै टुट्ने हो भने त हामीले पनि कस्ता पार्टीसित गठबन्धन गरिएछ भनेर सोच्नुपर्ने भयो । तर मलाई त्यस्तो लाग्दैन । ती पार्टी त्यति कमजोर पक्कै नहोलान् । हामीलाई अलिकति धम्क्याउन यस्तो कुरा भन्न सक्छन् । तर म त्यस्तो देख्दिनँ । तर कहीं समस्या आउँछ भने पनि सम्बन्धित पार्टीले हल गर्नुपर्‍यो ।

यता गठबन्धन चित्त बुझ्या छैन, कोहीसँग फेरि गठबन्धन गरौं भने चित्त बुझ्या छैन, सारथि विना एक्लै हिंड्ने शक्ति पनि बन्या छैन, समस्या नै समस्या भयो है ?

हामी गठबन्धनमा कायम नै छौं । साथसाथै हामी आफ्नै ढंगले अगाडि बढ्ने प्रक्रियामा पनि छौं । हामी हाम्रो पार्टीको नीति, कार्यदिशा, लक्ष्यमा कसैसित सम्झौता गरेका छैनौं । पार्टी विस्तारका लागि अघि बढिरहेका छौं । गठबन्धन कुन बेला गर्ने कुन बेला नगर्ने भनेर विशेष परिस्थितिले तय गर्ने कुरा हो, त्यो विशेष परिस्थिति फेरिएको छैन ।

त्यसैले जारी रहन्छ । तर के बुझ्नुस् भने यस्ता खाले राजनीतिक गठबन्धन स्थायी हुँदैनन् । दिगो पनि हुँदैनन् । नेपालको अहिलेको संविधानअन्तर्गत कुनै पनि पार्टीले गफ त गर्लान् । तर एक्लै बहुमत ल्याउन सक्दैनन् । एकदमै विशिष्ट परिस्थितिमा कसैले ल्याउन सक्दैनन् । आउने निर्वाचनमा पनि म त्यही परिदृश्य देखिरहेको छु । त्यसैले गठबन्धन त अब देशको नियति नै हो ।

गठबन्धनको नियतिले शासकीय अस्थिरता निम्त्याउँदो रै’छ, शासकीय अस्थिरता हुँदा विकासतिर ध्यान नजाँदो रै’छ, त्यसो हुँदा मुलुकको गति त जहाँ त्यहीं हुँदो रै’छ नि त !

यस्तो छ । एउटै पार्टी ठ्याक्कै बहुमत ल्याएर सत्तामा नआए पनि कतिपय पार्टीहरू बीचमा मिल्दा विचारहरू हुन्छन् । त्यस्ता पार्टीहरू मिलेर आमूल परिवर्तनका कार्यक्रम बनाएर अगाडि बढ्न सक्छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?