+
+

एमाले निकट विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:४५

२६ जेठ, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् ।

पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए ।

खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर कुटेको एक विद्यार्थीले बताए । अनेरास्ववियुका विद्यार्थीमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाव दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो ।

अनेरास्ववियुका पूर्व इकाइ प्रमुख कमलराज जोशीले बीएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार गरेका थिए । त्यही विषयमा क्याम्पस प्रशासनले कीर्ते मुद्दामा अनेरास्ववियुका जोशीसँगै रुद्रहरि पोखरेलविरुद्ध किटानी जाहेरी दिएको छ ।

उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । सोही मुद्दा फिर्ता गराउन उपप्राध्यापक पाण्डेलाई दबाव दिएको तर, उनले कुनै भूमिका नखेलेपछि कुटपिट गरेको एक प्राध्यापकले बताए ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले शिक्षकलाई नकुटेको बरु जोगाउन खोजेको प्रतिक्रिया दिइन् । ‘अरुले हाम्रो अखिलका साथीहरुले कुटेको भन्छन् तर, हाम्रा साथीहरु भने हामीसँग सम्बन्धित सर हो । उहाँलाई सुरक्षा गर्न खोज्दा हामीलाई अगाडि देखाएर साथीहरुले कुटे भन्छन् ।’ शिक्षक कुटेको विषय छानबिन हुनुपर्ने र संलग्नलाई कारबाही गर्न सहजीकरण गर्ने अध्यक्ष बरालले बताइन् ।

विद्यार्थीको कुटपिटमा परेका उपप्राध्यापक अहिले क्याम्पस आउन नसकेको क्याम्पस प्रमुख बरालले बताए । उनले भने ‘अहिले उहाँ शारीरिक, मानसिक पीडामा हुनुहुन्छ । डाक्टरको रिपोर्ट अनुसार बायाँपट्टिको कोखामा गहिरो चोट लागेको छ ।’

उपप्राध्यापकमाथि भएको आक्रमणको अन्य विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

वैशाख ४ गतेदेखि तालाबन्दी

अनेरास्ववियुले ४ वैशाखदेखि क्याम्पस प्रशासनमा ताला लगाएको छ । भवन निर्माण, कक्षा कोठाको अभाव, छात्रवासको समस्या, शौचालय मर्मत सम्भार लगायतको माग राखेर अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

गत भदौमा नियुक्त भएका क्याम्पस प्रमुख बराल माओवादी निकट हुन् । उनलाई असहयोग गर्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । उनी भन्छन् ‘यो भागबन्डाको लफडा हो । क्याम्पस प्रमुखले राजीनामा दिए तत्काल खोल्छन् । विद्यार्थी राजनीति साह्रै अमर्यादित हुँदै गयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?