+
+

माओवादी कहिलेसम्म कांग्रेसको घोडा बनिरहन्छ ?

विष्णु रिजाल विष्णु रिजाल
२०७९ जेठ २६ गते १७:४०

स्थानीय चुनाव सकिएको छ । मानिसहरूलाई आ–आफ्नो रुचि अनुसार विश्लेषण गर्नका लागि समय र तथ्यांक दुवैको कमी छैन । ६ महिनाभित्र हुने प्रदेश र संघको निर्वाचनमा यही गठबन्धन अगाडि जान्छ वा वाम समीकरण बन्छ भन्ने बहसमा धेरै मानिसको रुचि छ ।

खासगरी, ‘एमालेले हारेको’ ‘न्यारेटिभ’ बनाउन सक्रिय भएकाहरू चाहिं एमालेले माओवादीसँग गठबन्धन गर्छ कि गर्दैन भन्ने कोणबाट उसको भविष्य निर्धारण हुने भाष्य निर्धारण गर्न लालायित छन् ।

पहिलो कुरा त एमाले वाम एकताको विरोधी पार्टी होइन । स्वयम् एमालेको आजको विशाल संरचना नै छिरलिएर रहेका वामपन्थी पार्टीहरूको एकता र सम्मीलनबाट निर्माण भएको हो । नेपाली कांग्रेस जस्तो आरम्भमा जे–जसरी स्थापना भएको थियो, त्यही रूपमा निरन्तर विकास भएको पार्टी एमाले होइन ।

स–साना समूहलाई एकीकृत गर्दै त्यसका आधारमा पुराना, असान्दर्भिक र संकीर्ण कम्युनिस्ट पार्टीहरूलाई विस्थापित गर्दै नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाह र मुलुकको पहिलो पार्टी बन्न सफल भएको तथ्यमा सन्देह छैन । यस अर्थमा नेकपा (एमाले) सिद्धान्ततः वाम तालमेल, वाम गठबन्धन वा वाम एकताको विरोधी कहिल्यै थिएन, होइन र हुन सक्दैन । तर प्रश्न यतिमा सकिंदैन ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँगको सम्बन्धलाई चाहिं वाम तालमेल वा वाम एकताको सन्दर्भ भन्दा अलग राखेर हेर्नुपर्छ । किनभने, तिनीहरू यतिबेला वामपन्थी शक्तिलाई हराएर आफैंले दक्षिणपन्थी, पूँजीवादी, यथास्थितिवादी र बुर्जुवा भनेर दस्तावेजमा अभिलिखित गरेको नेपाली कांग्रेसलाई नेता मानेर हिंड्दा रमाइरहेका छन् । निर्वाचनमा उनीहरूका बीचमा गठबन्धन भयो र त्यसको अधिकांश स्थानमा लाभ नेपाली कांग्रेसले हासिल गर्‍यो । विडम्बना ! खुसियाली चाहिं वामपन्थी भनिने पार्टीले मनाइरहेका छन् ।

कांग्रेससँगको गठबन्धनबाट माओवादीलाई खासै फाइदा भएको छैन, जति फाइदा हिजो एमालेसँग गठबन्धन गर्दा भएको थियो । २०७४ को स्थानीय निर्वाचनमा १०५ पालिकामा जित हासिल गरेको माओवादीले यसपटक जम्मा १६ वटा बढी स्थानीय तह जित्दा लंका जितकै अनुभूतिमा छ ।

हुन त यसबाट के बुझिन्छ भने माओवादी धेरै कमजोर भइसकेको रहेछ । यदि गठबन्धन नगरेको भए माओवादीले यीमध्ये ६६ वटा पालिका जित्ने नै रहेनछ । तर, तथ्यांकहरूले के देखाउँछन् भने गठबन्धनबाट माओवादीलाई भन्दा दोब्बर फाइदा कांग्रेसलाई भएको छ । किनभने, कांग्रेसले जितेका ३२९ स्थानीय तहमध्ये ११३ वटा चाहिं गठबन्धनको सहयोगमा जितेको छ ।

यसबाट के देखिन्छ भने कांग्रेसले माओवादीलाई घोडा बनाएको छ र आफूले त्यसमाथि चढेर आरामदायी यात्रा गरिरहेको छ । निर्वाचन परिणाम माओवादीका नेताहरूले पनि विश्लेषण गरिरहेका होलान्, आफ्नो स्थिति र कांग्रेसले उठाइरहेको फाइदाको आकलन गरिरहेका होलान् ।

कांग्रेसले माओवादीलाई घोडा बनाएको छ, आफू त्यसमाथि चढेर आरामदायी यात्रा गरिरहेको छ । माओवादी जबसम्म कांग्रेसको घोडा बनिरहन्छ त्यसबेलासम्म वाम गठबन्धन सन्दर्भहीन, औचित्यहीन र निरर्थक बहस मात्रै हुन्छ ।

माओवादी बरु एक्लै लडेको ठाउँमा सम्मानजनक अवस्थामा छ । यी सबै कुरालाई नजरअन्दाज गरेर माओवादी कहिलेसम्म कांग्रेसको घोडा बनिरहन्छ ? त्यसबेलासम्म वाम गठबन्धन सन्दर्भहीन, औचित्यहीन र निरर्थक बहस मात्रै हुन्छ ।

माओवादीको लोकप्रियता निरन्तर घटिरहेको छ । अघिल्लो पटकको स्थानीय निर्वाचनसँग मात्रै तुलना गर्दा पनि यसबीचमा उसको ४ लाख मत घटेको छ । पहिलो १७ लाख मत पाएको माओवादी यसपटक १३ लाखमा झरेको छ ।

यसबीचमा माओवादी आन्दोलनमा लामो समय नेतृत्व गर्नुभएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह जस्ता नेताहरूको बहिर्गमनले माओवादीलाई ठूलै घाटा लागेको देखिन्छ । स्थानीय निर्वाचनमै यसको झलक देखिसकिएको छ भने आउँदो संसदीय निर्वाचनमा त झन् ठूलो असर पर्ने निश्चित छ । यसबाट पनि माओवादीले यसअघि जितेको स्थानमा आफ्नो पकड कायम राख्न सक्दैन भन्ने स्पष्ट हुन्छ ।

माओवादीले जे–जति पालिकामा जितेको छ, तीमध्ये निकै कममा मात्रै जनाधारका कारण जितेको छ, बाँकीमा जोरजामबाट मात्रै परिणाम पक्षमा आएको छ । उदाहरणका लागि गुल्मीमा माओवादीले चारवटा पालिका प्रमुख जितेको छ, जबकि जिल्लाभरिमा वडा पनि चारवटा मात्रै जितेको छ ।

सर्लाहीको हरिवन नगरपालिकामा मेयर जितेको छ तर एकजना पनि वडाध्यक्ष जितेको छैन । आधारभूत तहमा संगठन नभएपछि वडामा जित्न सकिंदैन र जोडजाडबाट प्रमुख जितिंदैमा त्यसलाई पार्टीको जित मान्न सकिंदैन ।

शान्ति प्रक्रियामा आएयताका निर्वाचन परिणाम र जनमतहरूले माओवादी निरन्तर क्षयीकरणतर्फ लागिरहेको देखिन्छ । एकीकृत हुने बेलासम्म माओवादीका नेता–कार्यकर्ताको मनोबल बेग्लै पाइन्छ ।

पुष्पकमल दाहालले चार वर्षसम्म ‘मुलुकको सबभन्दा ठूलो पार्टी हुनुको नाताले’ भन्दै गरेका भाषणहरू अब इतिहास भइसकेका छन् । र, तथ्यहरूले के देखाउँछन् भने यही क्रम अघि बढ्दा माओवादीको पुनर्जीवन विल्कुल सम्भव छैन र यो पार्टी क्रमशः आफ्ना गुरु मोहनविक्रम सिंहकै पथमा यात्रारत छ ।

माओवादी आन्दोलनका केही भारीहरू बाँकी छन्, माओवादीका नेताहरू इतिहासका कतिपय प्रश्नबाट सजिलै उम्किन नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा उनीहरू बलियो कम्युनिस्ट पार्टीको निर्माणबाट मात्रै आफ्नो एजेन्डा स्थापित र आफ्नो सुरक्षा गर्न सक्छन् ।

यस यथार्थलाई भुलेर नेताविशेषको कुण्ठा, अहम् र तुष्टीकरणका लागि बुर्जुवा पार्टीको पुच्छर समातेर समाजवादको वैतरणी पार गर्न सकिन्छ भन्ने भ्रममा माओवादी नेतृत्व छ ।

भारतमा सीपीआई लामो समय कंग्रेस (आई) को उपग्रह भएर चलेजस्तै नेपालमा नेपाली कांग्रेसको उपग्रह भएर एमालेलाई ठेगान लगाउन सकिन्छ भन्ने प्रतिस्पर्धा माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच चलिरहेको छ ।

कसले बढी कांग्रेसलाई रिझाउने र कसले बढी भाग प्राप्त गर्ने भनेर दौडधुप चलिरहेको छ । याद गर्दा हुन्छ, कंग्रेस (आई)का पछि लाग्दा भारतमा जसरी सीपीआई सकियो, नेपालमा यिनीहरूको हालत पनि त्यस्तै हुन्छ ।

निःसन्देह नेपालमा वाम जनमत बढी छ । यसको मतलब मानिसहरू वाम एजेन्डा अघि बढेको हेर्न र अनुभूत गर्न चाहन्छन् । स्वाभाविक छ, त्यसका लागि वामपन्थी सरकार चाहिन्छ । समाजवाद र साम्यवादको कुरा गरेर नथाक्ने र अझ एमालेलाई संशोधनवादी समेत भन्न पछि नपर्ने माओवादीले यी एजेन्डा बुर्जुवा पार्टीको नेतृत्वमा कार्यान्वयन हुन्छन् भनेर आफ्ना नेता–कार्यकर्तालाई आश्वस्त पार्न सक्छ ? कदापि सक्दैन ।

माओवादीलाई कांग्रेसले एमालेका विरुद्धमा प्रयोग मात्र गरिरहेको छ । जुन दिन यो प्रयोजन सकिन्छ, त्यस दिन सबभन्दा पहिलो मारमा एमाले होइन, माओवादी नै पर्नेछ । किनभने, हिजो माओवादी नेताका टाउकाको मूल्य तोक्ने, रेडकर्नर नोटिस जारी गर्ने र आतंककारी घोषणा गर्ने काम अरू कसैले होइन, यही नेपाली कांग्रेस र यिनै शेरबहादुर देउवाले गरेका हुन् भन्ने कुरा सत्ताका लागि माओवादीका नेताहरूले भुले पनि इतिहासको स्मरण त्यति कमजोर छैन ।

कांग्रेसको दाउ स्पष्ट छः निर्वाचनसम्म माओवादीलाई गठबन्धन गरेर उपयोग गर्ने, एमालेसँग गठबन्धन गर्न नदिने, निर्वाचनमा आफू कम्तीमा अहिले एमाले जत्तिको स्थानमा विजयी हुने, चुनावपछि मधेशी दलसँग मिलेर सरकार बनाउने र त्यसपछि माओवादीलाई सधैंका लागि दूधको झिंगा झैं टिपेर मिल्काउने ।

गठबन्धनका बलमा एमालेलाई रोक्न सकियो भने आफू र मधेशी दल मिलेर सरकार बनाउन सक्ने गरी परिणाम निकाल्न सकिन्छ र त्यसपछि एमाले र माओवादी मिल्दा पनि सरकार बनाउन सक्दैनन् भन्ने हिसाबकिताबमा कांग्रेस छ ।

अहिले कांग्रेसले माओवादीलाई गरेको माया गैंडाले चाटे जस्तो सावित हुन ६ महिनाभन्दा बढी कुर्नुपर्दैन । जसरी गैंडाले चाट्यो भने मासु नै उप्केर जान्छ, त्यस्तै कांग्रेसले माओवादीलाई चाट्दाको परिणाम चुनावमा देखिनेछ ।

विभाजनका बाबजुद एमालेको जनाधार बढेको छ, भलै सिट परिणाम कम आएको छ । जनाधार हुँदा सिट परिणाममा फरक पर्नु अस्थायी कुरा मात्र हुन्छ भन्ने कुरा त २०६४ सालमा हारेको एमालेले २०७० मा आफूलाई माथि उठाएबाटै बुझ्न सकिन्छ ।

तर, जनाधार नै कमजोर भएको र निरन्तर घटिरहेको माओवादीले चाहिं एमालेका लागि होइन, आफ्ना लागि उपयुक्त स्थान कुन हो भन्ने निक्र्योल गर्न जति ढिला गर्छ, त्यति नै उसको ओरालो यात्रा द्रूत हुन्छ ।

लेखकको बारेमा
विष्णु रिजाल

लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?