+
+

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणमाथि सांसदको प्रश्नैप्रश्न

प्रधानमन्त्री र प्रधान सेनापतिको भ्रमणले सरकार चर्चामा रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्न लागेको र त्यसले मुलुकको भू–राजनीतिमा गम्भीर असर पर्ने भन्दै सांसदहरुले प्रश्न उठाएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ३० गते १६:५९

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा आशंका व्यक्त गर्दै सांसदहरूले जानकारीको माग गरेका छन् ।

हालै नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका प्यासिफिक कमान्डका वरिष्ठ जर्नेल चार्ल्स  ए फ्लिन स्वदेश फर्किसकेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अबको केही दिनपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले नेपाल भ्रमण गर्ने तयारी चलिरहेको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले १३ देखि १७ असारसम्म अमेरिका भ्रमण गर्ने र त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने तयारी छ । तर, यस विषयमा संसदलाई जानकारी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूले प्रश्न उठाए ।

पछिल्लो समय अमेरिकाको राजनीतिक र सैन्य क्षेत्रबाट बाक्लो आवतजावत चलिरहेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित भएसँगै नेपालमा बढिरहेको अमेरिकी आवागमनले इन्डोप्यासिफिक रणनीति (आईपीएस) मा हस्ताक्षर गराउन दबाव सिर्जना गरेको आशंका सांसदहरूको छ ।

प्रधानमन्त्री र प्रधान सेनापतिको भ्रमणले सरकार चर्चामा रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्न लागेको र त्यसले मुलुकको भू–राजनीतिमा गम्भीर असर पर्ने चिन्ता उनीहरूको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार ‘नेपालको परराष्ट्र नीति कार्यान्वयन’का सम्बन्धमा छलफल आयोजना गरेको थियो । छलफलमा सहभागी अधिकांश सांसदले प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसको तयारीमाथि नै आशंका व्यक्त गरे ।

‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । तर, अहिले नसक्ने किन ? नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत हो’ एमाले नेता भीम रावलले भने ।

सत्तारुढ गठबन्धनकै एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताए । ‘के–के तयारी भइरहेको छ सबै जानकारी हुनुपर्छ’, उनी भन्छन्, ‘हामीबाट असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन ? यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं ? यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ ।’

उनले कुनै पनि देशको भ्रमणमा जाँदा र अन्तर्राष्ट्रिय सहयोग, अनुदान र ऋण लिँदा समेत ख्याल गर्नुपर्ने भन्दै अब दाताका सर्तहरू मान्ने विषयलाई ‘रिभ्यू’ गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको गम्भीर आशंका व्यक्त गरे ।

‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । तर, अहिले नसक्ने किन ?’ उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत हो ।’ आर्थिक सहयोगका नाममा कसैले कुनै पनि देशलाई सामरिक संकटतर्फ धकेल्न नहुने उनको भनाइ छ ।

एमाले उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सत्ता गठबन्धनका दलहरूबाटै प्रश्न उठेकाले थप आशंका उब्जिएको बताए । ‘सत्ता गठबन्धनका प्रमुख सचेतकले नै अमेरिका भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । यस्तो किन भएको हो ?’ ज्ञवालीले प्रश्न गरे ।

अमेरिकी र नेपाली सेनाबीच स्टेट पाटनरसिप प्रोग्राममा सम्झौता हुन लागेको सुनिएको तर, त्यसबारे संसद, प्रतिपक्षी र आम जनता बेखबर हुनु दुःखद भएको उनको भनाइ छ । स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनैतिक कार्यक्रमहरूमा नेपाललाई जोड्ने प्रयास भएको र त्यसमा वर्तमान सरकार नरम भएको हो भने यो राष्ट्रप्रतिको धोका हुने ज्ञवालीको भनाइ छ ।

उनले सरकारको छिमेक नीति पनि ठीक नभएको टिप्पणी गरे । ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने ! सित्तैमा पाए अलकत्रा खाने ?,’ उनले भने, ‘चीनसँग वर्तमान सरकारको नीति ठीक भएन ।’

उनले ऋण लिने वा अनुदान भन्ने निर्णय मेरिट बेसमा हुनुपर्ने धारणा व्यक्त गरे । साथै, अमेरिकी सरकारको तिब्बत मामिला हेर्ने विदेशमन्त्रीलाई किन नेपाल बोलाएको भन्ने जिज्ञासा समेत उनले राखे ।

‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर, छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले जे गर्दैछौं त्यसले हामीलाई अप्ठेरो पार्छ,’ उनले भने, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’

भ्रमणको जिम्मेवारी सेनालाई किन ?

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारीको जिम्मा र दुई देशबीच हुने सम्झौताको तयारीको जिम्मा समेत नेपाली सेनालाई दिइएको भन्दै सांसदहरुले यसले पनि आशंका उब्जाएको बताए ।

‘प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे ! सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको रे ! हामी नागरिक शासनमा छौं कि कुनै सैनिक शासनमा ?’, एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले प्रश्न गरे ।

सांसद रावल थप्छन्, ‘सेनाकै तयारी अनुसार अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौतामा हस्ताक्षर गर्ने कुरा छ भन्ने सुनिन्छ । नेपालको कूटनीति सेनाको हातमा गइसक्यो ?’

प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी गर्ने जिम्मेवारी नेपाली सेनालाई नै दिनु र सेनाले नै दुई देशका बीचमा हुने सहमतिको तयारी गर्नुले आशंका जन्माएको सांसद चाँद ताराकुमारी बताउँछिन् ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद चाँद तारा कुमारीले अमेरिकी अधिकारीहरूले नेपाली सेना भरपर्दो सेना भनी गरेको टिप्पणीबारे प्रश्न उठाइन् । ‘नेपाली सेनाबारे गर्व गर्छु, भरपर्दो सेना भनेको के हो ?’ उनको प्रश्न छ ।

आइतबार काभ्रेको पाँचखाल र शिवपुरीस्थित नेपाली सेनाका रथीहरुको उपस्थितिमा भएको कार्यक्रममा अमेरिकी सेनाका प्यासिफिक कमान्डका वरिष्ठ जर्नेल फ्लिनले ‘नेपाली सेना भरपर्दो जमिन शक्ति (स्थल सेना) भएको’ बताएका थिए । फ्लिनको यही अभिव्यक्तिप्रति सांसदहरूले प्रश्न उठाएका हुन् ।

नेपाली सेनाबारे अमेरिकी अधिकारीको यस्तो अभिव्यक्ति आउनु, प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी गर्ने जिम्मेवारी नेपाली सेनालाई नै दिनु र सेनाले नै दुई देशका बीचमा हुने सहमतिको तयारी गर्नुले आशंका जन्माएको सांसद चाँद ताराकुमारी बताउँछिन् ।

‘प्रधानमन्त्रीको अमेरिकी भ्रमण के का लागि ?’ सांसद चाँद तारा थप्छिन्, ‘म राजतन्त्रको पक्षधर होइन, तर राजतन्त्रको बेलामा बरू अन्तर्राष्ट्रिय स्तरमा राम्रो समन्वय थियो । नेपाल तटस्थ रहँदै आयो । अहिले तटस्थता खस्किँदै गएको किन ?’

जनता समाजवादी पार्टी (जसपा) की सांसद लीलादेवी सिटौला अमेरिकी चाहना अनुसार नेपाल सरकारले नेपाली सेनामार्फत दुई देशबीचको सम्बन्ध अगाडि बढाउन खोजेको हो कि भन्ने आशंका गर्छिन् । भन्छिन्, ‘सरकारको गतिविधि शंकास्पद छ । नेपाल कतै ढल्किनु हुदैन । कसैको चाहना अनुसार भ्रमणको तयारी हुनु हुदैन ।’

वर्तमान सरकारको गतिविधिलाई लिएर चीनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताप्रति आशंका गरेको उल्लेख गर्दै उनले, ‘आर्थिक सहयोगका नाममा नेपाल कतै ढल्किनु हुँदैन । हामीले छिमेकी चिढ्याउने काम गर्न हुदैन ।’

वर्तमान सरकार अमेरिकी नीतितर्फ ढल्किएको आरोप लगाउदै एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेको जिकिर गरेका छन् । ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेका छन्’ उनले भने । तर, उनले यो तथ्याङ्क कहाँ लिएको हो त्यसको स्रोत खुलाएनन् ।

के आधारमा यस्तो भन्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा उनी भन्छन्, ‘विश्वस्त र विशेष स्रोतले मलाई दिएको सूचना समिति सदस्यहरूलाई जानकारी गराएको हुँ । होइन भने सरकारले गलत सावित गरोस् ।’

एमसीसीमा ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको उनले टिप्पणी गरे । एमसीसी सम्झौतापछि नेपालमा अमेरिकी चलेखल बढेको दाबी गर्दै बानियाँले भने, ‘एमसीसी नेपालीहरूका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं ।’

एमाले सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भएको दाबी गरे ।

प्रधानमन्त्री देउवाले विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको उल्लेख गर्दै उनले फेरि उनै देउवाले सेनाको हातमा सत्ता बुझाउन लागेको हो कि भन्ने आशंका उत्पन्न भएको बताए ।

आरजु भारत गएकामा आशंका

सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा भारत भ्रमणमा गएको विषयमा पनि प्रश्न उठाए ।

एमाले नेता भीम रावल आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख फ्लिन नेपाल आउनु संयोग मात्र हो वा अरू केही हो ? भनी आशंका गरे ।

रावललेजस्तै एमाले सांसद नारदमुनि रानाले पनि प्रश्न गरे, ‘नेपालको फर्स्ट लेडी भारत जानु र अमेरिकी सेनाको एशिया प्यासिफिक प्रमुख नेपाल आउनु संयोग मात्रै हो ?’

सांसद राना थप आशंकासहित अर्को प्रश्न गरे, ‘के चैनसँग नेपालीले सुत्न पाउने समय आउँदै छ ?’

नेपालको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको पाइएको उनको टिप्पणी छ । सांसद रानाले भने, ‘सरकारको कुटनीतिक गतिविधि नियाल्दा जनप्रतिनिधिको रूपमा म आफूलाई लज्जाबोध भइरहेको छ ।’

रूस– युक्रेन युद्धबारे नेपाल बोल्नु र कुनै पक्षमा जबर्जस्त होमिनु, समर्थन गर्नु वा विरोध गर्नु नेपालले अवलम्बन गर्दै आएको असंलग्न पराराष्ट्र नीतिको विपक्षमा हुने उनको तर्क छ ।

प्रधानमन्त्रीलाई नै बोलावट

अमेरिकी भ्रमणबारे अनेक कोणबाट प्रश्न उठेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई छलफलमा बोलाएको छ । समितिको निर्णय अनुसार असार ५ गते प्रधानमन्त्री देउवासँग समिति सदस्यहरूले आसन्न अमेरिका भ्रमण र समग्र रूपमा नेपालको परराष्ट्र नीति र विदेशी मुलुकहरूबारे नेपालले लिएको नीतिका विषयमा छलफल गर्नेछन् ।

त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे केन्द्रीत भएर परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्नेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पबित्रा निरौला खरेललका अनुसार सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने तय भएको थियो । तर, परराष्ट्रमन्त्री खड्काले बजेटमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिने तयारीमा आफू व्यस्त रहेको भन्दै समितिमा आउन इन्कार गरे ।

‘अब प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुबैलाई समितिबाट औपचारिक पत्र नै लेखेर छलफलमा बोलाउँछौं’ सभापति खरेलले भनेकी छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?