+
+

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:०८

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् ।

नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभावसम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको र सम्भावनाको कुरा मात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

मन्त्री यादवले सरकारमा जो आएपनि नेपालमा लामो समयदेखि मल अभावको समस्या झेल्दै आइरहेको भन्दै वर्तमान सरकारले दीर्घकालीन समाधान गर्नेतर्फ ध्यान दिएको पनि बताएका छन् ।

जीटूजी (सरकार सरकारबीचको सहमति) मार्फत भारतबाट प्रत्येक बर्ष ५ लाख मेट्रिकटन मल ल्याउने गरी नेपालले पहल गरेको पनि उनले जानकारी दिए ।

उनी थप्छन्, ‘अब स्थायी समाधान निकाल्नुपर्छ । जीटूजी पनि अस्थायी समाधान मात्रै हो ।’ मल अभाव समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगम जस्तै निकाय स्थापना गरेर जानुपर्ने सोचमा सरकार रहेको पनि मन्त्री यादवले बताए ।

अर्कोतर्फ प्रांगारिक मल प्रदेश स्तरबाट उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले यो योजना अनुसार काम भएपछि रासायनिक मलको प्रयोगमा कमी आउने र माटोको उर्वरा शक्ति पनि नबिग्रने मन्त्री यादवले बताए ।

पछिल्लो समय नेपालमा रासायनिक मलको अभाव हुनु अन्तर्राष्ट्रिय बजारमै अभाव रहनु पनि एक रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएपछि भारतमा पनि मल अभाव भएको र त्यसको प्रभाव नेपालमा पनि परेको कृषि तथा पशुपंक्षी विकासमन्त्री यादवको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?