+
+

परिपञ्च उर्फ गठबन्धन

सुजन दाहाल सुजन दाहाल
२०७९ जेठ ३१ गते १२:५४

दलहरूले राष्ट्र निर्माणका लागि नभई आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न र अस्तित्व बचाउनका लागि गठबन्धन गरे । एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने र एमालेको डरले विपरित दर्शन भएका दलहरूबीचमा गठबन्धन भयो । प्रचण्ड र माधव नेपालको भयभीत मानसिकताको उपज नै गठबन्धन खडा भयो ।

गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी फाइदा माओवादीलाई भयो । तर गठबन्धन गर्नुपर्ने सम्पूर्ण श्रेय भने केपी शर्मा ओलीलाई दिनुपर्छ । उनको क्रियाकलाप र डरका कारण नै माओवादी बौरियो र एकीकृत समाजवादीको अस्तित्व कायम भयो । केपी ओलीकै कारण कांग्रेस पनि ठूलो दल बन्यो ।

संसारभर सामान्यतया चुनाव पछाडि कुनै पनि दलले बहुमत ल्याउन सकेन भने सरकार सञ्चालन गर्नुपर्ने बाध्यतामा विपरित दर्शन बोकेका दलहरूका बीचमा पनि गठबन्धन गर्ने प्रचलन छ ।

समान विचार, मूल्य, मान्यता र आदर्श अनुसरण गर्ने दलहरूका बीचमा न्यूनतम कार्यक्रमका आधारमा लक्ष्य निर्धारण गरेर गठबन्धन बन्न सक्छ । तर यो पाँचदलीय गठबन्धन सैद्धान्तिक र वैचारिक आधारमा चोर र साधुका बीचमा भएको गठबन्धन जस्तो भएको छ ।

लोकतान्त्रिक विचार बोकेको कांग्रेस र सर्वहारा वर्गको मुक्ति र पूँजीवादकोे विरोधी कम्युनिस्टहरूका बीचमा भएको गठबन्धन सैद्धान्तिक रूपमा अप्राकृतिक हो । दलहरूको मेरुदण्ड भनेको उसले बोक्ने विचार, सिद्धान्त र दर्शन हो । पार्टीहरू निश्चित वैचारिक र सैद्धान्तिक आधारमा खडा भएका हुन्छन् ।

पार्टीहरूको प्राण भनेको नै उसले अवलम्बन गरेको सैद्धान्तिक वैचारिक आधार हो । तर अहिले गठबन्धनमा रहेका दलहरूले आफूले बोक्ने विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ताको लक्ष्यमा मात्र केन्द्रित रहे ।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनले देश बनाउने, जनताको जीवनस्तर उकास्ने, नागरिकलाई सुख–समृद्धि दिने कुनै लक्ष्य र उद्देश्य राखेको देखिंदैन । उनीहरूको एक मात्र अर्जुन दृष्टि भनेको केपी ओलीलाई कसरी परास्त गर्ने भन्ने मात्र थियो । व्यक्तिगत रिसराग, इगो, इष्र्या र छटपटी नै अहिलेको गठबन्धनको मूल आधार बन्यो ।

दुई तिहाइको सरकार चलाउन नसक्ने केपी ओली र विदेशीको इशारामा सरकार चलाउन नदिने प्रचण्ड र माधव नेपालको हर्कतका कारण सरकारको नेतृत्व कांग्रेसको हातमा पुग्यो । वामपन्थीहरूको बुईं चढेर सरकारमा जानु कांग्रेसको ठूलो भूल हो । तत्काल फाइदा भए जस्तो देखिए पनि दीर्घकालीन रूपमा कांग्रेसलाई घाटा नै हुनेछ ।

गठबन्धनमा आवद्ध दलहरूले नेपाललाई आफ्नो बिर्ता र नेपाली नागरिकलाई दास सम्झिएका छन् । नागरिकहरूको चुनावमा दल छान्न पाउने लोकतान्त्रिक विवेकलाई निमोठेर मारेका छन् । परम्परागत भोटरहरू रहेको नेपाली समाजमा दलहरूले अप्राकृतिक गठबन्धन गर्दा नागरिकको विचार, दर्शन र छनोटको हत्या भएको छ ।

शीर्ष नेतृत्वले दरबारमा बसेर भागबन्डा लगाइएका पदहरूमा जनताले विद्रोह गरिदिए । नेताले जे गर्दा पनि हुन्छ भन्ने मानसिकतालाई चुनौती दिए । गठबन्धनका बीचमा भएको जित–हारले पुष्टि गरिसकेको छ । दूरदराजमा बस्ने गरिब निमुखा भोका नाङ्गा नागरिकले समेत गठबन्धनको विरुद्धमा भोट दिएर नेताहरूलाई सबक सिकाए ।

गठबन्धनका दलहरूले कहिल्यै देश कसरी बनाउने, गरिबको जीवनस्तर कसरी उकास्ने, आदिवासी, जनजाति, अल्पसंख्यक, मधेशीहरूको सामाजिक आर्थिक रुपान्त्तरण कसरी गर्ने भनेर चिन्तन गरेको देखिंदैन । कसरी सम्पत्ति आर्जन गर्ने, कसरी सबै मिलेर राज्य दोहन गर्ने, आफ्ना श्रीमती, भाइभतिजा, नातागोता, कुलकुटुम्ब, आसेपासेलाई सांसद, मन्त्री कसरी बनाउने भन्ने मात्र चिन्तनले गर्दा गठबन्धनको प्रत्यक्ष फाइदा नागरिकले पाउन नसक्ने निश्चित छ ।

राजनैतिक दलहरूको चरित्र, व्यवहार र प्रवृत्ति हेरेर नागरिकहरूलाई चुनावप्रति नै वितृष्णा भइसकेको भन्ने प्रमाण स्वतन्त्र उम्मेदवारकोे जित हो । कति पटक भोट हाल्दा देश बन्छ भन्ने प्रश्नले चुनावको नतिजामा प्रभाव पारेको पाइन्छ ।

नेतालाई खबरदारी गर्ने काम जनताको हो । तर जनता नै लम्पट भएकाले गर्दा यो देश आजसम्म बन्न सकेन । चुनावलाई भोजभतेरको राष्ट्रिय पर्व मानेर विवेक बिक्री गरिंदा प्रजातन्त्रले फक्रन पाएन ।

कांग्रेसजनले हँसिया हथौडामा र माओवादीले रूखमा भोट दिएको दिनको राति कसरी ऊ निदाउन सक्छ । देउवाले हँसिया हथौडामा र प्रचण्डले रूखमा भोट हालेको दिनदेखि देउवा कसरी कांग्रेस र प्रचण्ड कसरी माओवादी भइरहन्छन् ? प्रश्न गम्भीर छ तर नैतिकता हराएपछि उत्तर सहज पनि छ । यहाँ त यही मोडलमा गठबन्धनले भागबन्डा गरे जुन प्रजातन्त्रको समृद्धिको लागि खतरा हो ।

जनताको मोहरा देखाएर, जनताको नाममा राजनीति गर्ने तर सत्तामा पुगेपछि कुरीतितर्फ लाग्ने । सधैं जनतालाई ढाँट्ने, ठग्ने, झुक्याउने दलका नेताहरूको जुन प्रवृत्ति छ त्यो रहेसम्म सत्तरी वर्षदेखिको नेपालीको देश समृद्ध होस् भन्ने चाहना पनि पूरा हुन सक्दैन ।

नेपालीको दुर्भाग्य नै भन्नुपर्छ– देशले एउटा असल नेता पाएन । अहिले भएको नेतृत्व काम लाग्ने छैन । आफ्नो लक्षित स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि काम गर्ने कोही भएन ।

जनताको टाउकोमा गिर खेल्ने र जनतालाई भोट बैंकको रूपमा मात्र उपयोग गरी नागरिकलाई मासु–चिउरामा किनेर चुनाव जित्ने र जितेपछि नागरिकलाई लात हान्ने, दलाल, माफियासँग कुम जोडेर देश स्वाहा पार्ने काम गर्ने मात्र नेता जन्मिए ।

नेतालाई खबरदारी गर्ने काम जनताको हो । तर जनता नै लम्पट भएकाले गर्दा यो देश आजसम्म बन्न सकेन । चुनावलाई भोजभतेरको राष्ट्रिय पर्व मानेर विवेक बिक्री गरिंदा प्रजातन्त्रले फक्रन पाएन । चुनावले जनतामा आशा जगाउनुपर्ने तर निराशा मात्र दिएको छ ।

नागरिक नै राज्य शक्तिको स्रोत भएकाले शीर्ष तहका नेताको बदमासी र हैकमवादी प्रवृत्तिको अन्त्य जनता जागरुक नभएसम्म हुन सक्दैन । नागरिकको अधिकारलाई गठबन्धनको नाममा कुण्ठित गर्ने जुन काम भएको छ अन्ततः यसले नागरिकलाई मात्र नभएर देशलाई समेत हानि गर्छ ।

सानातिना मतभेदको बावजुद पनि आउँदै गरेको प्रदेश र संसदीय चुनावसम्म गठबन्धन जाने देखिन्छ । एमसीसी जस्ता एजेन्डा पास गराउन विदेशी प्रभुहरूले जुटाइदिएको गठबन्धनका कारण स्थानीय चुनावमा झै संसदीय चुनावमा पनि नागरिकहरू बन्धक बन्ने निश्चित छ ।

हाल अमेरिकाको बढ्दो सक्रियता र नेपाली नेताको लम्पसारवादका कारण देशमा शान्ति हुने अवस्था देखिंदैन । नेता भनिएकाहरू विदेशीको डिलरमा परिणत भइसके । मातृभूमि माथिको अत्याचार बढ्दो छ । मन्त्री, प्रधानमन्त्री हुने लोभमा विदेशीको तलुवा चाट्न तयार डिलरहरूका कारण देश संकटतर्फ गएको अवस्था छ ।

अमेरिकाको रक्षा मन्त्रालयको अग्रसरतामा हुन लागेको प्रमको आसन्न अमेरिका भ्रमण पनि यसको एउटा उदाहरण हो । एमसीसी, अमेरिकी अनुदान, अमेरिकी सहायक मन्त्रीको भ्रमण, सेनाहरूको भ्रमण त्यसपछि पिएमको अमेरिका भ्रमण आदि शृंखलाबद्ध घटनाक्रमले सरकारको लाचारीलाई प्रष्ट पार्छ ।

सबै दलहरू मिलेर समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्दै देश बनाउनुपर्ने हो । सबै दलहरूको वनावटी र ओठे लक्ष्य भनेको देशको समृद्धि र विकास नै हो भन्ने छ तर काम भने कोही कसैले पनि गर्दैनन् किनभने सबै दलमा विदेशीका गुलामी र चाकरी गर्ने पात्र छन् । तिनले उनीहरूको हितमा काम गर्नुपर्ने, सूचना बिक्री गरी उनीहरूलाई खुसी बनाउनुपर्ने जस्ता हर्कतका कारण समस्या भएको छ ।

राष्ट्रघातीहरूलाई पहिचान गरी आउँदो चुनाव मार्फत जनताले सबक सिकाउन सके भने कि उनीहरू आफ्नो हर्कत उपर पश्चात्ताप गरी सुध्रेर आउनेछन् कि पत्तासाफ भएर जानेछन् । अब जनता नै जागरुक हुन जरूरी छ । जनता सचेत भएर आफूलाई बिक्री नगरी विवेकको प्रयोग गरेर चुनावमा सही नेतृत्व छनोट गर्न सक्नुपर्दछ ।

स्थानीय चुनावको परिदृश्य र परिणामलाई दलहरूले स्व-मूल्यांकन नगरी यस्तै प्रवृत्ति कायम राखेमा विद्यमान शासकीय प्रणाली उपर पनि नागरिकले विकल्प खोज्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?