+
+

घर पुर्‍याइदिने भन्दै दरबारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार

होटल सञ्चालकसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १८:३१
पक्राउ परेकाहरु ।

३१ जेठ, काठमाडौं । आइतबार बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, ‘ममाथि तीन जनाले बलात्कार गरे ।’

महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरुले तत्काल काठमाडौं प्रहरी परिसर, टेकु र बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेलाई जानकारी गराए ।

युवतीका अनुसार उनीमाथि बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । फोन आए लगत्तै प्रहरी घटना भएको भनिएको बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलामा पुग्दा उनले भनेका युवा थिएनन् । २४ वर्षीया पीडित युवती चाहिँ विक्षिप्त अवस्थामा बसिरहेकी थिइन् ।

प्रहरीले लगत्तै होटलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई बोलाएर सोधपुछ गर्‍यो । ‘युवतीले उनलाई बलात्कार भएको बताए पनि उनले एक जनालाई भाग्न दिएको खुल्यो’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यसपछि उनलाई पनि पक्राउ गर्‍यौं ।’

लगत्तै उनको बयान र होटलमा भएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमार्फत प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । पीडितलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर स्वास्थ्य परीक्षण गरायो ।

रातभर मापसे, बिहान सामूहिक बलात्कार

प्रहरीले घटना भएको १६ घन्टाभित्रमा घटनामा संलग्न रहेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची–२ घर भइ बौद्ध बस्ने २२ वर्षीय रिञ्जेन शेर्पा र सर्लाहीको बागमती नगरपालिका–४ घर भइ बौद्ध बस्ने ३४ वर्षीया उत्तम लामालाई पक्राउ गरेको छ ।

एसपी मैनालीका अनुसार पक्राउ परेका तीन जनासहित अर्का एकजना युवक शनिबार राति रमाइलो गर्न भन्दै बौद्धबाट निस्किएका थिए । अवेरसम्म दरबारमार्ग मधुशाला रेष्ट्रो एण्ड बारमा बसेका उनीहरु मध्ये दुईजना राति किङ्स लाउन्जमा गए । त्यही दुई जना युवतीसँग उनीहरुको भेट भयो ।

‘दुईजना मध्ये एकजना कता गइन्, राति पीडित युवती एक्लै भइन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनी एक्लै भएपछि पक्राउ परेका मध्ये रिञ्जेन शेर्पाले घर पु¥याइदिन्छु भनेका रहेछन् ।’ प्रहरीका अनुसार त्यसपछि युवतीलाई ट्याक्सीमा हालेर उनी निस्किएका थिए ।

तर पीडित युवतीको भनाइ अनुसार शेर्पाले राति घरको ढोका पनि नखुल्ने भएकाले बाहिरै कतै बस्न कर गरेका थिए । ‘केही हुँदैन, उज्यालो भएपछि जाँदा हुन्छ भनेर धेरै नै भनेपछि म उसले भनेको ठाउँमा गएको थिएँ’ पीडित युवतीले भनेकी छन् ।

शेर्पाले उनलाई सिधै लुङ्ता गेस्ट हाउसमा लगेका थिए । तर सुरुमा सञ्चालकले कोठा नभएको भन्दै फर्काइदिएका थिए । ‘तीन जनामध्ये एकजनाको सञ्चालकसँग चिनजान रहेछ, त्यसपछि शेर्पाले कोठा भनिदिन भन्दै साथीलाई फोन गरेर बोलाए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

साथी आएपछि उनीहरु कोठा लिएर बसेका थिए । त्यसको झण्डै ४५ मिनेटपछि अर्का साथी पनि उनीहरुको कोठामा प्रवेश गरे ।

‘मादक पदार्थ समेत सेवन गरेका उनीहरुले पालैपिलो त्यहाँ युवतीलाई बलात्कार गरेछन्’ प्रहरी स्रोतले भन्छ, ‘तीनजनाले बलात्कार गरेपछि उनले पछि मोबाइलबाट प्रहरी कन्ट्रोलमा फोन गरेर बलात्कार भएको बताएकी थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?