+
+

हराउँदैछ घान्द्रुकको मौलिकता

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ३१ गते २१:५१

३१ जेठ, पोखरा । ढुंगाले छपक्कै छोपेको गुरुङ बस्ती । नयाँ पाहुना आइपुगे सबै गाउँले मिलेर आतिथ्य गर्ने र परम्परागत गीत, नृत्यले स्वागत गर्ने प्रचलन !

करिब १५ वर्षअघि स्याङ्जाकी हिराकुमारी मल्लले देखेको घान्द्रुक थियो त्यो । त्यतिबेला गुरुङ बस्ती र गुरुङ संस्कृति देखाउने थलो भनेकै घान्द्रुक थियो । ‘विश्व चर्चित पदमार्गको प्रवेशद्वार पनि भएकाले घान्द्रुक चर्चामा आउनु स्वभाविक थियो,’ मल्ल भन्छिन्, ‘गुरुङ संस्कृति हेर्नै घान्द्रुक आइन्थ्यो ।’

पर्यटकको भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेकी मल्ल अहिले पथप्रदर्शक (गाइड) भएकी छन् । करिब डेढ दशकको यो अवधिमा थुप्रै पटक घान्द्रुक पोखरा ओहोर दोहोर गरिन् । तर, जति समय बित्दै गयो, उतिउति घान्द्रुकबाटै घान्द्रुक छुट्दै गइरहेको हो कि ! भन्ने भान उनलाई परेको छ ।

ढुंगैढुंगाले छाएको घर भएकाले अझै पनि घान्द्रुकलाई ‘ढुंगेनी गाउँ’ नामले चिनिन्छ । तर, केही वर्षयता होटल तथा रेस्टुरेन्टका लागि सिमेन्ट, रड र इँटाको प्रयोगबाट ठूला भवन बन्दा गाउँको मौलिकता हराउँदै गइरहेको छ । ‘पहिले हामी आउँदा आरसीसी भवनको नामो निशान थिएन । अहिले त कति धेरै बनेको,’ सोलुखुम्बुकी निरमा राईले भन्छिन् ।

निरमा पनि पथप्रदर्शक हुन् । उनले पनि आफ्नो पेशाको दौरान लामो समयदेखि घान्द्रुकको परिवर्तनलाई नजिकबाट नियालेकी छन् । ‘पहिले घान्द्रुक यस्तो व्यवसायिक भइसकेको थिएन । अब भने जसरी पनि पैसा कमाउनुपर्छ भन्नेतिर लागेको देखियो,’ निरमा र हिराको एकैथरि धारणा छ, ‘व्यावसायिकता खोज्दा मौलिकता हराउँदै गयो ।’

घान्द्रुक आफैंमा एक सुन्दर बस्तीमात्रै नभएर विश्वचर्चित अन्नपूर्ण सर्किट, घोडेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर पदयात्राको पनि प्रवेशद्वार हो । त्यसैले पनि घान्द्रुकमा स्वदेशी तथा विदेशी पाहुनाको कमी कहिल्यै हुँदैन ।

पर्यटन व्यवसायमा लामो समय बिताएका पथ प्रदर्शकहरुका अनुसार पहिले घान्द्रुकसम्म सडक नपुग्दा पदयात्रीहरु त्यहाँ रात बिताउँथे । पहिले पोखराबाट २ दिनमा पुगिने घान्द्रुक गाउँ र सडक पुगेका कारण अहिले ३ घन्टामै पुग्न सकिन्छ ।

धुलो उडाउँदै पुग्ने मोटरले घान्द्रुकको सुन्दरतामात्रै हरेको छैन, पदमार्ग नै छोट्याएको पथपर्दशक निरमा राई सुनाउँछिन् । ‘यसै पनि ट्रेकिङ व्यवसाय धरापमा छ । झन् त्यसमाथि यसरी ट्रेकिङ रुटहरु मासिँदै जाने हो भने अबको केही वर्षभित्र घान्द्रुक किन आउने भन्ने बेला भइसक्यो,’ उनले भनिन् ।

उनीहरुका अनुसार घान्द्रुक साँस्कृतिक रुपमा पनि कमजोर हुँदै गएको छ । केही वर्ष अघिसम्म मौलिक संस्कृति पस्कने घान्द्रुकले अहिले भने ‘सहरिया’ सिको गर्दैछ ।

स्थानीय थम्मन सेञ्चुरीले घान्द्रकले मौलिकता गुमाउँदै गएको बताए । स्थानीय राजबहादुर गुरुङ पनि गाउँमै सडक आउँदा सुविधा बढेपनि पदयात्राको रौनक हराउँदै गएको स्वीकार्छन् ।

‘ठूला होटलमा चपेटामा छौं’

चर्चित पदमार्गको बीचमा पर्ने भएकाले घान्द्रुकको पर्यटन ‘क्याम्पिङ’बाट सुरु भएको थियो । पदयात्रीको आवजावत बढ्दै गएपछि घान्द्रुकमा होटल, रेस्टुरेन्टहरु खुल्न थाले । अहिले ६० वटा भन्दा बढी होटल, रेस्टुरेन्ट छन् । तीमध्ये कतिपयमा त करोड भन्दा माथिको लगानी छ ।

ठूला होटल खुल्दै गर्दा घान्द्रुकका होमस्टे व्यवसायी भने आफूहरु चपेटामा परेको गुनासो गर्छन् । प्रायः घरले आफ्नै होटल, रेस्टुरेन्ट व्यवसाय सुरु गर्दा सामुदायिक रुपमा होमस्टे पनि सञ्चालन गर्न नसकेको होमस्टे सञ्चालक थम्मन सेञ्चुरीको भनाइ छ ।

‘सबै आफ्ना होटल सम्हालेर बसेका छन् । जबर्जस्ती पनि गर्नु पनि भएन । तर, कोही पाहुना सामूहिक रुपमा यहाँको संस्कृतिसँग रमाउन पनि आउनुहुन्छ’, सेञ्चुरी भन्छन्, ‘तर, सामुदायिक होमस्टे चलाउन नसक्दा एकजुट हुन सकिरहेका छैनौं ।’ उनका अनुसार घान्द्रुकमा अहिले २१ वटा होमस्टे छन् ।

होमस्टे सञ्चालक सुनदेवी गुरुङ ठूला होटलका प्रतिस्पर्धाले आफूहरुले होमस्टे प्याकेजमा पनि मितव्ययी हुन नसकेको गुनासो गरिन् । ‘होटलले दिने सुविधा होमस्टेमा खोज्नुहुन्छ । त्यो प्याकेज हामी दिन सक्दैनौं,’ उनले भनिन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?