
१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले सेयर बजारमा देखिएको समस्याबारे सदनमा जानकारी सरकारसँग माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको बताए ।
सांसद थापाले अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले बजार सुधार गर्न थालेको कामबारे जानकारी गराउन ध्यानाकर्षण गराएका छन् । ‘सामान्य अवस्थामा सेयर बजार तल–माथि हुनु स्वाभाविक नै भए पनि जानाजान अस्थिर नीतिका कारण साना लगानीकर्ता पीडित बन्ने अवस्था गलत छ,’ सांसद थापाले भने ‘बजारको अहिलेको ह्रासले सबै लगानीलाई निरुत्साहन गर्छ । राष्ट्र बैंकको कर्जा नीतिका कारण भएको बजारको समस्या हल गरिनु पर्छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले सदनमा जानकारी गराउनु माग गर्दछु ।’
साना लगानीकर्ता र आम मानिसलाई बजारको बारेमा बेलैमा सचेत गर्न नसक्दा जनताको घर–घरमा वितृष्णा पैदा भएको सांसद थापाको भनाइ थियो । ‘बजारलाई एक समय ठिक ठाउँमा पुर्याउनै पर्छ तर साना लगानीकर्ता उठ्न नसक्ने अवस्थामा पुग्नबाट बचाउनु पर्छ । उनीहरु भनेको जनता नै हुन्,’ थापाले भने । राष्ट्र बैंकको कर्जा नीतिका कारण भएको बजारको समस्या हल गरिनु पर्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4