+
+

एसियन कप छनोटमा नेपालको स्वभाविक नतिजा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार १ गते १८:४०

१ जेठ, काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले खेलेका तीनवटै खेलमा हार व्यहोर्‍यो ।

छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्दा नै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसिया कपमा छनोट हुन सक्दैन भनेका थिए । आफैँ मनोविज्ञानका विद्यार्थी बताउने उनले खेलाडीमा पर्न सक्ने मनोवैज्ञानिक असरको बारेमा ख्याल नगरेको भन्दै आलोचना समेत भयो ।

प्रशिक्षकले छनोट हुन नसक्ने बताएपछि नेपाल एसिया कपमा छनोट नहुनका लागि खेल्न जाँदैछ भन्ने सन्देश दियो ।

त्यसपछि होटल कि होस्टेलमा बस्ने भन्ने विषयमा खेलाडी र प्रशिक्षकबीच विवाद हुँदा १० खेलाडीले बन्द प्रशिक्षण छाडे । उनीहरुको समर्थन गरेका कप्तान कप्तान किरण लिम्बुसहित ११ खेलाडीलाई बाहिर रख्दै अल्मुताइरीले युवा खेलाडी राखेर नयाँ टिम बनाएका थिए ।

कतारमा १० दिनको अभ्यास र केही अभ्यास खेलपछि नेपाली टोली एसियन कप छनोट खेल्न कुवेत पुगेको थियो ।

पहिलो रोजाईँकै अधिकांश खेलाडी नहुँदा नेपालले कस्तो प्रदर्शन गर्दा भन्ने कौतुहलता थियो । छनोटको तीन खेलपछि सबैले प्रश्नको जवाफ पाइसकेका छन् । नेपालले तीन खेल खेल्दा एक खेल पनि जित्न सकेन । कूल १३ गोल खाँदा जम्मा एक गोल मात्र गर्‍यो ।

फुटबल विश्लेषक सञ्जीव मिश्रले छनोटमा नेपालको नतिजा स्वभाविक रहेको बताए । ‘एसिया कपमा छनोट हुन हामीलाई धेरै गाह्रो नै थियो । जोर्डन र कुवेतसँग यसअघि दोस्रो चरणमा पनि खेलेको तर हराउन सकेको थिएनौँ । इन्डोनेसियालाई पनि हराउन सकेका छैनौं’, एन्फा लिग कमिटीका निर्देशक समेत रहेका मिश्रले भने, ‘हामीले यस नतिजालाई स्वभाविक रुपमा लिन सक्छौँ । हाम्रो लक्ष्य प्रदर्शनमा सुधार गर्ने मात्रै नै थियो ।’

प्रशिक्षक अल्मुताइरीले भने जस्तै नेपाल छनोट हुन त सकेन तर प्रदर्शनमा पनि एकरुपता रहेन ।

यस्तै संकटा क्लबलाई ए डिभिजनमा प्रशिक्षक गराएका विष्णु गुरुङले एकै पटक धेरै नयाँ खेलाडी हुँदा अनुभव र मनोवैज्ञानिक रुपमा असर हुने बताए । ‘यहाँ भएको घटनाक्रमले गर्दा मनोवैज्ञानिक रुपमा पनि डर हुन सक्छ । अनुभव र एस्पोजरको पनि कमी हुन सक्छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘पुराना खेलाडीहरु हुँदा हाइ लेभलमा अभ्यस्त भइसकेका हुन्थे । नयाँ खेलाडीलाई त्यो स्तरमा एकै पटक खेल्न कठिन हुन सक्छ ।’

उनले टिममा धेरै परिवर्तन हुँदा समन्वय र घुलमिल हुन असर हुने बताए ।

युवा र नयाँ खेलाडी टिममा हुँदा पनि नेपालले पहिलो खेलमा बलियो जोर्डनसँग राम्रो प्रदर्शन गर्दै हारको नतिजा २-० मात्र थियो । ‘सिनियर खेलाडी नहुँदा कस्तो खेल्ला भन्ने थियो । त्यसमा नेपालले राम्रो खेल्यो । त्यसले राहत मिलेको थियो र उत्साह पनि ल्याएको थियो । तर दोस्रो र तेस्रो खेलमा भने त्यो कामय रहन सकेन‘, विश्लेषक मिश्रले भने ।

प्रशिक्षक गुरुङले भने पहिलो खेल खेल्दा दुवै टिमको लागि नयाँ हुने र फुटबलमा डिफेण्ड गर्न सहज पनि हुने भएको बताए । ‘जोर्डनसँग खेल्दा दुवैको पहिलो खेल थियो । फुटबलमा अट्याक गर्न भन्दा डिफेण्ड गर्न सजिलो पनि हुन्छ’, गुरुङले भने, ‘दोस्रो र तेस्रो खेलमा हामीले अट्याक गर्न खोज्दा गोल खायौं ।’

फुटबल विश्लेषक मिश्रले कुवेत विरुद्ध दोस्रो खेलमा नेपालले पहिलो हाफमा राम्रो खेल्न नसकेको र गोल गर्ने अवसर पनि सदुपयोग गर्न नसकेको बताए ।

इन्डोनेसियासँगको तेस्रो खेलमा भने नेपालले कप्तान नवयुग श्रेष्ठलाई नै बेञ्चमा राख्दै पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिएको थियो । उक्त खेलमा नेपालले टिममा धेरै परिवर्तन समेत भयो । जसमा नेपाल ७-० ले पराजित भयो ।

विश्लेषक मिश्र टिममा धेरै परिवर्तन हुनु र सुमन अर्यालले रातो कार्ड पाउनुले नतिजामा असर गरेको बताए । त्यसअघि टिम छनोटबाट नै आफू अचम्मित भएको उनले बताए ।

‘तेस्रो खेलमा प्रशिक्षकले टिममा धेरै खेलाडी परिवर्तन गरे । यो अचम्मको थियो । लिग निर्देशक भन्दा पनि फुटबल विश्लेषक भएर भन्दा अचम्म खालको थियो, उनले भने, ‘सायद हाम्रो लागि छनोट हुने सम्भावन छैन भनेर होला सेटमै धेरै परिवर्तन भयो । कोचले धेरै नै रिस्क लिएको हो । त्यसले गर्दा ७-० ले पराजित भयो । अर्को कारण सुमन अर्यालले रातो कार्ड पाउनुले पनि इन्डोनेसियालाई फाइदा भयो र एसिया कपमा छनोट हुनलाई पनि उनीहरुलाई जित्नुपर्ने थियो ।‘

यही कारणले गर्दा नै नेपाल लामो समयपछि ७-० ले पराजित भएको मिश्रको तर्क थियो । ‘हामी लामो समयपछि ७-० ले हार्‍यौँ । अष्ट्रेलियासँग पनि हामी त्यो अन्तरले हारेका थिएनौँ । यो नतिजा हाम्रो लागि दुर्भाग्य नै हो’, मिश्रले भने ।

मिश्रले यस पटक चार खेलाडीले डेब्यु गर्न पाउनु उनीहरुको लागि राम्रो अवसर भएको बताए । भने, ‘चार जनाले डेब्यु गरे । उनीहरुको लागि यो राम्रो अवसर पनि हो । २०१७ मा यू २३ खेलेको पुजनले  २०२२ मा कप्तानको आर्मब्याण्ड नै लगाइसके ।’

जोर्डनसँगको पहिलो खेलमा गोलकिपर दीप कार्की र डिफेण्डर विकास तामाङले डेब्यु गरे । यस्तै इन्डोनेसिया विरुद्ध डिफेण्डर शिव गुरुङ र मिडफिल्डर निर कुमार राईले डेब्यु गरे ।

प्रशिक्षक विष्णु गुरुङले नेपाली टिममा परिवर्तन हुँदा सुरुमा डर लागे पनि पहिलो खेलमा हारका बावजुत पनि राम्रो प्रदर्शन गर्दा राहत मिलेको बताए । ‘हामीमाथि जोर्डन हावी हुन्छ कि भन्ने डर थियो तर प्रदर्शन राम्रो भएकोले राहत भयो’, गुरुङले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?