+
+

मन्त्री हेरफेरको निर्णय एकीकृत समाजवादीमा अनुमोदन, गठबन्धन जोगाउन पहल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते २०:१७
फाइल तस्वीर

१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्री हेरफेर गर्ने निर्णय अनुमोदन गरेको छ ।

बुधबार सकिएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन गरेको हो । प्रचार विभाग प्रमुख एपवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘बजेटको काम समाप्त भए पश्चात उचित समयमा नयाँ मन्त्रीहरु पठाउने छौं ।’

एकीकृत समाजवादीको २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

तर संसदमा बजेटमाथि छलफल चलिरहेको र अरु दलमा पनि मन्त्री फेर्ने दबाव बढेको भन्दै सत्तारुढ गठबन्धनमा सोमबार तत्काल मन्त्री नफेर्ने सहमति भयो । नेताहरुका अनुसार त्यसबेला नै प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएपछि मन्त्रीहरु हेरफेर गर्न सहमति जनाएका थिए ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले स्थायी चुनावको समीक्षा गर्दै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको छ । साथै विगतका कमजोरी सच्याउन सबैलाई सम्वादमा ल्याउने र व्यवस्थित भएर अगाडि बढ्न कोसिस गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

बैठकले कर्णाली प्रदेश कमिटीमा २० सदस्य थप गरेको छ भने १२ जनालाई हटाउने निर्णय गरेको छ । यस्तै असार १० गते पोलिटब्यूरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?