+
+

‘एक करोडको जीवन बीमा दुई कप चिया खाने पैसा जोगाए पनि सम्भव छ’

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असार १ गते २०:०६

१ असार, काठमाडौं । महिनाको १२ सय रुपैयाँमा एक करोड रुपैयाँको बीमा गर्न सकिन्छ ? झट्ट सुन्दा यो कुरामा विश्वास लाग्दैन । तर, सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का बीमा त्यो भन्दा पनि सरल र सस्तो भएको दाबी गर्छन् ।

कम्पनीले ल्याएको नयाँ पोलेसीले बीमा बारेका धेरै धारणा परिवर्तन गर्ने भन्दै उनले बीमा सर्वसुलभ र अत्यावश्यक पनि भइसकेको बताए ।

‘बीमा गर्न ठूलो रकम चाहिंदैन, यसलाई जीवनको एउटा महत्वपूर्ण आवश्यकताको वस्तु हो भन्ने चाहिं पहिले बुझ्नु पर्छ’, खड्काले भने, ‘बजारमा दुई कप चिया खाँदा हुने खर्चजत्तिकै पैसाबाट बीमा गर्न सकिन्छ, त्यो पनि एक करोड बराबरको ।’

लामो समय नेपाल लाइफ इन्स्योेरेन्समा काम गरेका खड्का २० महिनायता सूर्य लाइफमा छन् । सुरुमा ८ महिना डेपुटी र त्यसयता सीईओको भूमीकामा छन् उनी । दोस्रो जेनेरेसनको अग्रणी कम्पनी सूर्य लाइफामा उनले ल्याएका पोलेसीहरुले जीवन बीमा क्षेत्रकै ध्यान खिचेको छ । चौरासी पूजा, १२ सयमा एक करोड जस्ता नयाँ योजना, ब्राण्डिङ, व्यवस्थापनको बलबाट कम्पनीलाई आक्रमक ढंगले अघि बढाएका छन् ।

सीईओ खड्कासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादीत अंशः

नेपालको जीवन बीमा क्षेत्रको समग्र अवस्था कस्तो छ ?

बजार विस्तार भइरहेको अवस्था छ । योसँगै नयाँ–नयाँ प्रयोग र प्रतिस्पर्धा बढेको छ ।

सूर्य लाइफमा एक वर्षे कार्यकालको उपलब्धि कसरी स्मरण गर्नुहुन्छ ?

यस अवधिमा हामीले परम्परागत बीमा बजारमा पृथक पोलेसी र प्रडक्टहरु ल्यायौं प्रडक्ट इनोभेसनमा धेरै काम भए । इन्स्योरेन्समा सबै तप्काका मानिसको पहुँज पुगोस् भनेर सूर्य कवज जस्तो प्रडक्ट ल्यायौं । यसबाट सूर्य लाइफलाई हेर्ने नजरिया नै परिवर्तन भएको छ । योसंगै संस्थागत विकास नीतिहरु कार्यान्वयन गर्‍यौं ।

‘फराकिलो सोच’ भन्ने मान्यताका साथ कर्मचारीको आत्मविवास बढाएर राम्रो ‘टिम बन्डिङ’ गरेका छौं । हामी गुणस्तरीय जनशक्तिका साथ राम्रो नतिजाका लागि पूर्ण रुपले तयार भएका छौं । यो बीचमा २ वटा वार्षिक साधारण सभा सम्पन्न गर्‍यौं । डिपार्टमेन्टल पाटोमा एक वर्षमा ४५ वटा शाखा थप्यौं । यो समयमा धेरै सिकाई पनि भयो ।

बीमा बजारमा सूर्य लाइफ कुन अवस्थामा छ ?

लाइफ इन्स्योरेन्सलाई मूल्यांकनको गर्दा बीमित, अभिकर्ता, लगानीकर्ता, नियमनकारी निकाय र कर्मचारीको दृष्टिकोणाबाट हेर्नुपर्ने हुन्छ । लाइफ फण्ड, शेयर होल्डर फण्ड, पूँजी, स्थायीत्व, सुरक्षा र नतिजामुखी सामूहिक भावना लगायतका पक्षहरु यसमा हुन्छन् । बीमितको दृष्टिकोणबाट हेर्दा हामी लाइफ फण्ड साइजमा १४ अर्बभन्दा माथि छौं ।

सन् २००१, २००८ र २०१८ मा आएकामध्ये हामी २००८ मा आएको बीमा कम्पनी हौं । कम्पनी १५ औं वर्षमा चल्दै गर्दा हाम्रो पोलेसी म्याच्युरिटी पेमेन्ट पनि सुरु भएको छ । यसको अर्थ, हाम्रा बीमितहरुको लगानीको आम्दानीका लागि पनि हामी बलियो र सुरक्षित कम्पनी भएका छौं । बीमाको दाबी भुक्तानी गर्नेमा हामी नम्बर एक छौं ।

कन्भेन्सनल एफपीआईमा हामी टप ४ मा र माइक्रो इन्स्योरेन्समा टप ७ मा छौं । हामी स्थिर बोनस दिने कम्पनीमा पर्छौं र हाम्रो सेयर मूल्य पनि स्थिर र राम्रो छ ।  हाम्रो प्रयत्न सदैव हाम्रा लगनीकर्ताहरुलाई उच्चतम प्रतिफलमा दिनमा रहेको हुन्छ र यस्मा हामीले निरन्तर जोड दिइरहेकाछौं । बीमितहरुको शुलभता र सहजतालाई मध्यनजर गर्दै हाम्रो पहुँच दुरदराजसम्म पुर्याएकाछौं । हामी ग्रामीण भेगमा फैलिएकामध्ये टप ३ मा छौं ।

हामीले स्थिर र लामो भविष्य हेरेर काम गरेका छौं । एजेन्सी मोबिलाइजेसनमा अहिलेसम्म १२ हजार जनशक्ति परिचालन गरेका छौं । यस्को ग्रोथ २५ प्रतिशत छ । इन्स्योरेन्स ग्रोथ पनि २५ प्रतिशत छ । पोलेसी होल्डर, एजेन्सी, सेयर होल्डर र कर्मचारीहरुमा दृध आत्मविश्वास बढाएका छौं ।

सूर्य लाइफका जीवन बीमा योजनाहरु के–के हुन् ?

ग्राहकरुको क्रयशक्ति, चाहना र सहजतालाई ध्यानमा राखि थुप्रै शुलभ र प्रतिफलयोग्य योजनाहरु समय सापेक्ष पस्किंदै अएकाछौं । बालबच्चाहरुलाई ध्यानमा राखी विभिन्न किसिमका बाल बीमा योजना, उच्चतम प्रतिफल  बचतका साथै भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्नका लागि विभिन्न बीमायोजनाहरु, आफू रहँदा या नरहँदा आफ्नो सन्ततिको सुनौलो भविष्य निर्माण गर्न र भविष्य ढुक्क बनाउनका लागि विभिन्न योजनाहरु ल्याएका छौं ।

समग्र जीवन बीमा क्षेत्रमै हामीले केही पृथकता सहित थुप्रै योजनाहरुका साथै १८ वटा घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिँदै आएका छौं । जसमध्ये सर्वाधिक लोकप्रिय र आम जनमानसले रुचाएको योजना भने चै सूर्य सूरक्षा कवज र सूर्य चौरासी पूजा योजना रहेका छन् । संस्थागत माइक्रो फाइन्यान्सबाट ऋण लिने ग्राहकका लागि हाम्रो माइक्रो इन्स्योरेन्स पोलेसी राम्रो बिक्री भइरहेको छ । ३ अर्बदेखि ५ अर्बको हाम्रो कुल बजार साइजमा ७–८ प्रतिशत यहींबाट कभर हुन्छ ।

बढी रुचाइएको सूर्य लाइफको २ वटा बीमा पोलेसी के–के हुन् ?

सूर्य चौरासी पूजा र सूर्य सुरक्षा कवज बीमा योजना अत्यधिक रुचाइएको पोलिसी हुन् ।

सूर्य चौरासी पूजा योजना भनेको के हो ?

१८ वर्षदेखि ६० वर्षसम्मका मानिसले यो योजना लिन पाउँछन् । कम्तीमा १० वर्षको लागि यो टर्म लागू हुन्छ । कसैले एक मुष्ट तिरेर बोनस लिएर हरेक वर्ष पेन्सनको रुपमा ६ प्रतिशतका दरले ८४ वर्षसम्म पनि लाभ लिन सक्छन् ।

मानौं– कोही ३० वर्षको एउटा मान्छेले १० वर्षका लागि पोलेसी लियो । उसले एकमुष्ट पैसा तिर्यो भने ४०औं वर्षमा एकमुष्ट बोनस पाउँछ । ४१ वर्षदेखि हरेक वर्ष ६ प्रतिशतले बोनस पाउँछ । एक करोडको बीमा छ भने वर्षको ६ लाख पेन्सनको रुपमा पाउँछ । यसरी ८३ वर्ष एक महिनामा डेढ गुणा पैसा आउँछ । चौरासी पूजा आफ्नै कमाइबाट हुनुपर्छ भन्ने मान्यताअनुसार यो पोलेसी ल्याइएको हो ।

बीमा अवधिमा कुनै कारणबाट बीमितको निधन भए बीमा रकमको दुई गुणा र बोनस दिन्छौं । ४० नाघेर ७० वर्षको बीचमा दुर्घटना वा प्राकृतिक मृत्यु भए २ गुणा रकम दिन्छौं । परिवारको लागि होइन, अब आफ्नै लागि बीमा भन्ने अवधारणाका साथ यो सुविधा ल्याएका हौं । एक वर्ष कै बीचमा कम्पनीको कुल बिक्रीमा ७ प्रतिशत हिस्सा यो योजनाको छ । यसमा बीमांक पनि ५० हजारदेखि सुरु हुन्छ ।

सूर्य सुरक्षा कवज कस्तो बीमा योजना हो ?

‘सूर्य सुरक्षा कवज १२१२’ भनेको महिनाको १२ सय रुपैयाँ तिरेर एक करोडको बीमा गर्ने योजना हो । यो दिनको ४० रुपैयाँ पर्न आउँछ । अर्थात् एक वर्षमा १४ हजार हाराहारी प्रिमियम तिरेर एक करोडको बीमा गर्ने भनेका हौं ।

गत फागुनमा अघि सारेको यो योजना अहिले निकै रुचाइएको छ । हामी आम मानिसमा यो चेतना पनि फैलाउँदै छौ कि इन्स्योरेन्स महँगो छैन, यो अत्यावश्यक कुरा हो भन्नका लागि हामीले बीमा सर्वसुलभ बनाउन पनि यो योजना ल्याएका हौं ।

कलेज जाने विद्यार्थीले दैनिक ४० रुपैयाँ बचत गर्दा, कुनै जागिरेले एक कप कफि नखाई बचाउने पैसाले पनि एक करोडको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेका हौं । यो सबभन्दा उपयुक्त र खरिद गर्न सकिने बीमा योजना हो ।

यो योजनामा कम्पनीको १५० शाखा र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । २० लाखभन्दा माथिको बीमाको हकमा भने विस्तृत स्वास्थ्य परीक्षण अनिवार्य छ ।

यी प्रोडक्टले बीमाप्रतिको धारणामा केही परिवर्तन ल्याएको छ ?

गाँस, बाँस, कपास र शिक्षा जसरी आवश्यक छ त्यतिनै बीमा पनि मानिसको जीवनमा अति आवश्यक छ भन्ने बोध आम मानिसमा हुँदै गएको छ । यस कारण पनि बीमा सर्वसुलभ र यसको पहुँच नेपालका कुना कन्दारासम्म पुर्‍याउनु पर्ने हुन्छ । हाम्रा विभिन्न योजनाहरु र यिनले दिन सेवा सुविधा र आकर्षणहरुका बारेमा आम जनमानस र घरदैलोसम्म पुर्‍याउनका लागि हामीले कम्युनिकेसनका विभिन्न माध्महरुबाट अवगत गराउदै अएका छौं । डिजिटल प्लेटर्फम र अन्य मोर्डन कम्युनिकेसन च्यानलबाट फरक र इनोभेटिभ तरिकाले कम्पनीको ब्रान्डिङ गर्दै क्रमशः गइरहेका छौं ।

बीमाका नयाँ-नयाँ योजनामा नियमकको दृष्टिकोण कस्तो छ ?

हाम्रो बीमा योजनाहरुमा नियामकको देष्टिकोण राम्रो छ । उहाँहरुले हामीले भनेको बोनस मेन्टेन गर्न सक्छ कि सक्दैन ? बीमा गरेअनुसारको दायित्व बहन गर्न सक्छ, सक्दैन भनेर चासो व्यक्त गर्नु जायज छ । बीमा समितिले नै हामीलाई मौलिक प्रोडक्टमा जोड गर्न भनेको छ । हामीले ल्याएको योजनाहरुबाट नियमक सन्तुष्ट देखिन्छ ।

बीमा बजारमा प्रतिस्पर्धा कस्तो छ ?

नेपालमा बीमाको दायरा फैलिंदै गएको छ । योसँगै परिपक्वता पनि बढेको छ । लगानीकर्ता, प्रोमोटर, अभिकर्ता, कर्मचारी सबैको अनुभव यस्तै छ ।

अहिले प्रतिस्पर्धामा रहेका करिब दुई दर्जन कम्पनीका केही योजना जुधेका जस्ता पनि देखिन्छन् । तर, कम्पनीहरुको फोकस फरक ठाउँमा छ । कोही संस्थागत बीमा मात्रै गर्छन्, कोही ठूला बीमितको मात्र । कोही ग्रास रुटका बीमितमा लागेका छन् । फरक–फरक क्षेत्रमा काम गरेका कारण फरक सेग्मेन्टमा २ देखि ३ कम्पनीबीच प्रतिस्पर्धा देखिन्छ ।

सूर्य लाइफका बीमा योजनामा बीमित हुन चाहानेले कहाँ, कसरी सम्पर्क गर्ने ?

हामी ७४ जिल्लामा १५० भन्दा बढी शाखामा फैलिएका छौं । अर्को हामीसँग डिजिटल प्लेटफर्मबाट पनि जोडिन सकिन्छ । सञ्चार माध्यमदेखि समाजिक सञ्चाल र कम्पनीको मोबाइल एपसम्मबाट जानकारी लिन र पोलेसी किन्न सकिन्छ । कुनै पनि जानकारी लिनका हाम्रो टोल फ्री नम्बरमा सम्पर्क गर्नपनि सकिन्छ । १२ हजार अभिकर्ता छन् । माइक्रो फाइन्यान्स र कोअपरेटिभमा पनि भेटिन्छौं ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?