+
+

आज चुरे दिवस मनाइँदै, राष्ट्रपतिले दुधौलीमा वृक्षरोपण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ७:१७

३ असार, काठमाडौं । आज आठौं चुरे दिवस मनाइँदै छ । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ । वृक्षरोपण अभियानको शुभारम्भ बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्नेछिन् । देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट पनि वृक्षरोपण हुने छ ।

असार महिनालाई वृक्षरोपण महिनाको रूपमा मनाउँदै असार महिनाभर कम्तिमा पाँच लाख वृक्षरोपण गरिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले जनाएको छ ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा चुरे पहाड फैलिएको छ । चुरे कान्छो पहाड, भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग हो । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र संवेदनशील बन्दै गएको छ । बलौटे ढुंगा एवं माटोबाट बनेका कारण चुरे भूभाग निकै कमजोर मानिन्छ ।

यो क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै यसको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सन्चालन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?