+
+

विक्रम श्रेष्ठको ‘हिमालयको उत्पत्ति’ पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:४३

काठमाडौं । विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकको बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे ।

पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण लगायतका विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यो पुस्तक पुरातत्व तथा भूगर्भशास्त्र सम्बन्धी विषय नेपाली भाषामा पढ्न चाहनेका लागि ‘अभूतपूर्व’ रहेको बताए । भूगर्भशास्त्र एवं पुरातत्वमा स्नातकोत्तर गरेका श्रेष्ठद्वारा लिखित यो पुस्तक यस विषयमा जान्न खोज्ने गैरविद्यार्थीको लागि पनि उपयोगी हुने उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै उपकुलपति एवं संस्कृतिविद् डा. गुरुङले हिमालयको उत्पत्ति सम्बन्धी बृहत विषयलाई सरल नेपाली भाषामा लेख्ने सर्जक विक्रम श्रेष्ठ र प्रकाशक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रप्रति आभार व्यक्त गरे । जीवको उत्पत्ति हिमालयबाट भएका विभिन्न प्रमाण, धर्मशास्त्रमा हिमालयलाई पवित्र भूमिको रुपमा गरेको चित्रणको प्रसंग उठाउँदै उनले हिमालय एउटा हिउँको पहाड मात्रै नभएर सिंगो संस्कृतिको आधारबिन्दु रहेको धारणा राखे ।

त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. सोमप्रसाद खतिवडाले श्रेष्ठको पुस्तक नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयका विद्यार्थीको लागि उपयुक्त रहेको बताए ।

यस्तै त्रिवि पुरातत्व केन्द्रीय विभागका विभागीय पूर्वप्रमुख प्रा. डा. मदनकुमार रिमालले पुरातत्व अध्ययन केन्द्रले यति महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा बधाई दिए ।

दुई वर्षअघि स्थापना भएर विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय अध्ययन केन्द्र विभिन्न स्थानीय तहमा रहेका पुरातात्विक महत्वका स्थलहरुको अध्ययन तथा अन्वेषणमा सक्रिय छ । यसले नयाँ विद्यार्थी एवं अध्येताहरुलाई संस्कृति एवं पुरातत्वसम्बन्धी अध्ययन अनुसन्धानमा प्रेरित गर्ने एवं अनुसन्धानको अवसर दिने समेत काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?