+
+
सम्झना :

शैलजाको अवसान र शोक धुन

शैलजाका दुई जिब्रा थिएनन् । तिनले जे देखिन्, त्यो बोलिन् । जे बोलिन्, त्यसमा अडिग भइन् । यसरी आफ्नो अन्तस्करणको विश्वासप्रति सदैव बफादार रहिन् ।

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
२०७९ असार ४ गते १८:२०

कुन राजनीतिक दलमा सल्किएको छैन र राजतन्त्रीय वंशवाद र परिवारवादको रोग ! राजतन्त्रमा पटमूर्ख होस् वा सन्काहा !  राजाको जेठो छोरो स्वतः राजा बन्छ र निजकी पत्नी स्वतः रानी । अनिर्वाचित राजतन्त्रको अन्धानुकरण गर्दै केवल नेता पतिकी पत्नी भएर, नेता पिताकी पुत्री भएर वा नेता पतिको राजनीतिक अपुताली खान पाएर नेतृ बनेकाहरू चुरीफुरीसाथ राजनीतिमा वाक्कलाग्दो अभिनय गरिरहेका छन् । वंश वा परिवारको वृक्षमा पलाउने नेता वा नेतृहरू जमिनमा जरा नभएका परजीवी ऐंजेरु हुन् । टुप्पामा पलाएका यस्ता ऐंजेरुहरू टपर्टुइँयाँ हुन्छन् । यी टपर्टुइँयाँहरू जहाँजहाँ टेक्न पुग्छन्, त्यहाँ ती नैतिक प्रदूषण छर्दै जान्छन् । तर शैलजा आचार्य मामा बीपी र जीपीरूपी वृक्षमा पलाएकी ऐंजेरु नेतृ किमार्थ होइनन् । ती आफ्नै आदर्श र निष्ठा, आफ्नै संकल्प र साहस एवं आफ्नै सङ्घर्ष र समर्पणको गाथाको मौलिक जगबाट शानका साथ उठेकी नेतृ हुन् । दैहिक अस्तित्वमा शैलजा अब रहिनन् । अब शैलजाको जीवनको झझल्को तिनका आफ्नै कर्महरूले हाम्रा मनमा निर्माण गरेका स्मृति-बिम्वहरूमा छ ।

शैलजाको नामसँगै हाम्रा आँखासामु एउटा प्रखर बिम्व नाच्न थाल्छ । २०१७ सालको फौजी काण्डसँग शैलजाले हाक्काहाक्की आँखा जुधाउँदा बनेको थियो हाम्रा आँखामा उज्यालो र आशा भरिदिने यो बिम्व । फागुन ७ गते राजधानीको टुँडिखेलमा फौजी बर्दी र कालो चश्मा लगाएका दम्भी तानाशाह महेन्द्र सङ्गीनको घेराभित्र राजसी आसनमा गजधम्म बसेका छन् । किशोर वयकी शैलजाको सानो पाखुरो सहस्र सङ्गीनको एकरत्ति पर्वाह नगरी कालो झन्डा बोकेर फुत्त माथि उठ्छ । झन्डाको कालो रङ गएर महेन्द्रका अनुहारमा पोतिन्छ । त्यो क्षणमा, शैलजाले अविस्मरणीय इतिहास रचेको त्यो क्षणमा, उनको उचाइ धरहरामाथि उठ्छ, र तानाशाह महेन्द्र लिलिपुट मानवको आकारमा तल धूलामा लुट्पुटिन पुग्छन् । त्यो सङ्गीनमाथि विवेकको गौरवमय विजयको भव्य क्षण हो । प्रजातन्त्र र स्वतन्त्रताप्रतिको अदम्य निष्ठा नै शैलजाको त्यो साहस, त्यो शक्ति तथा त्यो गौरवको मुहान हो ।

जीवनको सहज कालमा बोल्ने मुख, लेख्ने हात र उठ्ने पाखुराहरू जति पनि हुन्छन् । तर सङ्कट र जोखिमको समयमा बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने भनी प्रायःजसो जीवात्हरू मूक मुद्रामा अरूका मुख ताक्छन् । शैलजाले साहसको देउरालीमा उभिएर नागरिक अधिकारहरू चोरीखाने बिरालाका घाँटीमा घन्टी बाँधिन् । बिरालो झस्किंदा घन्टी बज्यो र ढाडे तानाशाह महेन्द्रको मुटु थर्कियो । इतिहासको यात्रामा ज्यानको बाजी थापेर आतङ्कमय सन्नाटा भङ्ग गर्ने, अत्यासलाग्दो अन्धकारमा उज्यालोका फिलुङ्गाहरू छर्ने र मानवजातिलाई जीवनको उकालीतिर लम्किन प्रेरित गर्ने पात्रहरू विरलाकोटी हुन्छन् । शैलजा एक हुन् ।

शैलजाको त्यो साहसको जगमा सामूहिक स्मृतिबाट पैदा भएको शक्तिपुञ्ज थियो । पृष्ठभूमिमा त्यो सामूहिक स्मृतिको सिर्जना गरिदिने पात्रहरू हसिनादेवी, मङ्गलादेवी, मेलवादेवी, मोतीदेवी, गोमादेवी, साधना र साहना प्रधान आदि थिए । दमनकारी तानाशाहविरुद्ध अपूर्व साहसका साथ उठेको शैलजाको सानो पाखुरोमा यी नारीहरूको संघर्ष र सिर्जनाको शक्ति स्नेहका साथ सञ्चार भएको थियो ।

राजनीतिमा शैलजालाई हुर्काउने र संस्कारित गर्ने मातृसंस्था नेपाली कांग्रेसमा ऊबेला युवा जोश र आवेगको जीवन्त स्पन्दन थियो । संस्कृत पाठशालाबाट ‘जयतु संस्कृतम्’को गगनभेदी नारा उराल्ने अगुवाहरू कांग्रेस युवा नै थिए । कांग्रेस ब्राहृमणहरू टुप्पी ठुन्क्याएर र जनै छिनाएर रुढ परम्परामा क्रम भङ्ग गर्ने मनसुवाले हलो जोत्न पनि तम्सिन्थे । युवा कांग्रेसहरू बालविवाह र बहुविवाह प्रथा मास्न तरकमरक पनि गर्थे । अमानवीय वर्णाश्रम प्रथाले अछूत भनी पशुभन्दा तल गिराएका पीडित मानवहरूसँग बसेर सहभोजन गर्न पनि कांग्रेस ब्राहृमणहरू जुर्मुराउँथे । रजौटा र बिर्ता उन्मूलन गर्न पनि कांग्रेसहरूले हात बढाएकै हुन् । युवा कांग्रेसका समाज र संस्कृतिमा सुधार ल्याउने पदचापका यी अनेक ओली आवाजहरूले शैलजामा ऊर्जा र आँट भरिदिएको थियो । र नै त आफूसमेत केवल पाँचजनाको सानो झुन्ड बनाएर महेन्द्रीय फौजीतन्त्रको कालरात्रिमा तिनले तहल्का मच्चाइदिइन् ।

शैलजाका लागि दुई चीज अति पि्रय थिए । राजनीतिक आदर्श र नैतिकता । कृषि मन्त्री छँदा तिनले आफ्नो मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ भनी प्वाक्क बोलिन् । कांग्रेस जन देश र दुनियाँको भाग्य र भविष्य अराजक बजारलाई सुम्पिदिएर जसरी हुन्छ धन सञ्चय र ऐसआरामको बाटोमा मग्न थिए । ती औंसी-पूणिर्मामा यसो ‘प्रजातान्त्रिक समाजवाद’को सम्झना गर्थे । अनि फेरि उही सञ्चय र मोजमस्ती पथमा लिप्त भइहाल्थे । सरदर कांग्रेसजनलाई भ्रष्ट सत्ता-संरचनामा सुधार गर्नु थिएन । त्यसैले शैलजाको त्यो वचन तिनलाई हुनुसम्म अपाच्य भयो । थुकेको थुक खान इन्कार गर्दै शैलजाले आफ्नो मन्त्री पदै त्यागिन् । लोभ र भोगको वर्चस्व कायम हुँदै गएको स्वार्थी राजनीतिमा तिनले आदर्श रोजिन् र आफ्नो वरिपरिका निहित स्वार्थपूजकहरूमाथि नैतिकताका कोर्रा बर्साइन् । आदर्शबाट विमुख हुँदै गएको कांग्रेसमा आदर्शप्रेमी शैलजा उपेक्षित र एक्ली भइन् । तिनले उपेक्षा र एक्लोपना रोजिन्, र स्वार्थीहरूको भीडमा विलय हुन अस्वीकार गरिन् ।

समयक्रममा खुनी राजतन्त्रविरोधी उथलपुथलकारी आन्दोलनको प्रवाहले लपेटेर सनातनी कांग्रेसहरूलाई लतार्दै आफ्नो प्रवाहमा बगायो । तिनले अत्ताल्लिंदै प्रजातन्त्र र राजतन्त्रको दुई खम्बे सिद्धान्तको रट लगाए । तर जनआवेगको उत्ताल प्रवाहसामु त्यो रटना टिक्न सकेन । त्यसपछि तिनले डुब्न लागेको मानिसले परालको त्यान्द्रो समातेझैं आलङ्कारिक सम्राट अनि त्यसपछि शिशु सम्राटको याचना गरे । तर समयको कठोर धक्काले ती कुरूप याचनाहरूलाई पनि लोप्पा ख्वाइदियो । यसरी शैलजाका समकक्षी र समवयी धेरैजसो सनातनी कांग्रेस गणतन्त्रप्रति कमसेकम ओठेभक्ति जनाउन विवश भए । विडम्बनावश, शैलजा भने बीपी कोइरालाको मेलमिलापको मिति  गुज्रिएको सूत्र समातेर राजतन्त्र र प्रजातन्त्रको मिलनरूपी घिड्घिडोमै झुन्डिइरहिन् ।

समय फेरिएको थियो । जनभावना फेरिएको थियो । राजतन्त्र दागबत्तीको घडी कुर्दै ब्रहृमनालमा लम्पसार परिसकेको थियो । तर, बीपीको प्रजातन्त्र-राजतन्त्र मेलमिलापको मृत सूत्रलाई शाश्वत देववाणी ठानेर शैलजा इतिहासको प्रवाहबाट हुत्तिएर निर्जन किनारमा एक्लै छाडिइन् । त्यो नै तिनको राजनीतिक अवसानको दुःखद् क्षण थियो । इतिहासको त्यो उजाड किनारमा भौंतारिंदै निरीह स्वरमा तिनले गनगन गरिरहिन्- ‘कांग्रेसले बाटो बिरायो । कांग्रेस बिगि्रयो ।’ समय धेरै अघि बढिसकेको थियो । पछिल्तिर फर्केर तिनको त्यो गनगन सुन्ने फुर्सद कसैलाई थिएन ।

अहिले अर्को कालखण्डमा इतिहास दोहोरिएको छ । राज्यको ढाँचा सुधार र आर्थिक-सामाजिक परिवर्तनको तुमुल ध्वनिले समस्त आकाश गुञ्जायमान छ । यो ध्वनि, यो भयङ्कर ध्वनि, सुनेर सनातनी कांग्रेसजन आतङ्कति भएका छन् । सत्ता, दौलत र संस्कृतिमा आफ्नो सनातनी वर्चस्व गुम्ने डरले ती थर्थरी कामिरहेका छन् । र, ती आफ्नो अस्तित्वको रक्षा गरिमाग्न अनुहारभरि दागैदाग भएका फौजी महारथीको शरण परेका छन् । ती उही बासी ‘प्रजातन्त्र’मा फर्केका छन् । र, ती राजनीतिमा नवीन मूल्यको उद्घोष गर्ने ‘लोकतन्त्र’ र ‘गणतन्त्र’ शब्दप्रति नै अरुचि देखाउँदै मुख बिगार्न थालेका छन् । यसरी सनातनी कांग्रेसहरू अप्रकट रूपले शिशु सम्राटको याचना गर्दै इतिहासको त्यो उराठलाग्दो बगरमा फर्केका छन्, जहाँ शैलजा छुटेकी थिइन् ।

शैलजाका दुई जिब्रा थिएनन् । तिनले जे देखिन्, त्यो बोलिन् । जे बोलिन्, त्यसमा ती अडिग भइन् । यसरी आफ्नो अन्तस्करणको विश्वासप्रति ती सदैव बफादार रहिन् । तिनको वर्ग र वैचारिक प्रशिक्षणले तिनको दृष्टिलाई कम्युनिस्ट विरोध र ‘प्रजातन्त्र-राजतन्त्र’को मेलमिलापको सीमाभित्र कैद गरेको थियो । तिनले इमानसाथ आफ्नो त्यो सीमा स्वीकार गरिन्, र समयको गतिमा ती बीचैमा छुटिन् । सनातनी कांग्रेसहरूले झैं तिनले पाखण्डको अभिनय कहिल्यै गरिनन् । त्यसैले सनातनी कांग्रेसजनको भीडमा शैलजा इमानदार काङ्ग्रेस हुन् ।

समय-प्रवाहमा शैलजा अड्किएको उदास बगरमा फर्किएको सनातनी कांग्रेस नेपाली राजनीतिमा एक लोपोन्मुख प्रजातितुल्य प्रतीत हुन्छ । कुन्नि, शैलजाको दैहिक अवसान कांग्रेसकै अवसानको विरक्तलाग्दो शोक धुन पो हो कि ! बूढो कांग्रेसको अवसानलाई नरहरि आचार्यको कहिलेकाहीं विमतिमा उठ्ने लज्जालु र लुलो हातले रोक्न के सक्दो र ?

२०१७ सालको अमिट स्मृति-बिम्वमा अमरत्व प्राप्त गरेकी शैलजा दिज्यू ! तिमीलाई मेरो अटुट सम्झना ।

(उत्तरआधुनिक अन्तरेपथ बाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?