+
+

कर्णालीका मुख्यमन्त्रीको गुनासो : नामको मात्र मुख्यमन्त्री भएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १९:५७

४ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको स‌ंघीयता विश्वकै कमजोर भएको टिप्पणी गरेका छन् । र, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मन नपरे खारेज गर्न सुझाव दिएको बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धीको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विश्वमै कमजोर संघीयता भारतको भएको र नेपालको संघीयता महाकमजोर भएको बताए ।

मुख्यमन्त्री शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुखमन्त्री’ हो, भन्ने आफूलाई नै थाहा नभएको टिप्पणी गरे । ‘म हिजो जिल्ला विकास समितिको सभापति थिएँ, त्यतिबेला अझ बढी पावर थियो । अहिले नामको मात्र मुख्यमन्त्री हो’ मुख्यमन्त्री शाहीले भने, ‘मैले अस्तिको भेटमा प्रधानमन्त्रीज्यूलाई पनि भने, संघीयता मन परेको छैन भने खारेज गरौं, ‘क्यान्सिल इट’ । हैन भने अधिकार दिनुस् ।’

प्रादेशिक संरचना नै संघीयता अभ्यासको आधार भएकाले अधिकार विहीन संरचनाले उचित प्रतिफल नदिने मुख्यमन्त्री शाहीको तर्क छ । ‘केन्द्र र स्थानीय तह हिजो पनि थियो । संघीयता भनिएको छ, मन्त्रालय बसेको जग्गा प्रदेशको नाममा छैन, माथिका मान्छेले पावर दिन चाहँदैन । यसरी त कसरी काम गर्न सकिन्छ ?’ उनले कार्यक्रममा सहभागीलाई प्रश्न गर्दै भने ।

फरक प्रसंगमा मुख्यमन्त्री शाहीले कर्णालीका पत्रकारले आफूले गरेको कामको प्रशंसा नगरेको भन्दै आलोचना समेत गरे । ‘चुनावी सरकार हो । अन्य प्रदेशमा बजेट बढ्दा मैले घटाएर ल्याएँ, तर यहाँका कुनै पनि पत्रकारले वाह मुख्यमन्त्री राम्रो गरिस् भनेर लेखेनन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?