+
+

काठमाडौंका आकर्षक १० ब्याङ्क्वेट : भोजभतेर गर्न कति खर्च लाग्छ ?

सम्झना विक सम्झना विक
२०७९ असार ५ गते १८:२६

काठमाडौं । विवाहलाई सुखद र स्मरणीय बनाउन भोजभतेर खुवाउने प्रचलन सदियौंदेखि चल्दै आएको छ । नातेदार, इष्टमित्र, छिमेकी र साथीभाइलाई आमन्त्रण गरेर हार्दिकतापूर्वक मीठोमसिनो व्यञ्जन खुवाउने यो क्रम सामाजिक संस्कारकै एउटा हिस्सा बनेको छ ।

विगतमा पनि बिहे भोजको तामझाम कम रमाइलो हुँदैनथ्यो । घरआँगनमा भतेर लगाएर आगन्तुकहरुलाई भरपेट खुवाउने गरिन्थ्यो । फराकिलो फाँट वा आँगनमा खानपानको बन्दोबस्ती गरिन्थ्यो । सुकुलमा पलेंटी कसेर बसी टपरीमा भोज खाने चलन थियो ।

अहिले यसको स्वरुप फेरिंदैछ । विवाह वा कुनै पनि भोजभतेरका लागि ब्याङ्क्वेट एवं पार्टी प्यालेस उपलब्ध छन्, खासगरी सहरी क्षेत्रमा । यी ब्याङ्क्वेटहरुमा सुविधाजनक ढंगले भोजभतेरको आयोजना गर्न सकिन्छ । अतः सहज र छरितोका लागि यस्तै ब्याङ्क्वेटमा भोज गर्ने क्रम बढ्दो छ ।

ब्याङ्क्वेटमा विवाह वा कुनै किसिमको भोजभतेर गर्न कति खर्च लाग्छ ? यसमा ग्राहकले चाहे अनुसारको व्यञ्जन र सहभागी हुने आगन्तुकको संख्यालाई आधार बनाएर निक्र्योल गर्न सकिन्छ । यद्यपि चलनचल्तीको हिसाबले भोजभतेर खुवाउँदा प्रतिव्यक्ति लाग्ने खर्चको आधारमा यहाँ भोजभतेरको खर्च विवरण पेश गरिएको छ ।

त्यसो त काठमाडौंमा अनगिन्ती ब्याङ्क्वेट वा पार्टी प्यालेस सञ्चालनमा छन् । हेर्दा आकर्षक, छरितो सेवा सुविधा, स्वादिष्ट व्याञ्जनसहित यी ब्याङ्क्वेटले आगन्तुकलाई आमन्त्रण गरिरहेका छन् । त्यसमध्ये यहाँ १० ब्याङ्क्वेटको सुविधा र त्यहाँ भोजभतेर गर्दा लाग्ने औसत खर्चबारे उल्लेख गरिएको छ ।

अनुपम फुडल्याण्ड, बत्तीसपुतली

२०७२ सालदेखि काठमाडौंको बत्तीसपुतलीमा सञ्चालनमा आएको अनुपम फुडल्याण्ड ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रवेशद्वार सानो लागे पनि भित्र यसको क्षेत्र फराकिलो छ ।

फुडल्याण्डका म्यानेजर सन्तोष खतिवडाका अनुसार हरियाली वातावरण भएको यस फुडल्याण्डमा कार्यक्रमका लागि तीनवटा हल उपलब्ध छन् ।

अनुपम फुडल्याण्डमा प्रतिव्यक्ति १५ सयदेखि २ हजार रुपैयाँ पर्छ । जसमा स्न्याक्स, खाना, कोल्ड डिं«क र डिजर्ट पर्छन् । मदिराको व्यवस्थापन भने आफैंले गर्नुपर्छ ।

डिजेइङको लागि १५  हजार देखि २० हजार अतिरिक्त खर्च गर्नुपर्छ । प्रकाश व्यवस्था र सजावट भने आफ्नो इच्छाअनुसार गर्न सकिने खतिवडा बताउँछन् । यहाँ २५ सय जनासम्मले एकैचोटि खाना खान सक्छन् ।

पार्किङका लागि मात्रै १२ रोपनी जग्गा छुट्याएको यहाँ ४०० वटासम्म चारपाङ्ग्रे गाडी र ६०० वटासम्म दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । झोलरहित मटन खाना यहाँको रुचाइएको खानेकुरा हो । विभिन्न १७ आइटमका खाना यहाँ उपलब्ध हुन्छन् ।

कार्की ब्याङ्क्वेट, बबरमहल

२०७१ सालमा खुलेको कार्की ब्याङ्क्वेट राजनीतिक दलका कार्यक्रमका कारण पनि चर्चित छ । यहाँ विभिन्न दलले कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । साथै यहाँको खाना र आतिथ्यले पनि धेरैलाई लोभ्याएको पाइन्छ ।

सहरको कोलाहलभन्दा केही शान्त स्थानमा रहेको कार्की ब्याङ्क्वेटमा चारैतिर रुखविरुवाले सजाइएको छ । जसका कारण यहाँ आउने पाहुनाले शीतल महसुस गर्छन् ।

फराकिलो भवन तथा व्यवस्थित पार्किङका कारण यहाँ आयोजना हुने पार्टीमा आउन पाहुनाहरुलाई सहज हुन्छ ।

यहाँ मदिराबाहेक १८ सय ६५ रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध हुन्छ । एकैपटक १५ जनालाई खाना खुवाउन सकिने सुविधा आफ्नो ब्याङक्वेटमा रहेको सञ्चालक बताउँछन् ।

यहाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरेर १५० वटा सवारी साधन पार्किङ गर्न सकिन्छ । डिजेइङ र सजावटको खर्च भने छुट्टै तिनुपर्छ ।

अनमोल ब्याङ्क्वेट, शंखमूल

२०५८ सालमा सञ्चालनमा आएको अनमोल ब्याङ्क्वेट करिब ६ रोपनी क्षेत्रफमा फैलिएको छ । म्यानेजर तेजेन्द्र राजभण्डारीका अनुसार सही व्यवस्थापनका लागि यहाँ एक दिनमा एउटा मात्रै इभेन्ट गरिन्छ ।

यहाँ मदिराबाहेक १६ सय रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध गराइन्छ । चारपाङ्ग्रे ६० तथा सय वटा दुईपाङ्ग्रे सवारी साधन एकपटकमा यहाँ पार्किङ गर्न सकिन्छ ।

एकैचोटि २ हजार जनाले ब्याङक्वेटमा खाना खान सक्ने म्यानेजर राजभण्डारी बताउँछन् । डिजेइङ, लाइटिङ र सजवाटको खर्च छुट्टै व्यवस्थापन गर्नुपर्छ ।

लर्ड प्यालेस, धापासी

लर्ड प्यालेसको आधुनिक र आकर्षक डिजाइनका कारण पार्टी आयोजना गर्ने जोकोहीलाई तान्छ । साढे चार रोपनी क्षेत्रफलमा फैलिएको यो पार्टी प्यालेसमा दुईवटा ठूला हल उपलब्ध छन् ।

म्यानेजर कृष्ण भण्डारीका अनुसार यहाँ मदिराबाहेक प्रतिव्यक्ति १५ सय ५० देखि दुई हजार रुपैयाँमा खाना उपलब्ध गराइन्छ । गोल्डेन, डायमण्ड र प्लाटिनम सूचीमा खानालाई राखेर सेवा दिइने गरिएको भण्डारी बताउँछन् । जसअनुसार गोल्डेनको १५ सय ५०,  डायमण्ड १७ सय ५० र प्लाटिनमको २ हजार रुपैयाँ पर्छ ।

एकैपटकमा १२ सय जनाले खाना खान सक्ने लर्ड प्यालेसमा ७० वटा गाडी र १३० वटा मोटरसाइकलको पार्किङ क्षमता छ ।

सासा ब्याङ्क्वेट, नयाँ बजार

एक दशकदेखि सेवा दिंदै आएको सासा ब्याङ्क्वेट चार रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ एकैपटक दुईवटा समेत कार्यक्रम आयोजना गर्न सकिन्छ । फराकिलो र मूल सडक नजिकै भएकाले आवतजावतमा भने सहज छ ।

सासा ब्याङ्क्वेटमा प्रतिव्यक्ति १५ सयदेखि २ हजार रुपैयाँमा खाना उपलब्ध हुन्छ । मदिराको मूल्य भने यहाँ पनि छुट्टै तिर्नुपर्छ ।

यस्तै डिजेइङ र  लाइटिङका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसका लागि १५ देखि २५ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ । यहाँ एकपटकमा ५०० जनासम्मले खाना खान सक्छन् भने एक सय मोटरसाइकल र ४० वटा गाडीको पार्किङ क्षमता छ ।

रोयल ब्याङ्क्वेट, तीनकुने

सन् २०१५ देखि सञ्चालनमा आएको रोयल ब्याङ्क्वेटको पार्टी प्यालेसका साथै रेस्टुरेन्ट पनि हो । विशेषगरी भारतीय खानाको परिकारका लागि यो चर्चित छ ।

१६ देखि १८ सय रुपैयाँमा प्रतिव्यक्ति खाना उपलब्ध गराइने यहाँ एकैपटकमा १५ जना बसेर खाना खान सक्छन् ।  मदिराको व्यवस्थापन भने आफैंले गर्नुपर्छ । ब्याङ्क्वेटका म्यानेजर अनिल भारतीका अनुसार टिमुर चिकेन, चिकेन साती, भेजिटेबल मन्चुरियन, दाल मखनी यहाँका रुचाइएका परिकार हुन् ।

रोयल ब्याङ्क्वेटमा ६० वटा मोटरसाइकल र ५० वटासम्म गाडी पार्किङ गर्न सकिन्छ ।

बानेश्वर ब्याङ्क्वेट, नयाँ बानेश्वर

२०६७ सालमा खुलेको बानेश्वर ब्याङ्क्वेट ‘प्राइम लोकसेन’मा रहेकाले जोकोहीलाई सहज हुन्छ । सञ्चालक रमेश चालिसेका अनुसार यहाँ ग्राहकको चाहना अनुसार सुपथ मूल्यमा खाना तयार गरेर सेवा दिइन्छ ।

मदिराबाहेक यहाँ प्रतिव्यक्ति १३ सय ५६ रुपैयाँमा खाना उपलब्ध हुन्छ । यहाँ ७५ हजार रुपैयाँदेखि पार्टी आयोजना गर्न सकिने चालिसे बताउँछन् । डिजेइङ, लाइट र डेकोरेसनको छुट्टै खर्च गर्नुपर्ने हुन्छ ।

यहाँ एकपटकमा एक सय जनाले खाना खान सक्छन् भने ६५ वटा मोटरसाइकल र ८० वटा गाडी पार्किङ गर्न सकिन्छ ।

इम्पेरियल ब्याङक्वेट, चावहिल

चार वर्षअघि इम्पेरियल ब्याङ्क्वेट २५ हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । चक्रपथदेखि दुई सय मिटरमा अवस्थित यो ब्याङ्क्वेटबाट काठमाडौं उपत्यकाको दृश्यलाई नियाल्न सकिने म्यानेजर अशोक जीसी बताउँछन् ।

यहाँ सिल्भर, गोल्ड र डायमण्ड गरी तीन प्याकेजमा खाना उपलब्ध गराइन्छ । सिल्भरमा १६ सय, गोल्डेनमा १८ ससय ५०  र डायमण्ड २४ सय रुपैयाँ ताकिएको छ । यहाँ पनि मदिराको छुट्टै व्यवस्था गर्नुपर्छ । इम्पिरियलमा सजावटका लागि भने छुट्टै व्यवस्थापन गर्नुपर्दैन ।

यहाँ १५० वटा मोटरसाइकल र २५० वटा गाडी पार्किङको क्षमता छ भने ६०० जनाले एकैपटकमा खाना खान सक्छन् ।

क्लासिक भेन्यु, सानेपा

२०७५ सालमा खुलेको क्लासिक भेन्युको सजावट निकै शानदार छ । पाहुनाको स्वागत सत्कारमा कुनै कमी नराखी सेवा दिंदै आएको म्यानेर सूर्यप्रसाद डंगोल बताउँछन् ।

यहाँ प्रतिव्यक्ति २ हजार देखि २५ सय रुपैयाँमा खाना उपलब्ध गराइन्छ । यसैगरी सामान्यतया १० हजार रुपैयाँमा सजावट गर्न सकिन्छ भने ३० देखि ४० हजार डिजेइङ खर्च लाग्छ ।

क्लासिक भेन्युमा एकैपटक ६०० जनाले खाना खान सक्छन् भने ९५ वटा गाडी र २०० वटा मोटरसाइकल पार्किङ गर्न सकिन्छ ।

स्मार्ट प्यालेस, चुच्चेपाटी

एक वर्षअघि सञ्चालनमा आएको स्मार्ट प्यालेसले छोटो समयमै धेरैको मन जित्न सफल भएको सञ्चालक बाबुराम कार्की बताउँछन् । यहाँ प्रतिव्यक्ति २ हजार २६० रुपैयाँमा खाना उपलब्ध हुन्छ । सजावट, डिजेइङ तथा लाइटिङको व्यवस्था आफैंले व्यवस्थापन गर्नुपर्छ ।

यहाँ २०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने क्षमता छ ।

तस्वीर : सम्बन्धित ब्याङ्क्वेटको फेसबुक पेजबाट

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?