+
+

वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:१०

६ असार, वीरगञ्ज । खाद्य उद्योगीहरुले वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले खाद्यवस्तुको परीक्षण गर्न जनकपुर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अत्याधुनिक खाद्य प्रयोगशाला वीरगञ्जमा हुनुपर्ने माग गरेका हुन् ।

खाद्य उद्योगी शिवजी कलवारले चिउरा, पिठो, दाल, चामलको म्याद गुर्जने समय सरकारले निश्चित नगरिँदिँदा आफूहरु मर्कामा परेको बताए ।

‘एउटै चामल विभिन्न थरीको हुन्छ, उपभोगका लागि म्याद कति राख्ने ? अन्यौल छ । थोक बिक्रेताले राम्रोसँग भण्डारण नगरेका कारण खाद्य बस्तुमा समस्या देखियो भने पनि उद्योगीले कारबाही भोग्नुपर्छ’, उनले भने, ‘म्याद कति राख्ने राज्यका निकायले निश्चित गरिदिनुपर्छ । जसले गर्दा खाद्य बस्तुमा समस्या देखिएको उसैलाई दोषी मानेर कारबाही गर्नुपर्छ ।’

नयाँ परिस्थिति अनुसारको नीति आउनुपर्ने, हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग उनले गरे ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरुले बैंकले ऋण दिनमा आलटाल गर्ने गरेको गुनसो गरे । ब्युटिसियन सुमित्रा सापकोटाले ब्युटीपार्लरलाई सेवामुलक उद्योग भनेर बैंकले ऋण समेत नदिने गरेको बताइन् ।

प्रभु अस्पतालकी सञ्चालिका डाक्टर लक्ष्मी थापाले घरेलु उद्योगले दिने तालिम प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।

युवा व्यवसायी मुर्ली जालनले घरेलु कार्यालयले तालिमका लागि तालिम नभई प्रभावकारी तालिम दिनुपर्नेमा जोड दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव आशिष लाठले एकद्वार प्रणालीमा जान आग्रह गरे । सरकारी सरोकारवाला निकायले समय समयमा लगानी गर्ने क्षेत्रको पहिचान गरेर जानकारी गराउँदा राम्रो हुने उनको धारणा छ ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका खाद्य अनुसन्धान अधिकृत बिक्की राउत, गुणस्तर तथा नापतौल कार्यालय पर्साका निरीक्षक ऋषभ ढुंगेल र घरेलु तथा साना उद्योग कार्यालयका नासु सुरज रामले कार्यालयले गर्ने कामहरुको बारेमा सहभागीलाई जानकारी दिएका छन् । उनीहरुले सिमित स्रोत साधनका वावजुद उद्योगलाई जिम्मेवार बनाउने, गुणस्तरीय वस्तु उत्पादन गर्न, नापतौलमा गुणस्तर कायम गरिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?