+
+

पोखराको नीति तथा कार्यक्रम आज, केन्द्रमा पर्यटन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ९:००

८ असार, पोखरा । पर्यटनलाई केन्द्रमा राखेर प्रमुख समस्याको सम्बोधन र समाधान खोज्ने गरी पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्दैछन् ।

मुख्यरुपमा घोषणापत्रलाई नै आधार बनाएर पर्यटनलाई केन्द्रमा राखेर कृषि, स्वाथ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले जानकारी दिए ।

पोखराका विद्यमान ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने आचार्यको भनाइ छ । ‘यो वर्ष प्राथमिकता पर्यटनलाई दिएका छौं । पोखराको लाइफलाइन भनेको पर्यटन नै हो । पर्यटनको विकास गर्दा सबैको विकास हुन्छ भन्ने मान्यता हो,’ आचार्यले भने, ‘रोकिएका धेरै कामहरुलाई निरन्तरता पनि दिनुपर्ने छ । नीतिगत हिसाबले पोखरेली जनताको जीवन यापनलाई कसरी सुलभ बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने छौं ।’

पोखरा महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ ।

पोखरालाई व्यवस्थित बनाउनेतिर पनि नीति तथा कार्यक्रम केन्द्रित हुने आचार्यले बताए । पोखरा भन्नेबित्तिकै चिनिने लेकसाइडसम्मको सडकको सौन्दर्यीकरणको विषय पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको उनले जानकारी दिए । ‘पर्यटन स्थल, सम्पदाहरुलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको वहुवर्षीय योजनाहरु प्नि छन्,’ मेयर आचार्यले भने, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने कार्यक्रम धेरै छन् ।’

धेरै आलोचित बनेको पोखराको सडकमै पार्किङ गर्ने विषयलाई यो नीति तथा कार्यक्रमले व्यवस्थित र विकल्प खोज्ने आचार्यको भनाइ छ । कतिपय बढी आलोचना भएका विषयहरुको म्याद सकिएपछि अर्को नवीकरण नगर्ने नीति महानगरले ल्याउन लागेको छ । ‘जनसरोकार तथा पोखरेलीको दैनिकीसँग जोडिएको विषयलाई कसरी सहुलियत दिन सकिन्छ भन्नेमै हामी केन्द्रित हुने छौं,’ मेयर आचार्यले भने । नीति तथा कार्यक्रम निर्माण गर्न कम्तिमा ३५ दिन लाग्ने भए पनि आफूहरुले ९ दिनमा तयार पार्नु परेको मेयर आचार्यको भनाइ छ ।

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । पोखराको बजेट १० गते पोखरा सभागृहमै प्रस्तुत हुँदैछ ।

गहन छलफल गर्नुपर्ने र ठूलो ठाउँ नहुँदा रिसोर्टमा बैठक : आचार्य

पोखरा महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ । महानगरको आफ्नो हल हुँदा हुँदै रिसोर्टमा कार्यपालिका बैठक बस्नुपर्ने आफूहरुको बाध्यता भएको मेयर आचार्यले स्पष्टीकरण दिएका छन् । पोखरा महानगरभित्र सेवाग्राहीको चाप, छोटो समयमा रातभर नसुतेरै पनि गृहकार्य गर्नुपर्ने भएकाले रिसोर्टमा बैठक राख्नुपरेको मेयर आचार्यको भनाइ छ ।

पोखरा महानगरको आफ्नै सभाहल हुँदा हुँदै रिसोर्टमा कार्यपालिका बैठक राखिएको समाचार बाहिएरसँगै आलोचना बढेको थियो ।

१८ घन्टासम्म आफूहरुले गृहकार्य गर्नुपर्ने भएकाले रहरभन्दा पनि गहन छलफल र उत्कृष्ट कार्यक्रम बनाउन गरिएको बैठकका रुपमा बुझिदिन आचार्यले आग्रह गरे । ‘वैशाख १५ बाट बजेटको निर्माण प्रक्रिया सुरु हुन्थ्यो र असार १० गते सकिन्थ्यो । हामीले बजेट निर्माणका लागि सबै समिति गठन गर्नुपर्ने र समितिमा मिहीन छलफल गर्नुपर्ने भएकाले छोटो समयमा लगातार बैठक बस्नुप¥यो,’ मेयर आचार्यले भने, ‘हामी रिसोर्टमा बसेका होइनौं । रातिसम्म छलफल गरेर नीति तथा कार्यक्रम पारित गरेर निस्किएका हौं । ५ बजेपछि पालिकाभित्रै सबै कर्मचारी राखेर बैठक नराखौं, एकान्त र उपयुक्त ठाउँ खोजौं भनेका हौं ।’

कतिपय योजनाका कारण कार्यालयमा बैठक बस्दा धेरै नै दबाब हुने मेयर आचार्यको भनाइ थियो । ‘एक ढंगले गोप्य बैठक गरेका हौं । अन्य सरकारी ठाउँको पनि खोजी गरेका हौं, विकल्प नपाएपछि रिसोर्टमा बैठक राखेका हौं,’ मेयर आचार्यले भने, ‘रातभर काम गर्दा खाना खान पनि कता जाने भनेर एकान्त होटलमा गएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?