+
+

शिक्षकको परीक्षाका कारण कतै स्कुल विदा, कतै विद्यार्थीले पढाउँदै

नुनुता राई नुनुता राई
२०७९ असार ८ गते २०:२८
बाँसगढी नगरपालिका– ८,को रामजानकी माविमा कक्षा लिँदै एक पूर्वविद्यार्थी ।

८ असार, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका– ८, भैसासुरको राम जानकी माविका ६ जना शिक्षक शिक्षक सेवा आयोगको परीक्षा तयारीमा छन् । शिक्षक परीक्षाको तयारीमा रहँदा पढाइ प्रभावित हुन नदिन विद्यालयले पूर्वविद्यार्थीको सहयोग लिएको छ ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले शिक्षकलाई परीक्षा तयारी विदा दिँदा भर्खरै एसईई दिएर बसेका विद्यार्थी र अरु पूर्वविद्यार्थीको सहयोग मागेर पठन पाठन गराइरहेको बताए ।

‘विद्यालयले उहाँहरुको पेशागत हकहितको लागि विदा नदिने भन्ने हुँदैन । तर, पढाइ त प्रभावित हुने भयो’, उनले भने, ‘शिक्षकले आफ्नो परीक्षाको तयारी गरिरहँदा बालबालिकाको पढाइ प्रभावित हुन नदिन हामीले हाम्रा पूर्व विद्यार्थीहरुलाई स्वयंसेवा गर्न अनुरोध गर्‍यौं ।’

पूर्व विद्यार्थीले लिएको कक्षा प्रभावकारी भइरहेको उनी बताउँछन् । ‘कतिपय विद्यार्थीहरुले नबुझेको कुरा शिक्षकलाई सोध्न अप्ठ्यारो मान्दा रहेछन् तर अहिले दाइ दिदीहरुले पढाएको कुरा सोध्न पनि सजिलो र बुझ्ने गरेको पनि बताइरहेका छन्’ प्रधानाध्यापक शर्माले बताए ।

अहिले दैनिक ५–७ जना पूर्वविद्यार्थीले कक्षा लिइरहेका सहायक प्रधानाध्यापक खगेन्द्र चन्दले बताए । शिक्षक सेवा आयोगले विभिन्न तहको तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षा बिहीबार (भोलि) देखि लिँदैछ ।

परीक्षामा शिक्षकहरु सहभागी हुन जाँदा कक्षा व्यवस्थापन गर्न समस्या देखिएकोले कतिपय विद्यालय विदा नै दिनुपरेको पालिकाहरुले बताएका छन् । आयोगले असार ९ गते माध्यामिक तहको, ११ गते निम्न माध्यामिक तहको र १३ गते प्राथमिक तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मक विषयगत परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र तोकेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा शिक्षक परीक्षा दिन जाँदा पठनपाठन व्यवस्थापन गर्न नसकेपछि केही विद्यालयहरुले विदा दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीनबहादुर धामीले बताए । उनले भने, ‘केही विद्यालयहरुले विदा दिएको भन्ने सुन्नमा आएको छ । आफैं मिलाउलान् ।’

पाल्पाको तानसेन नगरपालिकाले उपलब्ध शिक्षकबाटै पठन पाठन सञ्चालन गरिरहेको बताएको छ । शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले शिक्षक सेवा आयोगले परीक्षा केन्द्र प्रदेशगत बनाउँदा बालबालिका प्रभावित भएको बताए । ‘प्रदेशगत परीक्षा केन्द्र बनाउँदा एउटा शिक्षक परीक्षामा सहभागी हुन जाँदा तीनदेखि सातदिनसम्म बालबालिकाको पढाइमा प्रभाव पर्ने अवस्था छ’ उनले भने ।

एकै जना शिक्षकले मावि, निमावि र प्रावि तहसम्म पनि परीक्षा दिनुपर्ने हुँदा त्यस्ता शिक्षकलाई एक हप्ता भन्दा बढी विदा दिनुपर्ने विद्यालयहरुले बताएका छन् । भोजपुर नगरपालिकाले पनि परीक्षा दिन जाने शिक्षकको कारण पठनपाठनमा प्रभाव पर्न नदिन विद्यालयलाई निर्देशन दिएको छ ।

असार १० गतेदेखि वर्षे विदा दिने भएकोले निमावि, प्रावि तहको शिक्षकको परीक्षामा प्रभाव नपर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले बताए । उनले भने ‘भोलि हुने मावि तहको परीक्षामा सहभागी शिक्षक कम्ती मात्रै छन् । विद्यालयले व्यवस्थापन गर्न सक्ने अवस्था छ ।’

आयोगले १७ हजार ४४७ रिक्त दरबन्दीको लागि मावि, निमावि, प्रावि तहको गत चैत १५, १७ र १९ गते क्रमश सामान्य परीक्षा लिएको थियो ।

जसमा माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि गत चैत १५ गते लिएको परीक्षामा सहभागी ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका थिए ।

निमावि तहको १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ७६ हजार ८०६ सहभागी परीक्षार्थीमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको परीक्षामा १ लाख २ हजार ६५८ सहभागीमध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?