+
+
एमालेबाट विद्रोह गरेर गाउँपालिका अध्यक्ष जितेका जोशी :

‘देशव्यापी रुपमा स्वतन्त्र अभियन्ता जोड्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते ८:१०

९ असार, धनगढी । बैतडीको डिलासैनीमा २०४३ सालमा जन्मेका सन्तोष प्रकाश जोशी १६ वर्षदेखि एमालेमा थिए । तर उनले स्थानीय तह चुनावअघि एमाले छाडे र डिलासैनीमा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिए । उनले प्यानल बनाएर गाउँपालिकाका ७ मध्ये ५ वटा वडामा अध्यक्षदेखि सदस्यसम्म पनि उम्मेदवार उठाएका थिए । जसमध्ये ३ वटा वडामा वडाध्यक्षसहित सदस्यहरु पनि उनकै प्यानलबाट विजयी भए ।

पार्टीका सबै जिम्मेवारीबाट अलग भएर प्यानलसहित डिलासैनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका र चुनाव जितेका जोशीसँग अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानीको सम्पादित अंश :

डिलासैनीको अध्यक्षमा निर्वाचित भइसकेपछि कसरी काम गर्दै हुनुहुन्छ ?

हामी विद्युतीकरणबाट डिलासैनी गाउँपालिकाको समृद्धिको यात्रा तय गर्दैछौं । जनश्रमदान महाअभियानबाट बनेको गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई स्तरोन्नती गरेर सुरक्षित रुपले यातायातका साधन चल्ने वातावरण बनाउने कार्य प्रारम्भ भइसकेको छ । ७ मध्ये ४ वटा वडामा इन्टरनेट सेवा विस्तारको काम सकिएको छ भने बाँकीमा जारी छ ।

हामी प्रदेश र संघमा पनि राम्रा मान्छेहरु जो योग्य, अनुभवी र विवादरहित हुनुहुन्छ । पार्टीमा टिकट नपाएर बस्नुभएका मान्छेहरुलाई हामी स्वतन्त्र अभियन्ताहरुलाई जोडेर देशव्यापी रुपमा अघि बढाउन चाहान्छौं ।

सार्वजनिक शिक्षाको सवलीकरणका योजना बनाएर काम गर्दैछौं । १० शय्याको अस्पताल निर्माणका लागि ठेक्का आह्वान गरिसकेको अवस्था छ । हामी नयाँ राजनीतिक संस्कार विकास र स्वतन्त्रताको प्रत्याभूति दिलाउन चाहान्छौं । सोहीअनुसार अहिलेसम्म कार्यपालिका बैठकबाट सर्वसम्मत रुपले निर्णय भएका छन् । शहीद परिवारलाई सम्मान भत्ता वापत मासिक तीन हजार दिने निर्णय गरेका छौं भने द्वन्द्व पीडितलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछौं । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गता पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने कार्य अघि बढेको छ । प्रशासनिक भवन र प्रहरी चौकी निर्माण गर्न जग्गा माग गरेर योजनाबद्ध रुपमा काम गरिरहेका छौं ।

तपाईंले मुख्य प्राथमिकता के–केलाई दिनुहुन्छ ?

सार्वजनिक शिक्षाको सवलीकरण र स्वास्थ्य सेवाको विस्तार नै मुख्य प्राथमिकताका विषय हुनेछन् । ग्रामीण क्षेत्रमा स्थापना गरिएका निजी विद्यालयहरुको तुलनामा सरकारी लगानी भएका विद्यालयमा शिक्षाको गुणस्तर कमजोर कसरी भयो ? त्यसलाई सुधार गर्छौं । स्वास्थ्य क्षेत्रमा हामीले चिकित्सकीय सेवासँगै जनस्वास्थ्यसँग जोडिएका अन्य कुरालाई ध्यानमा राखेर काम गर्छौं । जस्तै बैतडीमा कोभिड महामारीका बेला कोरोना भन्दा पनि आत्महत्याबाट धेरैले मृत्युको बाटो रोजे । हामी आत्महत्या जस्ता घटना न्यूनीकरण गर्न चाहान्छौं, मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न चाहान्छौं । सडक दुर्घटनाको कारणले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा दुर्घटना न्यूनीकरण अभियान चलाउछौं । भयावह बन्दै गइरहेको लागुऔषध दुर्व्यसनी रोक्न अवैध रुपमा औषधि बिक्री गर्ने पसल तथा क्लिनिकलाई नियमन गर्छौं । स्थानीय कला, संस्कृतिको संरक्षण र सम्वर्द्धनलाई ध्यानमा राखेर समविकासको मोडालिटीलाई प्राथमिकता दिन्छौं ।

अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा बेरोजगारी समस्या देखिएको छ । भारत र तेस्रो मुलुकमा काम गर्न जाने युवा पुस्ताको जमात बढ्दो छ । बेरोजगारी समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?

व्यक्तिगत रुपमा म आफैं उद्यमशिलताको क्षेत्रमा आईएलओ सर्टिफाइट प्रशिक्षक पनि हुँ । देशका विभिन्न जिल्लामा उद्यमशिलता सम्बन्धी प्रशिक्षण दिएको अनुभवसमेत छ ।

पूँजी र धितो नभएका कारणले काम गर्न नपाइरहेका युवाहरुलाई वित्तीय सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा आर्थिक अनुशासन कायम गर्न वित्तीय साक्षरताको अभियान अघि बढाउछौं । सबैलाई रोजगारी दिन सहज छैन, तर नयाँ रुपले काम गर्न रुचि राख्ने सीप भएका युवाहरुलाई स्वरोजगार बनाउने काम गर्छौं । उद्यमशिलताको विकास र स्वरोजगार बन्ने कुरा काम मात्र नभएर विशेषता भएकाले एकै पटक भइहाल्छ भन्ने हुँदैन, समय लाग्छ ।

अब विद्यालयलाई शिक्षालयका रुपमा मात्र बुझनु हुँदैन ती शिक्षालयलाई उद्यमशालाका रुपमा विकास गर्नुपर्छ । जस्तै गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा पढ्दै र कमाउँदै कार्यक्रम अन्तरगत त्यहाँका विद्यार्थीले बेमौसमी तरकारी खेतिदेखि बाख्रा पालन, कुखुरा पालन जस्ता विभिन्न उद्यम सञ्चालन गर्नुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । अब हामी सबै विद्यालयहरुमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्न चाहान्छौं, जसले उद्यमशिल हुनुपर्छ भन्ने भावको विकास गर्छ ।

नेकपा एमालेको राजनीतिमा सक्रिय तपाईंले पार्टीबाट राजिनामा दिएर स्वतन्त्र रुपमा लड्नुपर्ने स्थिति कसरी सिर्जना भयो ?

टिकट नपाएको कारण सन्तोष जोशीको उम्मेदवारी स्वतन्त्र होइन । बालेन शाह, गोपी हमाल दाइहरु जस्तो एकल रुपमा उठेको अवस्था पनि होइन । डिलासैनी गाउँपालिकामा प्यानलसहित स्वतन्त्र उम्मेदवारी थियो । नतिजामा पनि नेपाल भरिमै चुनाव जित्ने स्वतन्त्र प्यानल पनि डिलासैनीकै हो ।

२०७४ को निर्वाचनमा दुई तिहाइ बहुमतसहितको कार्यपालिका वा गाउँसभा चलाइरहेको नेकपा एमाले आज ७ जनामा सीमित भएको छ । माओवादी केन्द्र शून्य भएको छ भने नेपाली कांग्रेस दोस्रो शक्ति भएको छ । हामी सबभन्दा ठूलो शक्तिका रुपमा छौं । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनतावादबाट हामी विमुख भएनौं वा ती राजनीतिक दर्शन भन्दा अर्को कुनै दर्शन उचित हो भनेर पार्टी संगठन छाडेको अवस्था होइन ।

यो भन्दै गर्दा राष्ट्रियता, लोकतन्त्र, समाजवाद भन्दा उत्तम अर्को कुनै हो भनेर भन्न खोजेको होइन । तर विषय के भयो भन्दा हामी कम्युनिष्ट हो भने लेनिनवादी संरचनामा पार्टी कमिटी चल्नुपर्यो नि । मार्क्सवाद, जनताको बहुदलीय जनवादको भाषण गर्ने मात्र नभएर व्यवहारिक पक्ष पनि अंगाल्नुपर्यो नि । कि नेकपा एमालेले फरक विचार राख्ने साथीलाई ठाउँ दिनु हुँदैन, निष्काशन गर्नुपर्छ भनेको छ र ? पार्टीको नियमित बैठकभित्र अल्पमत र बहुमतले पेलौं भन्ने सहभागी नै हुन नपाउने ?

डिलासैनीमा लामो समयदेखि यी पद्धती र कुराहरु देखिएपछि हामीले त्यसको विरोधमा विद्रोहको आवाज उठाएका हौं । जनताको विकासको सपनालाई बुलन्द गर्न खोजेका हौं, टिकट नपाएर होइन । पार्टीभित्रको बेथिति, विकृति, माथिबाट टीका लगाएकै भरमा टोलदेखि जिल्ला कमिटीसम्म सबै ‘बा’ बन्ने प्रवृत्तिको विरुद्ध उभिएको अवस्था हो ।

एमालेकै राजनीतिमा फर्किने सम्भावना कत्तिको छ ?

त्यो विषयमा हामी छलफलमा छौं । माओवादी केन्द्रसँग पनि सामानान्तर रुपमा कुराकानी भइरहेको छ । नेपाली कांग्रेससँग पनि वार्ता सम्वादलाई अघि बढाइरहेका छौं । राप्रपाको पनि सुदूरपश्चिममा राम्रो गढ भएको सबैलाई थाहा छ । हामी अखण्ड सुदूरपश्चिम आन्दोलनको पनि अभियन्ता हौं, तर अहिले स्वतन्त्रको भूमिकामा छौं ।

डिलासैनी मात्र होइन धनगढीमा गोपाल हमाल, काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङले स्वतन्त्र रुपमा चुनाव जित्नुभएको छ । डिलासैनीको सन्दर्भमा वडामा पनि हामीले स्वतन्त्रलाई निर्वाचित गराएका छौं । जिल्ला समन्वय समितिमा पनि स्वतन्त्रको उपस्थिति छ । त्यसकारणले हामी प्रदेश र संघमा पनि राम्रा मान्छेहरु जो योग्य, अनुभवी र विवादरहित हुनुहुन्छ । पार्टीमा टिकट नपाएर बस्नुभएका मान्छेहरुलाई हामी स्वतन्त्र अभियन्ताहरुलाई जोडेर देशव्यापी रुपमा अघि बढाउन चाहान्छौं । त्यसमा विभिन्न राजनीतिक विचार बोक्ने जो सुकै पनि संलग्न हुन सक्छन् ।

जहाँसम्म तपाईंले सोध्नुभएको प्रश्न छ । राजनीति सम्भावनाको खेल हो । मैले जुन पार्टीमा आफ्नो जीवनको दुई दशक खेर फालें त्यो पार्टीको नेतृत्वको उदासिनता, नैरश्यता र ‘बा’ प्रवृत्तिले तत्कालै फर्केर जोडिने अवस्था छैन । त्यो म्याण्डेड पनि मलाई छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?