+
+

धड्कन सुन्दै मृत्यु पर्खनेहरूको नाममा

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ असार ९ गते १२:००

मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बलेरोले लापरवाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो ।

टाइगरका धेरै सुबानी अतीत छन् । मन भक्कानिन्छ टाइगर र उसको सुबानी स्वभावलाई सम्झँदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका दर्पणमा उज्यालिन्छ ।

टाइगरको सम्झना यो पटक काजलकली (चितवनको सौराहामा मृत्यु कुरिरहेको एक पोथी हात्ती) सँग जोडिएको छ । किनभने टाइगरलाई मैले सौराहाबाटै ल्याएको हो । त्यसैले सौराहाको हरेक प्रसंगमा पहिले म मेरो टाइगरलाई सम्झन्छु ।  काजलकलीको तस्वीरले साँच्चै डाँको छोडेर रुन मन लागेको छ ।

ख्याउटे शरीरमा चोटै चोट । हिलोमा लम्पसार शरीर र त्यही शरीरको अग्रभागमा विस्मित आँखा जो बाहिरी ढकनीले छोपिएका छन् । काजलकलीको अवस्था हो यो । मानिसहरू उनको धड्कन सुन्दै मृत्यु पर्खिरहेका छन् रे ! ओहो ! कति निर्दयी छ यो दुनियाँ, धड्कन सुन्दै मृत्यु पर्खिरहने !

केही महिना अघिसम्म उनले मानिसलाई आफ्नो पिठ्युँमा बोकेर सौराहाको जंगलहरूमा सयर गराइन् । दुई पटक बिरामी भएर ढलेको काजलकलीले आफू बिरामी भएको भनेर आराम खोजिनन् । औषधि सेवन गरेरै भए पनि पर्यटकलाई सयर गराइन् । आफ्नो मालिकको सेवा गरिन् । तर खै त मालिकको संवेदना ! के काम गरुन्जेलसम्मको मात्र माया थियो त काजलकलीलाई !

काजलकलीको बुढ्यौली आँखाबाट अहिले मालिकलाई गरेको सेवा सम्झिएर विस्मातको आँशु झरिरहेको छ । यो उनीप्रतिको न्याय हुँदै होइन ।

लामो समय बिरामी परेको काजलकलीलाई औषधि खुवाएर फेरि अपरिचितको काँध थाप्ने काममा दल्नु उचित थियो ! उनको अवस्थाको रेखदेख, पोषिलो खानेकुराको व्यवस्था, आराम जस्ता विषयमा किन ध्यान जाँदैन मालिकहरूको !

म सम्झन्छु हात्तीको सौन्दर्य । नदीमा पुगेर हात्तीले पानीको फोहोरा मानिसको शरीरभरि छरिदिंदा त्यसले दिने आनन्द कति हो कति ! सूँड उठाएर हात्तीले अभिवादन गर्दा पर्यटकहरू नतमस्तक हुने दृश्य पनि सौराहामा प्रशस्तै देखिन्छन् । हात्तीको यो चञ्चलता र सौन्दर्यले पनि धेरै पर्यटक तानेको छ सौराहामा । सौराहाका पर्यटन व्यवसायीको सम्पत्ति हैन र हात्ती ! फेरि किन अपरिचित छन् सौराहाका व्यवसायी काजलकलीहरूको लागि !

मैले काजलकलीलाई देखिनँ । उनको काम, चञ्चलता, सुन्दरता, संयम, उत्साह र जाँगर पनि देखिनँ । तर उनको इमानदारी महसुस गरिरहेको छु । अनलाइन र अखबारका शब्दहरू रटिरहँदा मेरा आँखा अगाडि काजलकलीको कालजयी यात्रा झल्झली नाँचिरहेको छ ।

पिठ्युँमा स्वदेशी तथा विदेशी पर्यटकलाई बोकेर काजलकलीले राप्ती पारिको यात्रा तय गरिरहँदा उनको शरीरले कति आराम खोजेको थियो होला ! पर पर जंगलमा उछलकुद गर्ने विभिन्न जातका पशुपक्षी हेरेर आफ्नो पिठ्युँमा उफ्रिरहेका पाहुनाको खुसीमा काजलकलीले आफ्नो थकान भुलेको कुरा त सत्य हो नि ! के हामीले कहिल्यै सुन्यौं या पढ्यौं कि काजलकलीले हिंड्दा हिंड्दै पर्यटकलाई लडाइदिइन् । काजलकली हिंड्दा हिंड्दै बसिदिइन र पर्यटक अलपत्र परे । अहँ उनले यस्तो कहिल्यै गरिनन् । शरीरमा अलिकतिसम्म मात्र पनि ताकत हुँदा सौराहामा आएका पर्यटकलाई पिठ्युँमा बोकेर राप्ती पारिको जंगलमा सयर गराइरहिन् । पर्यटकको खुसीमा आफूलाई समर्पित गरेर आफ्नो मालिकको सेवा गरिरहिन् ।

चिरञ्जीवी मास्के

अहिले हेर्नुस् त काजलकलीले पाएको उपहार । शरीरको विभिन्न ठाउँमा चोटपटक अनि हिलाम्य जमिनमा मूढो ज्यान । किन यति संवेदनाहीन बनेको छ समाज । के सबै कुरा पैसाले नै निर्धारण गर्ने हो ! अन्तिम क्षणसम्म श्रमको उपयोग गर्ने अनि मृत्युको सन्निकट अलपत्र छोडिदिने !

खबरमा उनको उपचारको कुरा पनि लेखिएको छ तर त्यो पर्याप्त छैन । कमसेकम उनले मृत्यु कुरिरहँदा सहजता त महसुस गर्न सकुन् । ८० हैन अझ बढी स्लाइन चढाऔं तर काजलकलीले सहज मृत्यु पाउनै पर्छ ।

काजलकलीको बुढ्यौली आँखाबाट अहिले मालिकलाई गरेको सेवा सम्झिएर विस्मातको आँशु झरिरहेको छ । यो उनीप्रतिको न्याय हुँदै होइन ।

मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । तर मृत्यु हरेकको सहज हुनुपर्छ ।

त्यही सहजता प्राप्त गर्ने अधिकार काजलकलीलाई पनि छ । कमसेकम उनको बुढ्यौली आँखा झिमिक्क गर्दा स्मृतिमा पर्यटकको उछलकुद र उत्साह नाँचिरहोस् न ! त्यो क्षण सम्झेर उनले खुसी महसुस गर्न सकुन् न ! अनि उनको आँखाबाट बगेका हरेक थोपा आँशु आफ्नो मालिकको लागि समर्पित होस् न ! मालिकले दिएको खुसी, गरेको सेवाको लागि समर्पित होस् न !

कानुनतः हात्ती सङ्कटापन्न वन्यजन्तुमा पर्दछ । हात्तीको तथ्याङ्क राख्ने र संरक्षण गर्ने दायित्व सरकारको पनि हो । अनलाइन र अखबारमा काजलकलीको बारेमा पीडादायी समाचार आइरहँदा सरकारको ध्यान कता गएको छ ? के सरकारले काजलकलीको मालिकको खोजी गरेर उसलाई कानुनी दायरामा ल्याउनु पर्दैन ? काजलकलीलाई उपयुक्त स्थानमा लगेर पर्याप्त उपचार सेवा र खानपानको व्यवस्था गर्नु पर्दैन ?

अनि पशु अधिकारकर्मीहरू ! उनीहरूको ध्यान किन जान सकेको छैन काजलकलीको मूढो शरीरतिर । काजलकलीको लागि उपयुक्त वासस्थानको व्यवस्थापन गरेर उचित र आवश्यक खानपान तथा उपचारको लागि पशु अधिकारकर्मीहरूले किन पहल नगरेको होला !

मलाई विस्मात लागिरहेको छ त्यस्ता मालिकदेखि जसले श्रमको उपयोग त भरपुर गर्छ तर बुढ्यौली समयमा सेवा गर्दैन । अनि त्यस्ता सरकारदेखि जसले पशु अधिकारका लागि ऐन–कानुन निर्माण गर्छ, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूमा दस्तखत गर्छ तर त्यसको कार्यान्वयन र रक्षाको लागि पहल तथा सक्रियता देखाउँदैन ।

मलाई थाहा छैन यो लेख प्रकाशित हुँदासम्म काजलकलीको अवस्था के हुने हो । उनको धड्कन सुन्दै मृत्यु कुरिरहनेहरूको मुटुको धड्कन कस्तो हुने हो । तर मलाई यति थाहा छ, यो दुनियाँ संवेदनाहीन छ । पशुपक्षी र जीवजन्तुहरूप्रति त अझ बढी संवेदनाहीन छ ।

काजलकलीको पीडामा नचिमोटिएका मनहरू कति कठोर छन् । हिलोमा लडेको उनको मूढो शरीर देखेर अन्जान बन्ने मानवता कति विचलित छन् । अनि ५–६ वर्षसम्म काजलकलीको श्रम उपयोग गरेर तर्किरहेको कथित मालिकको मानसिकता कति स्खलित छ । भनौं भने हाम्रो समाज, यो दुनियाँ कति मतलबी छ ।

म आफैं पनि शुद्ध छैन । प्रसंग टाइगरकै, १३ वर्षसम्म मेरो साथमा रहेको उसको मृत्युमा मैले दुईथोपा आँशु खसाल्ने र उसको मृत शरीरलाई करेसाबारीमा विसर्जन गरेर एउटा बिरुवा रोप्ने भन्दा बढी केही गर्न सकिनँ । उसलाई लापरवाहीपूर्वक किचेर मार्ने बलेरो चालकलाई मैले कानुनी दायरामा ल्याउन सकिनँ । यसमा कानुनी अभाव वा घरपालुवा जनावर भएकै कारण मेरो हेलचेक्र्याइँ दुवै जिम्मेवार छ जस्तो लाग्छ । मैले टाइगरलाई कानुनी न्याय दिलाउन आवश्यक पहल नै गर्न सकिनँ । म लाचार छु, विस्मित छु र सायद विवश पनि ।

टाइगर र काजलकली पछिल्लो उदाहरण मात्र हुन् पशु अधिकारको क्षेत्रमा देखिएका लापर्वाहीका । धेरै काजलकली र टाइगरहरूले अहिले पनि न्याय पाएका छैनन् । सौराहामै धेरै काजलकली अहिले पनि मालिकको सेवाको लागि आफ्नो बुढ्यौली र बिरामी शरीरलाई सकी–नसकी पर्यटकको खुसीको लागि समर्पित गरिरहेका छन् । अनि धेरै टाइगर सडकमा अलपत्र, असरल्ल मृत्यु भोगिरहेका छन्, मृत्यु कुरिरहेका छन् ।

सरकारको ध्यान यस्ता कुरामा जानुपर्ने हो कि हैन ? किन जान सकेको छैन सरकारको ध्यान यस्तो विषयमा ? यो अत्यन्त टड्कारो प्राणी संवेदनासँग जोडिएको सवाल हो । जसको जवाफ सरकारले दिनै पर्छ । मानवीयता मरेको छैन भने हरेक मानिसले दिनै पर्छ । र, सभ्य समाजको परिकल्पना गरिरहेका हामी अधिकारकर्मीहरूले पनि दिनै पर्छ ।

काजलकलीहरूको निरीह मृत्यु कुरिरहने हैन उनीहरूको अधिकारको पक्षमा हामी सबैले आवाज उठाउनुपर्छ । किनभने हरेक प्राणीको जीवन अमूल्य हुन्छ । समाजमा उनीहरूको योगदान अमूल्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?