+
+

विश्व च्याम्पियनसिप फाइनलमा पोखरीभित्रै बेहोस भइन् अमेरिकी स्वीमर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १५:०९

९ असार, काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ ।

बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइने ।

तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस पोखरीमा पसेको र पीँधबाट आफ्नी खेलाडीलाई बाहिर ल्याउँदै गरेको अविस्वशनीय दृष्य देखिन्थ्यो । यसका लागि उनलाई पोखरीछेउ उपस्थित एकजना पुरुषले साथ दिएका थिए । त्यतिबेलासम्म लाइफगार्डहरु भने हेरिरहे ।

पोखरीबाट बाहिर निकाल्नेवित्तिकै अल्भारेजको होस खुलेको थियो । उनको तत्काल प्राथमिक उपचार गरिएको थियो । हाल उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ ।

आश्चर्यजनक रुपमा अल्भारेज कुनै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको समयमा पोखरीभित्रै बेहोस भएको यो दोस्रोपल्ट हो । यसअघि सन् २०२१ मा बार्सिलोनामा सम्पन्न ओलम्पिक छनोट प्रतियोगितामा पनि उनी बेहोस भएकी थिइन् । उल्लेखनीय कुरा के छ भने त्यतिबेला पनि पोखरीभित्र छिरेर उनको उद्धार गर्ने उनैै प्रशिक्षक फ्युन्टेस थिइन् ।

‘त्यो निकै डरलाग्दो क्षण थियो । लाइफगार्डहरु हेरिरहेका थिए, त्यसैले म नै जानुप¥यो,’ फ्युन्टेसले भनिन्, ‘उनले स्वास फेरिरहेकी थिइनन् त्यसैले म डराइरहेकी थिएँ । तर, उनी अहिले पूर्ण स्वस्थ भइसकेकी छन् ।’

घटना भइरहँदा पोखरीबाहिर रहेको अमेरिकी टिममा सन्त्रासको वातावरण बनिसकेको थियो । उनीहरु आपसमा सान्त्वना दिँदै गरेको देखिएका थिए भने कोहि रोइरहेका थिए ।

फ्युन्टेसले इन्स्टाग्राममा जारी गरेको सन्देशमा भनिएको छ, ‘अनिता अब ठीक छिन् । चिकित्सकले आवश्यक सबै परीक्षण गरेका छन् र सबैमा सामान्य रिपोर्ट आएको छ । उनको मुटुको धड्कन, अक्सिजन, सुगर स्तर, रक्तचाप सबै ठीक छ । यस्ता ‘हाइ–इन्डोरेन्स’ खेलमा यस्तो घटना बेलाबेला भइरहन्छ । म्यारागथन, साइक्लिङ, क्रसकन्ट्रीजस्ता खेलहरुमा केहि खेलाडीहरुले अन्तिम रेखा पार गर्न नसकेको हामीले देख्दै आएका छौं । हाम्रो यो खेल पनि ती खेलहरुभन्दा फरक छैन । पोखरीभित्र हामीले कहिलेकाहीँ आफ्नो क्षमताभन्दा बढी प्रयास गछौं भने यस्तै परिणाम आउनसक्छ । अनिताले अहिले आराम महशुस गरिरहेकी छन् । चिकित्सकले पनि उनी पूर्ण ठीक भइसकिन् भनेका छन् । भोलि पूरा दिन उनको आरा मगर्नेछन् । त्यसपछि चिकित्सकले तय गर्नेछन् कि उनले फाइनलमा प्रतिस्पर्धा गर्न सक्छिन् कि सक्दिनन् ।’

अनिता पोखरीभित्रै बेहोस भएको यो पहिलो क्षण होइन । २५ वर्षीया अनिता अघिल्लो वर्ष बार्सिलोनामा आयोजित ओलम्पिक छनोटमा पनि यस्तै अवस्थाबाट गुज्रिएकी थिइन् ।

‘दुर्भाग्यवस मैले यसअघि उनलाई यस्तो भएको कहिल्यै देखेको थिइनँ । उनीसँग मात्र होइन कसैलाई पनि यस्तो भएको देखेको थिइनँ,’ अनिताकी आमा केरेनले त्यतिबेला भनेकी थिइन् । सो प्रतियोगितामा अनिता सातौं भएकी थिइन् । यो स्पर्धा जापानकी युकिको इनुईले जितेकी थिइन् ।

अधिकांश सिंक्रोनाइज्ड स्वीमरले एकपटकमा एक मिनेटभन्दा बढी समयसम्म पानीभित्र स्वास रोकेर बस्नुपर्छ । ओलम्पिक पदक विजेता फ्रान क्रिपेनले सन् २०१० मा युएईमा भएको एक ओपन वाटर पौडी प्रतियोगिताका दौरान मृत्युवरण गरेका थिए । लामो दूरीको च्याम्पियन २६ वर्षीय क्रिपेन १० हजार मिटर स्पर्धामा सहभागी थिए ।

प्रतिष्पर्धी खेलाडीले निर्धारित दूरी पूरा गरेपछि मात्र उनी हराएको पत्ता लागेको थियो । तत्कालै उनको खोजी सुरु भयो । प्रतियोगिता सकिएको २ घण्टापछि गोताखोरको समूहले उनको अब ४५७ मिटर गहिरो समुद्रको पीँधमा फेला पारेको थियो ।

त्यतिबेला उनको निधन हृदयसम्बन्धी असामान्यताका कारण भएको पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?