+
+

आकाशमा अनुपम दृश्य : ५ ग्रह र चन्द्रमा एउटै लहरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ५:३०
सांकेतिक फोटो

१० असार, काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।

मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविद्हरुले जनाएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान करिब साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनि, बृृहस्पति, मंगल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको जानकारी दिए । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मंगल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिन्छ ।

‘यी ग्रहहरुको अनुपम दृश्य नांगो आँखाले नै देखिन्छ, टेलिस्कोप वा अरु कुनै विशेष उपकरण चाहिंदैन’ भट्टराईले भने । दूरबिनको सहायताले हेर्दा शनि ग्रहको बाहिरको घेरा पनि देखिने उनको भनाइ छ । खगोलशास्त्रबारे जान्न र बुझ्न चाहनेहरुका लागि यो राम्रो अवसर भएको पनि भट्टराईले बताए ।

१८ वर्ष पहिले देखिएको थियो यस्तै दृश्य

आज बिहान सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मंगल ग्रह देखा परेका थिए । सूर्योदय अघि शुक्र र सूर्योदयसँगै बुध ग्रह देखिएका थिए । शुक्र र बुध ग्रहको बीचमा रातो रंगको रोहिणी तारा थियो । रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एक हो ।

यी ग्रहहरू एउटै लहरमा १८ वर्षअघि अर्थात् सन् २००४ को डिसेम्बरमा देखिएका थिए । अब यी ग्रहहरु सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ ।

सौर्यमण्डलमा रहेका ग्रहहरू सबैले आफ्नै कक्षमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् ।

ज्योतिषीहरुले ग्रहहरु एउटै लहरमा आएको अवस्थालाई शुभ संकेतको रुपमा लिने गरिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?