 
																						१० असार, काठमाडौं । सरकारबाट फर्किन आनाकानीसहित अध्यक्ष माधवकुमार नेपाललाई पार्टीका मन्त्रीहरुले ध्यानाकर्षण पत्र नै बुझाएपछि गर्मराएको माहोलबीच शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्यो ।
यद्यपि बैठको मुख्य एजेन्डा भने स्थानीय चुनावको समीक्षा गर्ने र त्यसका आधारमा आगामी कार्ययोजना तय गर्ने थियो । शनिबारदेखि केन्द्रीय कमिटी र त्यसपछि संघीय परिषद बैठक बस्नु पर्ने भएकाले औपचारिकताका लागि पनि पोलिटब्युरो बैठक बस्नुपर्थ्यो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपाले यसअघि सचिवालय र स्थायी कमिटी बैठकमा पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा राजनीतिक प्रतिवेदन पनि थपेर प्रस्तुत गरेका थिए ।
बैठक मुलतः चुनावी समीक्षा र अध्यक्ष नेपालको प्रतिवेदनमा केन्द्रित हुनुपर्ने हो, तर मन्त्री हेरफेरले निम्त्याएको गञ्जागोलपूर्ण विषयमा प्रवेश नगरी सुखै भएन ।
प्रतिवेदनमाथि बोल्ने धेरै सदस्यले मन्त्री हेरफेरको विषय कार्यान्वयन नभएको विषयमा कुरा उठाएपछि अध्यक्ष नेपालले जवाफ दिनु परेको थियो । प्रचार विभाग प्रमुख जग्गनाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले यस सम्बन्धमा मुख्यगरि तीनवटा कुरा बताएका थिए ।
आज भोलिभित्रमा पार्टी निर्णय कार्यान्वयन हुने, मन्त्रीहरु पनि पार्टी निर्णय कार्यान्वयनमा लाग्नु पर्ने र मन्त्रीहरुले बुझाएको ८ बुँदे ध्यानाकर्षणमा उठाएका विषय सम्बोधन गर्न यसअघि गरिसकेको निर्णय अहिले परिवर्तन गर्न नसकिने विषय उनले स्पष्ट रुपमा रोखेका थिए ।
‘मन्त्रीहरुका सन्दर्भमा उठेका प्रश्नहरुमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने,’ अध्यक्ष नेपालको भनाइबारे खतिवडाले संवाददाताहरुसँग भने, ‘आज, भोलि भित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रीय कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरुको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ ।’
उनले अगाडि भने, ‘तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रीय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौं भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरु कार्यान्वयन गर्न आफैं लाग्नुहोस् भनेर मन्त्रीहरुलाई सम्झाउनुभएको छ ।’ केन्द्रीय कमिटीको बैठक शनिबार बिहान ११ बजेदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दै छ ।
पोलिटब्युरो सदस्य दिलु पन्तका अनुसार फिर्ता बोलाइएका मन्त्रीहरुमध्ये आजको बैठकमा पर्यटनमन्त्री प्रेम आले मात्रै बोलेका थिए । उनले बैठकमा आफू पार्टी निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको भन्दै ४८ घण्टाभित्रमा राजीनामा दिने घोषणा बैठकमा गरेका थिए । ‘म पनि पार्टीको इमान्दार सिपाही हो,’ आलेको भनाइ थियो, ‘म पार्टी निर्णय कार्यान्वयन गर्ने पक्षमै छु । अबको ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’
वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पार्टी राजेन्द्र पाण्डेको भने भोलि साँझसम्म मन्त्रीहरु फिर्ता भइसक्ने दावी छ । ‘फेरबदल हुने–नहुने भोलि बेलुकासम्म थाहा हुन्छ,’ पार्टी कार्यालयमा संवाददाताहरुसँग उनले भने, ‘यी साथीहरू जान्छन् । नयाँ साथीहरू आउँछन् ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4