+
+

बहुदरमाई नगरपालिकाको भंगी साह उच्च माविमा विद्यार्थीद्वारा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १४:२३

१२ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित भंगी साह उच्च माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएपछि कक्षा ९ र १० का विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा टाँसेका छन् ।

मावि तहमा दिनको ७ घण्टी पढाइ हुन्छ । कक्षा ९ र १० मा गरेर १४ घण्टी पढाउनुपर्ने हुन्छ । तर प्रधानाध्यापक सहित मावि तहमा जम्मा ४ जना मात्र शिक्षक छन् । प्रधानाध्यापक कामले बाहिर जाँदा होस वा एउटा शिक्षक विदामा बस्ने वित्तिकै पठन पाठनमा समस्या हुने गरेको विद्यार्थीहरु बताउँछन् ।

शिक्षक पदपूर्ति गर्न ७ दिनको अल्टिमेट दिँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको कक्षा १० का विद्यार्थी निरज ठाकुरले बताए । विद्यालयमा सामाजिक, स्वास्थ्य, अंग्रेजी, गणित, अर्थशास्त्रका शिक्षक नभएको उनले बताए ।

नगरपालिका र वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि विद्यालयको समस्याप्रति ध्यान नदिएको गुनासो विद्यार्थीको छ ।

विद्यालयले दिएको जानकारी अनुसार एक जना शिक्षक शिक्षक सेवा आयोगद्वारा लिने प्रावि र निमावि तहको परीक्षाका लागि गएका छन् । त्यसैले केहिदिन यता विद्यार्थीको पढाइ प्रभावित छ ।

प्रधानाध्यापक सुधाकर उपाध्यायले आफूले मात्रै विद्यार्थीले झेल्दै आएको समस्याको समाधान गर्न नसक्ने बताए । ‘आवश्यक शिक्षक नहुँदा समस्या उत्पन्न भएको हो, मावि तहमा म समेत ४ जना शिक्षक छौं । चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छौं । कुनै शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ’, उनले भने, ‘भएको एक जना शिक्षकलाई पनि नगरपालिकाले अन्यत्रै पठाइदियो । समस्या समाधानका लागि नगरपालिकासँग थप शिक्षक माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?