+
+

शाहरुख खान बलिउडका अन्तिम सुपरस्टार !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १६:३३

अभिनेता शाहरुख खानको शनिबार बलिउडमा ३० वर्ष पूरा भएको छ । सन् १९९२ मा फिल्म ‘दिवाना’बाट करिअर थालेका शाहरुख ‘बाजिगर’ र ‘डर’पछि बक्स अफिसमा लगातार सफल रहे । केही वर्षमै उनी हिन्दी फिल्मका निर्विवाद सुपरस्टार बने ।

त्यसको एक दशकपछि शाहरुख खानले छुने प्रत्येक धातु सुनमा परिणत हुन थाले । किनभने प्रत्येक हिट फिल्मले उनलाई बक्स अफिसका राजामा स्थापित गर्‍यो र उनले पृथक मानक खडा गरे ।

तर पछिल्लो दशकमा उनका फिल्म हिट हुन छाडेका छन् । एक किसिमले यो उनको असफलताको सुरुवात हो । तर उनले माथिबाट सिर्जना गरेको शून्यतालार्ई फिल्म उद्योगले भर्न सकेको छैन, जुन बलिउडको गल्ती हो ।

बलिउडको राजाको रुपमा शाहरुखको राज चाहिं सन् १९९० देखि २००० सम्म चल्यो । अमिताभ बच्चनको राज सकिएको केही वर्षमै शाहरुखको सुपरस्टारडमको थालनी भयो । अमिताभले त्यो साख पनि राजेश खन्नाबाटै खोसेका थिए ।

बलिउडमा नम्बर वान नायक को थियो भनेर जो कसैले सन् १९४९ अर्थात् दिलिपकुमारसम्मको समयमा जानकारी पाउन सक्छ । त्यसयता हिन्दी फिल्ममा कुनै सुस्पष्ट सुपरस्टार नभएको १० वर्षभन्दा लामो समय भएको छ ।

अक्षयकुमारदेखि रणवीर कपुरसम्म र सलमान खानदेखि आमिर खानसम्मले बलिउडमा कुनै न कुनै कोणबाट सफलताको स्वाद चाखेका छन् । तर कोहीले पनि लामो समय सफलतालाई निरन्तरता दिन सकेनन् ।

आमिर पर्याप्त सफल हुन सकेनन् भने अक्षय र सलमानका कैयौं फिल्म असफलताको सिकार बने । रणवीरले पनि सुपरस्टारलाई चाहिने सफलताको सुनिश्चितता प्रदान गर्न सकेका छैनन् ।

हिन्दी फिल्मको अहिलेको परिदृश्य भनेको हिन्दी सिनेमामा अर्को सुपरस्टार अब कहिल्यै हुनेछैनन् । यो यथास्थिति निरन्तर रहिरह्यो भने दर्शकले अहिलेका कलाकारबीच म्युजिकल चियर त देख्नेछन्, तर त्यहाँ कुनै सुपरस्टार हुनेछैनन् ।

सामाजिक सञ्जालको फैलावटले स्टारलाई फ्यानको नजिक ल्यायो । उनीहरु लाइभ च्याटमा प्रशंसकसँग अन्तरक्रिया गर्छन् र इन्स्टाग्राममा कथा पुनः पोस्ट गर्छन् जसले दर्शकलाई पहिलेभन्दा धेरै स्टारसँग जोडिएको महसुस गराउँछ ।

 तर यसले केही स्टारलाई उनीहरु जस्तो छन् त्यसरी प्रस्तुत गरेको छैन, बरु उनीहरुको बजारीकरण कसरी गरिएको छ भनेर देखाउँछ ।

शाहरुख बक्स अफिस सफलताभन्दा बाहिर जनतालाई मनपर्ने कुरा के थियो भनेर पनि वास्तविक देखिन्थे । उनी ब्वाइ नेक्स्ट डोर शैलीका स्टार थिए जो अहिले पनि नम्र, इमान्दार र प्रफुल्लित देखिन्छन् । उनी पारिवारिक मान्छेको रुपमा देखापरे, जसलाई कुनै प्रचारको आवश्यकता परेन ।

तर त्यसपछि सामाजिक सञ्जालले शाहरुख खानको जीवनमा प्रतिक्रिया र थकान ल्याएका छन् । आजका स्टारहरु सधैं सक्रिय, सधैं वरपर, दैनिक र हप्तैपिच्छे सार्वजनिक नजरमा रहन्छन् । फ्यानहरुलाई उनीहरुको मनपर्ने चकलेटदेखि लिएर कोठामा रहेको बेडसिटको रङसम्म थाहा हुन्छ । त्यसका लागि उनीहरुले फिल्मफेयरदेखि डेबोनेयरको अर्को संस्करणसम्म कुर्नु पर्दैन । तिनीहरुको पछाडिको रहस्य हट्यो । अहिले स्टारहरु सबैको पहुँचमा छन् ।

सामाजिक सञ्जालको हल्लाबाट बचेको एउटा मात्र ठाउँ दक्षिण भारतीय फिल्म हो । साउथ इण्डियाका चार ठूला फिल्म उद्योग तेलुगू, तमिल, कन्नड र मलायालममा अझै पनि सुपरस्टारको ठूला हिस्सा छ । कोहीको लागि त्यहाँ रजनीकान्त, कमल हसन, मोहनलाल र माम्मुतीले अहिले पनि शासन गरिरहेका छन् । तपाईंको लागि त्यहाँ नयाँ स्वादका प्रभास, राम चरण, अल्लु अर्जुन र यश छन् । तिनीहरुको सुपरस्टारडम फ्यान क्रेजबाट उत्पन्न हुन्छ, जुन अहिले बलिउडमा अनुपस्थित छ ।

आरआरआरको प्रि–रिलिज कार्यक्रमको लागि रामोजी फिल्म सिटीमा पुगेका एक लाख मानिस त्यो क्रेजको प्रमाण हुन् । के कुनै खानसहितका स्टारले बलिउडमा त्यस्तो फ्यान क्रेजको कमाण्ड गर्न सक्छ ? म त्यसमा तपाईंलाई विचार गर्न दिनेछु ।

बलिउडमा स्टुडियोले कलाकारमध्येबाटै स्वतन्त्र स्टारको व्यक्तित्व सिर्जना गरेका छन् र आफ्नै फिल्म वरपर उनीहरुलाई बजारीकरण गरिएको छ । लगभग यी सबै उत्पादन र ब्राण्ड हुन् जसलाई बेच्न सकिन्छ, उनीहरु वास्तविक मानिस होइनन् । यही कारण प्रतिभा र सफलताको बाबजुद पनि तीमध्ये धेरैजनाले सुपरस्टारको भ्रमको पर्खाल तोड्न सक्दैनन् । यसको एउटा कारण यो हो कि आजका बलिउड स्टारले आफूलाई प्रतिस्थापन गर्न मिल्ने र छुट्याउन नसकिने एउटा रेखा सिर्जना गरेका छन् ।

सन् २०२३ मा शाहरुख खानका तीन वटा फिल्म रिलिज हुँदैछन् । उनले यशराज फिल्म्सको लार्जर द्यान लाइफ फिल्म ‘पठान’बाट वर्षको सुरुवात गर्नेछन् र यसको अन्त्य राजकुमार हिरानीसँगको पहिलो सहकार्य ‘डंकी’बाट गर्नेछन् । त्यसको बीचमा एट्लीको थ्रिलर ‘जवान’ छ ।

 यो वर्ष बक्स अफिसमा शाहरुखले आफैंले आफूलार्ई संघर्ष गर्ने मौका दिएका छन् । तर यो जुवामा उनी सफल हुन्छन् वा हुँदैनन्, त्यो दर्शकको हातमा छ । तर पनि उनको करिअर जारी रहनेछ । उनले बलिउडमा फेरि शासन नगर्न सक्छन्, तर उनको शासनसँगै बलिउडको ‘स्टारडम’ समाप्त भयो । अबको बलिउड केही स्टुडियो र तिनीहरुका प्रतिनिधिद्वारा शासित कुलीन वर्ग हो ।

बलिउड अब ‘राजा’बिनाको राज्य छ र त्यो अब कहिल्यै हुनेछैन ।

 (अभिमन्य माथुरद्वारा लिखित यो आलेख हिन्दूस्तान टाइम्सबाट अनुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?