+
+

गगन थापालाई लक्षित गर्दै झलनाथको प्रश्न : चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १६:५७

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोखेका थिए । उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए ।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए ।

‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर’ खनालले भने, ‘त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा ।’

खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको आफूले चर्को विरोध गरेको तर कतिपय नेतालाई एमसीसी पारित नगरे समाप्त भइन्छ भन्ने डर लागेको बताए ।

अहिले एसपीपी प्रस्ताव अस्वीकार गर्दा भने नेताहरुले वुद्धि पुर्‍याएको बताए । ‘नेपाली पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो राष्ट्रियता जोगियो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?