+
+

सत्ता गठबन्धनभित्र उपगठबन्धनको तयारी

लेफ्ट डेमोक्रयाट अलायन्स बनाएर गठबन्धन गर्ने विषयमा कांग्रेस बाहेकका दलहरु छलफलमा, कांग्रेससँग बढीमा २५ निर्वाचन क्षेत्रमा मात्रै तालमेल हुन सक्ने आकलन

बिनु सुवेदी बिनु सुवेदी
२०७९ असार १३ गते १९:१०

१३ असार, काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले छुट्टै चुनावी मोर्चाको तयारी थालेका छन् ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेससँग तालमेल हुनसक्ने बाहेकका निर्वाचन क्षेत्रमा छुट्टै गठबन्धन बनाउने गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले एक सातायता ‘घनिभूत’ छलफल गरेका छन् ।

सबै निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल हुन नसक्ने भएकाले छुट्टै गठबन्धनको तयारी थालिएको ती दलका नेताहरुको भनाइ छ ।

‘गठबन्धन गर्दा परिणाम हाम्रो पक्षमा आउँछ भन्ने स्थानीय तहको निर्वाचनबाट पनि पुष्टि भइसकेको छ’, छलफलमा सहभागी जसपाका एक नेताले भने, ‘त्यसैले १६५ निर्वाचन क्षेत्रमै गठबन्धन गरेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो, छलफल पनि त्यही अनुसार अघि बढिरहेको छ ।’

कांग्रेससँग शीर्ष नेताहरुले प्रतिस्पर्धा गर्ने २० देखि २५ सिटमा मात्रै तालमेल हुन सक्ने तीन दलको आकलन छ ।

सत्ताघटक दलहरुले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ४३ प्रतिशत पालिकामा गठबन्धन गरेका थिए । कांग्रेसले गठबन्धन गरेको २०९ प्रमुखमध्ये १२८ र ११५ उपप्रमुखमध्ये ८५ स्थानमा जित निकालेको थियो । यस्तै माओवादी केन्द्रले गठबन्धन गरेको ८१ प्रमुखमध्ये ६९ र १४९ उपप्रमुखमध्ये ७९ ठाउँमा जितेको थियो ।

निर्वाचनको संघारमै पुगेर गठबन्धन गर्ने या नगर्ने, कति पदमा गठबन्धन गर्ने भनेर माथापच्ची गर्नुभन्दा अहिले नै सहमति गरेर अघि बढ्नु उचित हुने भन्दै कांग्रेसबाहेकका दलले छुट्टै उपगठबन्धनको तयारी गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी २७ प्रमुखमध्ये १३ र ४३ उपप्रमुखमध्ये १४ स्थानमा विजयी भएको थियो । यस्तै राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेको सबै ४ प्रमुख पदमा र ६ उपप्रमुखमध्ये ३ वटामा जित निकालेको थियो । जनता समाजवादी पार्टी भने गठबन्धन गरेको ३ प्रमुखमध्ये २ र ११ उपप्रमुखमध्ये २ ठाउँमा बिजयी भएको थियो । स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनबाट अरु दलहरु सन्तुष्ट भए पनि नेकपा एकीकृत समाजवादी र जसपाले चित्त बुझाएका थिएनन् ।

त्यसैले निर्वाचनको संघारमै पुगेर गठबन्धन गर्ने या नगर्ने, कति पदमा गठबन्धन गर्ने भनेर माथापच्ची गर्नुभन्दा अहिले नै सहमति गरेर अघि बढ्नु उचित हुने भएकाले कांग्रेसबाहेक पनि गठबन्धन बनाउन लागिएको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

ती नेताका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका दोस्रो तहका नेताहरुले तयार पारेको गठबन्धनको प्रस्तावित खाकालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच दिनहुँजसो छलफल भइरहेको छ ।

जसपा अध्यक्ष यादवले नयाँ गठबन्धन बनाउने विषयमा छलफल भइरहेको पुष्टि गरे । यद्यपि कांग्रेससँगको गठबन्धन यथावत राख्नेगरी नै छलफल अघि बढिरहेको उनको भनाइ छ । ‘छलफल त भइरहेको छ, यसै गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं’, यादवले अनलाइनखबरसँग भने, ‘तर आउँदो संघीय चुनावमा यही सत्ता गठबन्धन नै रहन्छ ।’

नयाँ गठबन्धन बनाउने तयारी गरिरहेका दलका एक शीर्ष नेताका अनुसार तीन पार्टीबीच हुने गठबन्धनको प्रस्तावित नाम लेफ्ट डेमोक्रयाटिक अलायन्स (वाम–लोकतान्त्रिक गठबन्धन) राखिएको छ । यद्यपि यही नामबाट चुनावी मैदानमा जाने वा नजने विषयको टुंगो भने तीन दलको शीर्ष नेताको बैठकले लगाउनेछन् ।

तालमेल गर्दा सिट बाँडफाँट समेत सुरुमै गर्ने र आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा चुनावी तयारी पनि थाल्ने नेताहरु बताउँछन् । निर्वाचन क्षेत्र भागवण्डाका लागि तीनवटा विषयलाई आधार मानिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार, यसअघि जितेको निर्वाचन क्षेत्र, दोस्रो या तेस्रो भएको निर्वाचन क्षेत्र र स्थानीय तह निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट गर्नेगरी सहमतिको खाका बनिरहेको छ ।

नेकपा एमालेसहितको वाम गठबन्धन गर्ने विषयमा दोस्रो पुस्ताका नेताहरु छलफलमा रहे पनि त्यसको सम्भावना लगभग सकिएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १६५ मध्ये कांग्रेससँग बढीमा २५ क्षेत्रमा गठबन्धन हुन सक्ने आकलन गरी बाँकी १४० क्षेत्रमा तीन दलबीच तालमेल गर्ने गरी सहमतिको मस्यौदा तयारी भइरहेको छ । तर तीन पार्टीले कति कति सिट लिने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

सिट संख्यामा सहमति भएमा त्यसकै आधारमा कांग्रेससँग छलफल गर्ने उनीहरुको तयारी छ । १४० सिटमध्ये माओवादीले ७० सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव गरेको छ । बाँकी ७० सिटमा जसपा र एकीकृत समाजवादी केन्द्रले करिब ४०/३० को हाराहारीमा सिट बाँडफाँट गर्ने गरी माओवादीले तयार पारेको प्रस्तावमा बाँकी दुई दल सहमत छैनन् ।

हाल सत्तारुढ गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा र अरु कम्युनिष्ट दलहरु पनि तालमेलमा आए भने कसरी भागबण्डा मिलाउने भन्नेबारेमा पनि केही दिनमै निष्कर्षमा पुगेर चुनावी तयारीमा जाने उनीहरुको भनाइ छ ।

‘वामपन्थी एकताको संभावना तत्काल छैन’

नेकपा विभाजनको असर स्थानीय तह निर्वाचनमा देखिएको भन्दै आउँदो चुनावमा वामपन्थी गठबन्धन गर्नुपर्ने निष्कर्षमा पुगेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दोस्रो पुस्ताका नेताहरुले नेकपा एमालेसँग पनि छलफल गर्नुपर्ने प्रस्ताव अघि बढाएका थिए ।

२९ जेठमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गरेको भेटमा पनि नेकपा विभाजनको असर र वामपन्थी एकताबारे छलफल भएको थियो । त्यसपछि एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुबीच पनि छलफल भएको थियो ।

तर आउँदो चुनावमा बामपन्थी एकता हुने संभावना लगभग सकिएको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यसैले लेफ्ट डेमोक्रयाटिक अलायन्स बनाएर चुनावमा जानुपर्ने प्रस्ताव उनीहरुको छ । यद्यपि कांग्रेससँग भने उनीहरुले यो प्रस्ताव गरिसकेका छैनन । पहिले आफूहरुका बीचमा सहमति जुट्यो भने कांग्रेससँग त्यही प्रस्तावबारे छलफल गर्ने तयारी तीन दलको छ ।

कांग्रेसले पनि आउँदो चुनावमा आफूहरु गठबन्धनकै पक्षमा रहेको बताएको छ । महामन्त्री विश्वप्रकाश शर्माले मिल्ने ठाउँमा गठबन्धन गरेरै जाने बताए । तर अरु पार्टीहरुले भनेकोजस्तो सबै ठाउँमा गठबन्धन हुन भने कांग्रेसकै आन्तरिक कारणले सम्भव नहुने उनको भनाइ छ । त्यसैले कांग्रेससँग गठबन्धन हुन नसक्ने निर्वाचन क्षेत्रमा छुट्टै गठबन्धन गर्ने गरी तीन दलले तयारी अघि बढाएका हुन् ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?