+
+

महेश आचार्यका प्रतिस्पर्धीमाथि अन्तर्घातको ट्याग, पराजुली र घिमिरेको काउन्टर

हरि अधिकारी हरि अधिकारी
२०७९ असार १३ गते २०:३२

१३ असार, विराटनगर । मोरङमा नेपाली कांग्रेस नेता महेश आचार्यलाई टक्टर दिइरहेका दुई नेतालाई क्षेत्रीय समितिले कारवाहीका लागि सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिले विराटनगरका पूर्वमेयर भीम पराजुली र पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई कारवाहीका लागि सिफारिस गरेको हो । उनीहरुमाथि स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई असहयोग गरेको आरोप छ ।

कारवाही सिफारिसमा परेका दुवै नेताले मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दाबी गरिरहेका छन् । सो क्षेत्रबाट यसअघिका निर्वाचनमा कांग्रेस नेता आचार्य उम्मेदवार बन्दै आएका थिए । यस वर्ष हुने निर्वाचनमा पनि उनी उम्मेदवार बन्ने तयारीमा छन् ।

आचार्यलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ जान आग्रह गर्दै उम्मेदवारी दिने बताइरहेका दुई नेतालाई क्षेत्रीय समितिले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको दाबीसहित असार ९ गत कारवाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको थियो ।

पराजुली र घिमिरेलाई कारवाही सिफारिस गर्ने समितिका सभापति विनोद बस्नेत हुन् । उनी आचार्य निकटका हुन् । ‘आफ्ना नेतालाई चुनौती दिएपछि योजनाबद्ध रुपमा कारवाहीका लागि सिफारिस गरियो, अन्तर्घातको आरोप लगाइयो,’ पराजुली निकट एक नेताले भने, ‘वडाको टिकट बाड्दा चलखेल भएका कारण उम्मेदवारले चुनाव हारे ।’
क्षेत्र नम्बर ४ मा २३ वटा वडा छन् । जसमा कांग्रेस २० वडामा पराजित भएको थियो ।

विराटनगर वडा नम्बर– ३ ले कांग्रेस केन्द्रीय सदस्य पराजुली र ग्रामथान गाउँपालिका– ६ नम्बर वडाले घिमिरेलाई कारवाहीका लागि क्षेत्रीय समितिमा सिफारिस गरेको थियो । क्षेत्रीय समितिले वडाको सिफारिस जिल्लामा पठाएको कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

उनका अनुसार क्षेत्रीय समितिले कारवाहीका लागि सिफारिस गरेपछि पूर्व मेयर पराजुली र पूर्व केन्द्रीय सदस्य घिमिरेले जिल्लामा उजुरी गरेका छन् ।

दुई नेताले आइतबार दर्ता गराएको छुट्टा छुट्टै उजुरीमा कांग्रेस नेता महेश आचार्य, क्षेत्रीय सभापति विनोद बस्नेत र आचार्य निकट नेता विश्वनाथ रिजाललाई कारवाही माग गरिएको छ । उनीहरुले टिकट वितरणमा आर्थिक चलखेल गरी राम्रा उम्मेदवारलाई टिकट नदिएको दाबी गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका उम्मेदवारलाई जिताउनका लागि सहयोग गर्दा गर्दै नियोजित रुपमा आफू विरुद्ध कारवाहीको सिफारिस भएको बताए । उनले उक्त कारबाही सिफारिसविरुद्ध केन्द्रीय समितिलाई बोधार्थ दिएर जिल्ला समितिमा उजुरी गरेको पुष्टि गरे ।

मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा विराटनगर महानगरपालिकासँगै कटहरी, ग्रामथान, बेलबारीलगायत पालिकाका २३ वडा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?