+
+

कैलालीमा विपद् प्रतिकार्य पूर्वतयारी फितलो, स्रोत साधन जोहो भएन

जनक विष्ट जनक विष्ट
२०७९ असार १४ गते १०:०५

१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सकि्रय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी फितलो छ । बाढी र डुबानका हिसाबले प्रदेशको राजधानी समेत रहेको कैलाली उच्च जोखिममा छ ।

स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्वतयारी भइरहेको बताए पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । जिल्लामा उद्दार, राहत लगायतमा आवश्यक पर्ने स्रोत साधनको पनि अभाव छ ।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइरहेको बताए । पालिकागत रुपमा जोखिमको अवस्था, विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्रीहरुको उपलब्धता लगायतका विषयमा अध्ययन भइरहेकाले सोहीअनुसार योजना बनाइने थापा बताउँछन् ।

मनसुन सकि्रय भइसकेको स्थितिमा समेत विपद् प्रतिकार्य योजना बनाउन नसकिएको विषयमा थापाले स्थानीय तहको चुनावका कारण समस्या भएको दाबी गरेका छन् । ‘स्थानीय तहको चुनाव भयो । नवनिर्वाचित जनप्रतिनिधिहरुले बजेटको तयारी भन्दै बैठक बस्ने पाइएन’ थापाले भने, ‘हाम्रा कर्मचारी साथीहरु पनि चुनावमा खटिनुभयो । पश्चिममा मनसुन ढिलो गरी आउँछ भन्ने भएका कारण पनि केही ढिलाइ भएको हो ।’

तर विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय जुनसुकै बेला अलर्टमा बस्ने गरेको उनको भनाइ छ । सुरक्षा समितिको बैठकमा सुरक्षाकर्मी र कार्यालय प्रमुखहरुलाई विपद् न्यूनीकरणका लागि अलर्ट रहन भनिएको उनले बताए । स्थानीय तहहरुलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले जानकारी दिए । ‘हामीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइरहेका छौं । कार्यालय प्रमुख र सुरक्षा समितिको बैठकहरुमा विपद् न्यूनीकरणका लागि हाई हलर्ट भएर बस्न निर्देशन भइसकेको छ’ प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘सकभर विपदमा कसैलाई पर्न नदिने प्रयास गर्ने भएको अवस्थामा उद्धार तथा राहतलाई विशेष प्राथमिकता दिने जिल्ला सुरक्षा समितिको बैठकले पनि निर्णय गरेको छ ।’

विपद्का बेला उद्दारको काममा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग आवश्यक पर्ने सामग्रीको अभाव भएका कारण थप समस्या हुने देखिन्छ । सुरक्षा निकायका अधिकृतहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग विपद् बेला प्रभावितहरुको उद्दार गर्न आवश्यक पर्ने स्रोत साधन माग गर्दासमेत प्राप्त हुन नसकेको गुनासो गर्छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले सामान्य बाहेक विपद्का बेला आवश्यक पर्ने स्रोत साधनको अभाव रहेको बताए । ‘हामीसँग सामान्य स्रोत साधन बाहेक आवश्यकताअनुसार छैन । स्थानीय स्तरमा रहेका बीओपीहरुमा समेत उद्दारका सामग्री उपलब्ध गराउन सकेमा धेरै हदसम्म सहज हुने थियो’ जोशीले अनलाइनखबरसँग, ‘स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका माथिल्ला निकायमा अनुरोध गरेका थियौँ । तर अहिलेसम्म कुनै ठाउँबाट समेत आवश्यक स्रोतसाधन प्राप्त भएको अवस्था छैन ।’

अहिलेसम्म जिल्लामा कैलारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने आधारभूत सामग्री दिएपनि अन्य कुनै पनि स्थानीय तहले उपलब्ध गराएका छैनन् ।
कैलालीमा बाढीले बर्सेनि तटीय क्षेत्रमा क्षति गर्दै आएको छ । खासगरी विपद् जोखिमका हिसाबले पूर्वी कैलालीका भूभागलाई बढी संवेदनशील मानिन्छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?