+
+

गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २१:५५

१४ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् ।

पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए ।

तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन् । प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँटी थिचिएका कारण नभएको भन्ने हो ।

‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो । उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ । यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ ।

प्रहरीले यो घटनामा सुनारका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको कारण पोष्टमार्टम रिपोर्टबाट खुलेपछि त्यही अनुसार अघि बढ्ने बताएको थियो । तर श्रेष्ठविरुद्ध परिवारले ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिइसकेका छन् । त्यही अनुसार ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । प्रेमी श्रेष्ठले पक्राउ गरेपछि सुरुवातमा झुटो बयान दिएका थिए । पछि उनी घटना भएको दिन घटना भएकै कोठामा बसेको खुलेको थियो । बिहान ४ बजेतिर उनी कोठाबाट निस्किएको खुलेको थियो ।

प्रहरीसँग बयान दिँदै उनले सुनार ‘झुण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झुण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ ।

गायिका सुनारको फेसबुकमा शनिबार राति १:१० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

तर उनको कोठामा मोबाइल बरामद नभएपछि घटना शंकास्पद बनेको छ । प्रहरीले मोबाइलको खोजीलाई जारी राखेको छ । यद्यपि, हालसम्म फेला परेको छैन । श्रेष्ठले मोबाइल पनि लगेको हुनसक्ने आशंका गरिए पनि उनले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?