+
+
मलको अभाव :

माघयता लुम्बिनीमा एक बोरा पनि युरिया झरेन

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असार १५ गते १२:०९

१५ असार, बुटवल । गाउँमा मल नपाएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ का किसान टिकाराम अधिकारी भारतबाट तस्करी गरेर ल्याएको मल पाइन्छ कि भनेर २० किलोमिटर यात्रा गरेर रुपन्देहीकै दक्षिणी क्षेत्र बेथरी पुगे ।

बेथरीमा मल त पाए, तर महँगो । त्यसमाथि गुणस्तरहीन । उनलाई ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाको अनुहार’ भने जस्तै भयो ।

‘सहकारीमार्फत गाउँमा प्रति बोरा २३ सय रुपैयाँमा पाइने डीएपी मललाई बेथरीमा ३५ सय भनेपछि त्यत्रो महँगो तिर्न नसकेर रित्तै फर्किएँ’, अधिकारीले भने, ‘ब्याड राख्दा पनि मलका लागि यस्तै दुख पाइयो, रोप्ने बेलासम्म पाइन्छ भन्दै सहकारीले भुलाए तर पाइएन ।’

डीएपी मल नपाएपछि अधिकारीले सल्फर, पोटास र युरिया मात्रै हालेर १० कठ्ठा खेतमा रोपाइँ गरेको बताए । बाँकी १० कठ्ठा खेत मल पाएपछि रोपाइँ गर्ने अधिकारी बताउँछन् ।

रुपन्देहीकै तिलोत्तमा ११ का किसान वेद गिरी पनि मल नपाएर हैरान छन् । ‘ब्याड राख्दा पनि युरिया पाइएन, रोपाइँ गर्दासम्म डीएपी पाइन्छ भन्दा भन्दै उही चाल भयो,’ गिरीले भने, ‘बेलामा मल नपाउँदा रोपाइँ ढिला भयो, उब्जनी पनि घट्छ भन्ने पीर छ ।’

सरकारले आयात गरेर सहकारीले बेच्ने मल नपाएपछि वाध्य भएर भारतबाट साइकलमा तस्करी भएर आउने गुणस्तरहीन मल किन्न किसानहरु वाध्य भएको गिरी बताउँछन् । ‘उपाय नलागेपछि गुणस्तरहीन हो भन्ने जान्दाजान्दै किन्नु परेको छ,’ गिरीले भने, ‘यो पनि नहाल्ने हो भने उब्जनी नै नहुने हो कि भन्ने चिन्ता हुन्छ ।’

अधिकारी र गिरी उदाहरण मात्रै हुन्, धान रोपाइँको सिजनमा देशभर नै रासायनिक मलको अभाव छ ।

कृषि सामग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा गत वर्षको माघ यता एक बोरा पनि युरिया मल आएको छैन । लुम्बिनी प्रदेशको रुकुम पूर्व बाहेकका सबै ११ जिल्ला, कर्णली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकीको स्याङ्जा र नवलपुर जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा कार्यालयमा अहिले युरिया र डीएपीको एक दाना पनि मल छैन ।

रुपन्देहीका लागि मात्रै वार्षिक २५ हजार मेट्रिकटन युरिया माग हुने गरेकोमा जेठ मसान्तसम्म ८ हजार ४२२.९५ मेट्रिक टन युरिया मात्रै बिक्री भएको कार्यालयका प्रबन्धक नारायणप्रसाद शर्माले बताए ।

यस्तै १५ हजार मेट्रिक टन डीएपी र २ हजार मेट्रिक टन पोटास माग हुने गरेकामा ७८८५.२० मेट्रिक टन डीएपी र २२२.३५ मेट्रिकटन पोटास मात्र बिक्री गरेको शर्माले बताए ।

अघिल्लो वर्ष रुपन्देहीमा वैशाखदेखि असारसम्म ३२६८.५० मेट्रिकटन युरिया बिक्री गरेकोमा यो वर्ष मल आयात हुन नसक्दा बिक्री शून्य भएको प्रबन्धक शर्माले बताए । ‘युरिया र डीएपीको माग अत्यधिक छ, तर हामीसँग मौज्दात एक दाना पनि छैन’, शर्माले भने, ‘सरकारले नै मल ल्याउन नसकेपछि हामीले यहाँबाट कसरी दिने ?’

कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट लुम्बिनी प्रादेशिक कार्यालयमा ७ हजार मेट्रिक टन डीएपी, २ हजार ५०० मेट्रिक टन पोटास आएकोमा लुम्बिनी प्रदेशका ११ जिल्लाका लागि ३ हजार ४ सय २९ मेट्रिक टन मात्रै डीएपी आएको उनले बताए ।

‘प्रदेशमा एक लाख मेट्रिक टन मलको माग छ तर नगण्य मात्रा आपूर्ति हुँदा कसरी म्यानेज गर्ने भन्ने टाउको दुखाइ हुन्छ’, शर्माले भने, ‘सरकारले माग अनुसार मल आयात नगर्दा किसानले पाउन नसकेका हुन् ।’ लुम्बिनी प्रदेशमा वर्षे बालीका लागि मात्रै एक लाख मेट्रिक टन युरिया, ४४ हजार मेट्रिक टन डीएपी र करिब २२ हजार मेट्रिक टन पोटासको माग हुने गरेको प्रबन्धक शर्माले बताए ।

जिल्लामा आउने मल वितरणको लागि सहकारीमार्फत कोटा निर्धारण गरिएको हुन्छ । रुपन्देहीलाई ८५० मेट्रिक टन डीएपी मलको कोटा निर्धारण गरिएको थियो । तर माग दोब्बर १६८३.६५ मेट्रिक टन छ ।

कार्यालयका प्रबन्धक शर्माले २० गते सम्ममा युरिया मल आउने दाबी गरे । तर कार्यालयको भनाइ किसान पत्याउँदैनन् । ‘सरकारको विश्वासै छैन, बिउ राख्ने बेला रोपाइँसम्म पाउनुहुन्छ भन्थे, रोपाइँ सकिने बेला हुन थाल्यो अब झार गोड्ने बेलासम्म आउँछ भन्ने होला’, मल नपाउँदा रोपाइँ गर्न नपाएका सैनामैनाका किसान दशरथ यादवले भने ।

उनले सरकारले मल दिन नसकेको र किसानले भारतबाट दुख गरेर मल ल्याउँदा नाकामा प्रहरीले पैसा माग्ने र दुख दिने गरेको उनको आरोप छ । सीमाका किसानले भारतबाट तस्करी गरेर ल्याएको मल प्रयोग गरेरै भए पनि अभाव टार्ने गर्छन् । तर भारतबाट ल्याउने मल महँगो हुन्छ र गुणस्तरमा पनि किसान ढुक्क हुन सक्दैनन् ।

सरकारले युरिया मलमा ८६ प्रतिशत, डीएपीमा ५५.९९ प्रतिशत र पोटासमा ६८.८७ प्रतिशतसम्म किसानलाई अनुदान दिँदै आएको छ । भारतबाट लुकिछुपी ल्याउने मलमा भने अनुदान हुँदैन ।

उत्पादन ५० प्रतिशतसम्म घट्ने चेतावनी

कृषि क्षेत्रका जानकार एवं जेटीए बुटवलका कृष्ण खनाल समयमा किसानले मल नपाउँदा धान उत्पादन ५० प्रतिशतसम्म घट्न सक्ने बताउँछन् ।

‘यसपटक किसानले ब्याड राख्दा पनि मल पाएनन्, जसले गर्दा बीउ राम्रो भएन’, उनले भने, ‘रोपाइँमा पनि मल पाएनन् ।’

उनका अनुसार मल अभावले मात्र हैन, डिजेल पेट्रोल महंगो भएकाले पनि किसान मारमा परेका छन् । पेट्रोलियम पदार्थ महँगो भएका कारण जेनेरेटर चलाएर बोरिङको पानी तानेर हुने रोपाइँमा पनि कमी आएको छ । यी सबै कारणले यस वर्ष धान उत्पादन आधा घट्न सक्ने उनको चेतावनी छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?