+
+
संस्मरण :

के गर्दै होलान् जेभालेका मनमायाहरू ?

बद्रीप्रकाश ओझा बद्रीप्रकाश ओझा
२०७९ असार १६ गते १२:२०

त्यति बेला म कक्षा ४ मा पढ्थें । हाम्रो मेघराज काकाको माथिल्लो घरमा प्रेम सरले प्रौढ शिक्षा पढाउनुहुन्थ्यो । घरको मट्टितेल जोगाउन म त्यही ठाउँमा गएर आफ्नै कोर्स पढ्थेँ ।

त्यस दिन मैले मेरो पढाइ सकेपछि सोभियत भूमि पनि पढ्नुपर्ने थियो । मैले भोलिपल्ट बुझाउनुपर्ने भएकाले रातिसम्म पढ्ने विचार थियो । तर, प्रौढ शिक्षाको कक्षा सिद्धियो । म पनि जान लागेँ ।

एक्लै जान डर थियो, कारण हाम्रो मूल घरमुनि वरपिपलको चौतारो थियो । सिम्ले, ओराङफुङ, गौसरा आदि गाउँका लास तमोरमा लैजाँदा यही चौतारोमा बिसाउने गरिन्थ्यो । त्यसैले राति एक्लै घर जाने कुरै भएन ।

त्यस रात मेघराज काकाले ‘भतिज, यतै सुत्’ भन्नुभयो । ‘हुन्छ’ भनेर सोभियत भूमि पढ्दै थिएँ, मान्छेको हुल आएको आवाज आयो । मलाई डर लाग्यो तर्साउने आएछ भन्ने, तर मनमायाको बोली सुनेपछि सास आयो ।

‘ल जाओ है,’ मनमायाले साथीहरूलाई भनेको सुनेँ । ‘हुन्छ’ भनेर उनीहरू बाटो लागेजस्तो लाग्यो । मनमायाले ढोका घर्याक्क ठेली । भित्र मलाई देखी, रातो मुख लगाई र भनी ‘ठूले, तँ आज यतै सुत्छस् ?’

‘अँ, दिदी’ मेरो स्वाभाविक जवाफ थियो ।

‘ए…, म त काकासँग फच्चा आको नि,’ भनी ।

लिम्बू भाषामा तरुनी केटी तन्नेरीसँग गोप्य समय बिताउनुलाई फच्चा भनिन्छ । म लाजले रातो भएँ ।

अनि भनी, ‘हामी अब यो आटमा बुढाबढी सुत्छौँ । तँ के गर्छस् ?’

म अझ लजाएँ । उल्ले घरको पल्लो कुनामा मलाई ओछ्यान लगाइदिई । काठको पिराको सिरानी बनाइदिई । राडीको पर्दा बनाई । काका आए ।

म सुतेँ । म कति बेला निदाएँ भन्ने त थाहा भएन, तर ब्युँझँदा काका धुरीमा झुन्डिएको देखेँ । काकालाई मनमायाले मारिछे भनेको त, खुट्टमा बाँधेर धुरीमा झुन्ड्याइएको पो रहेछ । अनि मनमाया त काकाको मुखमा पिसाब फेर्दै थिई । मैले नचिनेका दुई अलि ठूला छोरी मान्छे वाल्ल परेर हेरिरहेका थिए । बाहिर एकदुई जना लुङाहरू बोलेको सुने । उनीहरू छोरीचेलीको सुरक्षाका लागि बाहिरै बसेका रहेछन्, भित्र मनमायाको रूप हेर्न नमिलेर । मुखमा पिसाब फेरिसकेपछि मनमायाले मलाई थर्काई, ‘चुपचाप सुत् … ।’

निदाउने त कुरै भएन, तर मुख छोपेँ । मनमायाले काकालाई धम्क्याई, ‘अझै पनि सोच है ।’ लगत्तै ती महिलाहरू बाहिरिएको आभास भयो । मनमायाले काकाको डोरी फुकाइ दिए र उनीहरू मस्तीमा रमे भन्ने लाग्यो, तर काकाको अवस्था दयनीय भइसकेको रहेछ ।

म त के निदाउँथे र ? फेरि घरक्क ढोका खुल्यो । ती अघिका महिलाहरू भित्र पसे । ‘खोई त त्यो’ भने, मनमायाले मेरोतिर इसारा गरी । काका करिब करिब मूर्छाकै अवस्थामा थिए । मनमायाको चौबन्दी अल्पअल्प बन्द थियो ।

ती महिला आए । एउटीले मेरो सिरक तानी, म उठेँ । डरले रोएँ, विचरा… भन्दै मलाई थपथपाए, दुध खान्छौ भनेर जिस्काए र हँसाए । त्यसपछि काका र मनमायाको सिरक तान्दा त राडीभरि रगतको आहाल देखियो । कसको रगत हो भन्ने मैले छुट्याउन सकिँन ।

ती महिलाले भने, ‘भाइ, राम्ररी हेर् है, तेरो काकाको चर्तीकला ।’

मनमाया हतारहतार समालिई ।

त्यति बेला पेटिकोट आएको थिएन जेभालेमा । हतारहतार चौबन्दी बाँधी र लुँगी पनि पटुकाले अड्काई । उठी र फ्रेस भई ।

बाहिरका केटा भित्र आए । एउटा त मेरै साथी अमृते पो रहेछ । राँको बालेर सुब्बा साँहिला आए । मनमायालाई एक भाटो हानेर लिएर गए । सबै अलप भए ।

काका थाकेका रहेछन्, म पनि निदाएँ । ब्युँझदा बिहान त्यस्तै ९ बजेको हुँदो हो । फेरि मान्छे जम्मा भए । काकाका बाआमा, दाजुभाउजू, एक मात्र विधवा दिदी , प्रधानपञ्च, वडाध्यक्ष, साँहिला सुब्बा, मनमाया, अरू एकदुई केटाहरू र हिजोका ती दुई महिला, त्यसै १५–१६ जना हुँदा हुन् ।

प्रधानपञ्च पनि हाम्रै काका थिए । उनले मेघराज काकालाई चौखु¥याउँने आदेश दिए । सुब्बा कान्छाले काकालाई कुखुरा बनाए । प्रधान काकाले मलाई सोधे, ‘अय् भन्, हिजो केके भो ?’ मैले सबै कथा सुनाएँ । ती सुब्बिनीहरूले पनि ‘ओहो, यो भाइ त ट्यालेन्ट रछ’ भनेर जिस्क्याए । उनीहरू सिनामबाट लोकन्ती आएका रहेछन् ।

त्यसपछि प्रधानपञ्च काकाले मेघराज काकामाथि सय रुपैयाँको जरिवाना, हामी साक्षीलाई जनही पाँच रुपैयाँ र शिर उठौनी स्वरूप पाडो र पञ्चायतका लागि एक मुरी धान तिर्नुपर्ने फैसला सुनाए । मेघराज काकाका परिवारका सबैले डाको छोडे । कारण ऊ बेला १ सय ३० रुपैयाँ कहाँ पाउनु ?

मेघराज काकाका बाले भकारी खोले । माहिला महाजनका छोराले १ सय ३० रुपैयाँ ल्याई दिए । मेघराज काकाका बाले महाजनका कान्छालाई पाँच मुरी र पञ्चालतका लागि एक मुरी धान भरिदिए । काकाकी आमा भक्कानो फुटाउँदै ओरालो लागिन् । काकाका बा पनि पटुकाले मुख छोपेर फोक्सेको बोटतिर लागे ।

मेघराज काकाले एकएकका एक बिटो नोट राखेर मनमायाको खुट्टामा ढोगे । ‘गल्ती भो, काका, शिर उठाउनी यो पाडो लेऊ है । आइन्दा यस्तो गल्ती गर्दिनँ’ भनेर सुब्बासँग माफी माँगे ।

कुरा बुझे त मरी जाऊँ ।

पछि पो थाहा भयो, अघिल्लो रात नै मनमायालाई काकाले मनलाग्दी गरेका रहेछन् । हिजो राति त प्रमाण जुटाउन मात्र नक्कली फच्चा आएकी रहिछ ।

मेघराज काकाले शरीर छोडेको महिना पनि कटेको छैन ।

मलाई आज जेभालेका याद आयो ।

अनि मलाई मनमायाको याद आयो । अहिले त बुढी भइहोली । उसको कान्छो बुढो पनि बुढै भयो होला । काका त गइहालेछन् ।

घटना २०३७ सालको हो । स्थान जिल्ला पाँचथर, सुभाङ गाउँपञ्चायत, वडा नं ६, जेभालेको गल्लीमुनि मामाको घर । बितेका यी ४२ वर्षमा खाङ्ग्रे खोलामा कति पानी बग्यो होला, तर जेभालेका महिलाहरु अझै सुरक्षित होलान् ?

मेघराज काकाहरू मरिसके, तर यस्ता धेरै मेघराज जन्मेका छन्, कोही आफन्तका नाममा त कोही पराइका भेषमा ।

त्यसै साल वारेन्ट परेर म झापा भागें । त्यसपछि जेभाले जाने कोसिस गरिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?