+
+

राष्ट्रिय टिममा शरद र ज्ञानेन्द्रको समय सकिएको हो ?

शरद लगातारको चोट र खस्किँदो लयका कारण टिमबाट बाहिरिएका थिए । ज्ञानेन्द्रलाई चोटको समस्या छैन । यी दुवैले औपचारिक रुपमा सन्यासको घोषणा पनि गरेका छैनन् । तर, राष्ट्रिय टिमबाट उनीहरु टाढिँदै गइरहेका छन् ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार १६ गते १८:३६

१६ असार, काठमाडौं । सन् २०११ देखि सुरु भएको नेपाली क्रिकेटको स्वर्ण युगको स्वर्ण पुस्ताका सदस्य हुन्– ज्ञानेन्द्र मल्ल र शरद भेषावकर । प्राविधिक रुपमा दक्ष ब्याटरका रुपमा परिचित ज्ञानेन्द्र र समर्थकबाट ‘द फिनिसर’ उपमा पाएका शरदले पछिल्लो समयमा राष्ट्रिय टिमबाट आफ्नो कला देखाउन पाएका छैनन् ।

शरदले फेब्रुअरीयता र ज्ञानेन्द्रले मार्चयता राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । यी दुई सिनियर खेलाडी बिना नै राष्ट्रिय टिमले चारवटा शृंखला खेलिसकेको छ । नेपाली टिम अहिले पूर्णतः युवा खेलाडीमा निर्भर छ ।

शरद लगातारको चोट र खस्किँदो लयका कारण टिमबाट बाहिरिएका थिए । ज्ञानेन्द्रलाई चोटको समस्या छैन । यी दुवैले औपचारिक रुपमा सन्यासको घोषणा पनि गरेका छैनन् । तर, राष्ट्रिय टिमबाट उनीहरु टाढिँदै गइरहेका छन् ।

त्यसो भए नेपाल क्रिकेटमा शरद र ज्ञानेन्द्रको समय सकिएको हो ?

‘राष्ट्रिय टिममा ज्ञानेन्द्र मात्र होइन कुनै पनि सिनियर खेलाडीको ढोका बन्द भएको छैन । आफूलाई प्रमाणित गर्ने खेलाडीका लागि बाटो सधैं खुल्ला छ,’ राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले टिम म्यानेजमेन्टले नयाँ खेलाडीलाई अवसर दिइरहेको छ । त्यसमा सिनियर वा जुनियर जसले राम्रो गर्छ उ नै टिममा पर्ने हो ।’

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली टिम हाल क्यानडामा छ । त्यहाँ एक अभ्यास खेल र क्यानडाको राष्ट्रिय टिमसँग दुई एकदिवसीय खेलको शृंखलापछि उतैबाट टोली स्कटल्याण्ड पुग्नेछ ।

क्यानडाम गएको नेपाली टिम ।

२१ वर्षीय लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिम अहिले युवा खेलाडीले भरिएको छ । गत पुसमा प्रशिक्षक नियुक्त भएपछि पुबुदु दासानायकेले ६ महिनायता नयाँ खेलाडीलाई अधिकतम प्रयोग गर्दै आएका छन् ।

टिमको वर्तमान परिवेशअनुसार सिनियर खेलाडीहरुलाई टिममा फर्कन सहज छैन । क्यानडा भ्रमणमा रहेका नेपाली टिमका १४ सदस्यमा विकेटकिपर विनोद भण्डारी नै सबैभन्दा सिनियर हुन् । उनले सन् २००९ मा एसीसी टी–२० प्रतियोगिताबाट नेपालका लागि डेब्यू गरेका थिए ।

सन् २००४ को इन्टरकन्टिनेन्टल कपमा युएईविरुद्ध डेब्यू गरेका शरद र सन् २००६ को सोही प्रतियोगितामा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रसँग डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव छ । सन् २००९ यता पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानसमेत रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानीबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका हुन् । उनी २०७८ मंसिरसँग नेपालको कप्तान रहे ।

पछिल्लो समय राष्ट्रिय टिममा शरदको उपस्थित न्युन बन्दै आएको छ । करियरको उत्तरार्धतिर रहेका शरद कुनै समय फिनिसरको रुपमा थिए ।

एभरेष्ट प्रिमियर लिगमा प्रदर्शन देखाएपछि शरदले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । ओमानमा खेल्न जानुअघि उनले आफूमा जोश अझै बाँकी रहेको भन्दै आत्मविश्वास देखाएका थिए । तर, उनले विश्वकप छनोट चोटका कारण गुमाए ।

त्रिवि क्रिकेट मैदानमा शरद भेषावकर ।

चोट र फर्मका कारण राष्ट्रिय टिममा शरदको उपस्थिती टाढिँदै गए पनि पूर्व कप्तान ज्ञानेन्द्र मल्लको हकमा भने अवस्था केही फरक छ ।

ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ (क्यान)बाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडे । क्यानसँगको ‘इगो प्रोब्लम’का कारण ज्ञानेन्द्र टिममा पर्न नसकेको धेरैको बुझाइ छ ।

गत फागुनमा युएईमा लिग टू खेलेर आएपछि नेपालले तीन आधिकारिक र दुई अनौपचारिक शृंखला खेलिसकेको छ । तर ज्ञानेन्द्र अहिलेसम्म टिममा फर्कन सकेका छैनन् । लिग टू पछि ज्ञानेन्द्र र विनोदलाई नै बाहिर राखेर क्यानले युवा टोली घोषणा गरेको थियो ।

त्यसबेला क्यानका प्रमुख छनोटकर्ता चौधरीले सिनियर खेलाडीलाई आरम दिएको र उनीहरुले क्याम्पमा राम्रो गरे फेरि टिममा फर्कने बाटो खुल्ला रहेको बताएका थिए् । विनोदको हकमा त्यो लागु पनि भयो । उनी अहिले टिममा छन् । तर ज्ञानेन्द्रको हकमा भने यो लागु हुन सकेको छैन ।

ज्ञानेन्द्र मल्ल ।

ज्ञानेन्द्रले युएईमा भएको लिग टू अन्तर्गत युएई विरुद्धकै खेलमा नेपालको लागि पछिल्लो पटक खेलेका थिए । उनले उक्त खेलमा उनले ३० रन बनाएका थिए । त्यही शृंखलाको अन्तिम खेलमा पपुवा न्युगिनीविरुद्ध भने ज्ञानेन्द्र बेञ्चमा थिए ।

चौधरीले ज्ञानेन्द्र अहिले पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण खेलाडी रहेको बताए । यस्तै टिम म्यानेजमेन्टले शरद भेषावकर र वसन्त रेग्मीसँग पनि कुरा गरेको जानकारी दिए । तर, राष्ट्रिय टिमबाट खेल्न क्याम्पमा आएर प्रशिक्षण गर्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार चोटग्रस्त शरद पछिल्लो समय पारिवारिक व्यस्ततामा छन् । वसन्त र पृथुसँग पनि क्यानले सम्पर्कको प्रयास गरेको थियो । यी दुवै खेलाडी अहिले अमेरिकामा छन् ।

शरदले नेपालका लागि १४ फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी–२० शृंखला अन्तर्गत आयरल्याड विरुद्ध पछिल्लो खेल खेलेका थिए । उनी सन् २०२१ सेप्टेम्बरयता एकदिवसीय अन्तर्राष्ट्रिय टिममा छैनन् ।

‘राष्ट्रिय टिममा पर्नका लागि क्याम्पमा आउनुपर्छ । क्याम्पमै नआएपछि टिममा नपरेको हो । तर, सबै सिनियर खेलाडीहरुको लागि टिममा बाटो खुलला छ,’ चौधरीले भने ।

राष्ट्रिय टिममा नपरेपछि ज्ञानेन्द्र मल्लले अर्का पूर्व कप्तान पारस खड्का लगायतसँग मिलेर खोलेको क्रिकेट एकेडेमीमा प्रशिक्षण गराइरहेका छन् । आजकल उनी आफ्नो प्रशिक्षण भन्दा अरुलाई सिकाउनमा व्यस्त छन् ।

ज्ञानेन्द्रले खेल्ने तेस्रो नम्बरमा पछिल्लो पटक यू–१९ टिमका कप्तान देव खनालले राम्रो प्रदर्शन गरिरहेका छन् । अब त्यो पोजिसनमा देव र ज्ञानेन्द्र जसले राम्रो गर्छ उही पर्ने चौधरीले बताए ।

देवसँगै यू–१९ बाट आएका अलराउण्डर आदिल अन्सारीले पनि राष्ट्रिय टिममा आफूलाई प्रमाणित गरेका छन् । यस्तै अर्का युवा अलराउण्डर वसिर अहमद पनि सिनियर टिममा समावेश हुँदै क्यानडा भ्रमणमा गएका छन् ।

केही पोजिसन छाडेर अन्य स्थानमा खेलाडीको विकल्प समेत रहेको चौधरीले बताए ।

ज्ञानेन्द्रलाई पछि पार्दै रोहित र दीपेन्द्र

केहि समय अघिसम्म ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान ज्ञानेन्द्रकै नाममा थियो । उनको अनुपस्थितिमा रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले उछिनेका छन् ।

एकदिवशीय अन्तर्राष्ट्रियमा रोहितकुमारले एक शतक र पाँच अर्धशतकसहित ७४७ रन बनाएका छन् । ज्ञानेन्द्रले १९ खेलमा चार अर्धशसहित ४८० रन बनाएका छन् । ज्ञानेन्द्रलाई एकदिवशीयमा शेख दाजुभाइ (आरिफ र आसिफ), कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले पछ्याइरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेल ।

टी–२० अन्तर्राष्ट्रियतर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक एक हजार ३३ रन बनाएका छन् । उनले ३९ खेल खेल्दा एक शतक र चार अर्धशतक प्रहार गरेका छन् ।

४० खेलबाट एक शतक र चार अर्धशतकसहित ७४८ रन बनाएका ज्ञानेन्द्र मल्ल टी–२० मा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन् । सन्यास लिइसकेका पूर्व कप्तान पारस खड्काले ७९९ रन बनाएका छन् । यस फर्म्याटमा ज्ञानेन्द्र भन्दा पछि रहेका कुशल भुर्तेलले ५७३ रन बनाएर पछ्याइरहेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?