+
+
रामचन्द्र पौडेलसँग अन्तर्वार्ता :

‘यो सरकार कामचलाउ मात्रै हो’

गठबन्धनमा ६०-४० को मोडालिटी हुँदैन

मैले यो उमेरमा पनि लेख्दै आएको छु, विचार प्रवाह गरिरहेको छु । नयाँ पुस्ता भन्नेहरूले त्यत्तिको लेख्न सकुन् त ? विचार दिन पर्‍यो नि त ! उमेरले हो र राजनीति गर्ने ? विचारले हो नि राजनीति गर्ने । उमेरको कुरा बिल्कुल फाल्तु हो । अराजनीतिक कुरा हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते २०:४१

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशन अघि सभापति शेरबहादुर देउवाको कट्टर आलोचक थिए । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने अवस्था नरहेपछि तटस्थ बसे । पार्टी निर्वाचनमा कुनै पदमा उम्मेदवारी नदिएका उनलाई देउवाले महाधिवेशनपश्चात् केन्द्रीय सदस्य बनाए । पछिल्लो समय उनी देउवासँग नजिकिएको कांग्रेसवृत्तमा चर्चा हुने गर्छ । गठबन्धनका दलहरूबीचको छलफलमा देउवाले नेता डा. शेखर कोइरालालाई आमन्त्रण नगरी पौडेललाई गर्छन् ।

उनै पौडेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गर्न देउवाले पहल गरे । सत्ता घटक दलको निर्वाचन तयारी तथा अनुगमन समितिको संयोजकको जिम्मेवारी पनि उनको काँधमा थियो । सत्ताघटक दलबीच तालमेलमा देउवा र पौडेल एक ठाउँमा छन् । स्थानीय तहको नतिजाबाट उत्साहित पौडेल संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुनेमा ढुक्क देखिन्छन् । विधान विपरितका गतिविधिमा देउवाको आलोचना गर्ने उनी पछिल्लो समय उनीप्रति नरम देखिन्छन् ।

कांग्रेसको आन्तरिक पार्टी राजनीति, गठबन्धनको भविष्य, सरकारको एकवर्षे अवधि लगायत विषयमा रहेर अनलाइनखबरकर्मी बिनु सुवेदीलिलु डुम्रेले नेता पौडेलसँग गरेको कुराकानी :

यो सरकारको करिब एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

यो सरकार एकाएक आएको हो । तयारी केही पनि गर्न नपाएको अवस्थामा यो सरकार कामचलाउ मात्रै छ अझै पनि । सरकारले योजनाबद्ध तरिकाले केही काम गर्न पाएको छैन, गर्न सकेको छैन । सुरु–सुरुका दिनमा त पुनस्र्थापित भएको सरकार पनि चल्न दिइएन ।

यसका बाबाजुद सरकारले कोभिड–१९ को महामारीलाई राम्ररी नियन्त्रण गर्‍यो । अहिले महँगीको मार परेको छ, यसलाई पनि सरकारले हेर्नुपर्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाएको त छ, तर त्यतिले पुगेको छैन भन्ने मेरो भनाइ छ ।

अनुगमन अत्यन्त प्रभावकारी बनाउनुपर्छ । ठूला व्यापारीहरूले कहाँबाट कतिमा सामान ल्याउँछन् र बजारमा कसरी बेच्छन् त्यसलाई पारदर्शी बनाउनुपर्छ । त्यसो हुँदा मूल्य अझै घट्न सक्छ ।

बिचौलियाले शोषण गर्ने प्रथालाई नियन्त्रण गर्नुपर्छ । सरकारको दायित्व नै त्यही हो । सरकारले जनताप्रतिको आफ्नो उत्तरदायित्वलाई बिर्सिनु हुँदैन, बजार नियन्त्रण गर्नुपर्छ । जनताले सुपथ मूल्यमा आफ्नो भान्सा चलाउन पाउनुपर्छ ।

एक वर्षको अवधि मूल्यांकन गर्दै गर्दा जनजीविकाको विषयमा त यो सरकार पूरै असफल भयो भनिन्छ । त्यसमा यहाँको भनाइ के छ ?

जनजीविकाको विषयमा यो सरकार पूर्ण असफल नै भएको भने होइन । केही काम चाहिं सरकारले गर्दैछ त्यसलाई हामीले अनदेखा गर्नुहुँदैन । कोभिडको क्षेत्रमा गरेको काम, बाढी नियन्त्रणको क्षेत्रमा, अहिलेको महामारी नियन्त्रणमा, मूल्य नियन्त्रणमा काम त गरेको छ ।

बजारमा हल्ला सुन्छु, आयल निगमलाई फेरि सार्वजनिक संस्थान बनाउन खोजिएको छ । त्यो गलत हो, त्यस्तो गर्नुहुँदैन । आयल निगम फेरि व्यापारीलाई दिने कुरा जनतालाई मार्नु हो । जनतालाई आवश्यक परेको बेला झन् बढ्ता नाफाखोरी चल्छ ।

तर कामहरू जसरी अलिकति छिटो–छरितो ढंगले हुनुपर्थ्यो, त्यो रूपमा भइराखेको छैन । अब सरकारलाई अलिकति प्रभावकारी बनाउनुपर्थ्यो भन्ने मेरो कुरा हो ।

तपाईंहरूले सरकारको प्राथमिकता के–के हुनुपर्छ भनेर तयार पनि गर्नुभएको थियो, त्यो अनुसार सरकार चलेजस्तो लाग्छ त ?

न्यूनतम साझा कार्यक्रममा जे कुरा उल्लेख छ, त्यो अनुसार काम भइराखेको छैन । नेपालको समस्या त्यही हो, लेख्ने एउटा गर्ने अर्कै काम । लेख्या काम सबै गरिंदैन ।

सरकारले त्यति नराम्रो गरेको भन्ने त छैन, राम्रै राम्रो गर्‍यो भन्न पनि सकिएको छैन । अहिले कामचलाउ जस्तै अवस्थामा सरकार रह्यो । अबको मुख्य प्राथमिकता अर्काे चुनाव गराउने हो । स्थानीय चुनाव गरेर एउटा काम त गर्‍यो । पेट्रोलियमको मूल्य घटायो, अब चुनाव गराउँछ । तर पनि सरकारले कस्ता नीतिगत कामहरू गर्छ त्यसमा हामी सचेत रहनुपर्छ ।

बजारमा हल्ला सुन्छु, आयल निगमलाई फेरि सार्वजनिक संस्थान बनाउन खोजिएको छ । त्यो गलत हो, त्यस्तो गर्नुहुँदैन । आयल निगम फेरि व्यापारीलाई दिने कुरा जनतालाई मार्नु हो । जनतालाई आवश्यक परेको बेला झन् बढ्ता नाफाखोरी चल्छ ।

हाम्रो जस्तो तेस्रो विश्वका मुलुकमा सिस्टम राम्रो बसिनसकेकाले यहाँ राज्यले जिम्मा लिनुपर्छ भन्ने मेरो कुरा हो । संवेदनशील कुराको राज्यले नै जिम्मा लिएर जनतालाई सुविधा दिने व्यवस्था मिलाउनुपर्छ । व्यापारीलाई दियो भने त्यही आधारमा खेलहरू हुन्छन्, जनतालाई झन् धेरै समस्या हुन्छ ।

जनता र जनजीविकाको सवालमा तपाईंहरूले केपी ओलीको सरकारलाई जे भनेर आरोप लगाउनुभयो, अहिलेको सरकार नि त्यही बाटोमा हिंड्न खोजेको देखिन्छ हैन र ?

अहिले पहिले जस्तो ओम्नी काण्ड त भएको छैन । हुन खोज्या छन् भन्ने सुनिन्छ । हामीले खबरदारी गरिरहेका छौं, त्यसलाई हामी रोक्छौं । हामीले एकदमै राम्रो सुशासन गर्छौं, विकासको चुलीमा पुर्‍याउँछौं भनेको पनि हैन । प्रतिगमनलाई रोक्छौं, उपलब्धिलाई बचाउँछौं, संविधान जोगाउँछौं भनिएको हो । त्यसै अनुसार काम भइरहेको छ ।

यो सरकार बनिसकेपछि तपाईं पनि उच्चस्तरीय संयन्त्रको संयोजक हुनुभयो, तर संयन्त्रले सरकारलाई झकझक्याउने काम त गर्न सकेन नि !

उच्चस्तरीय संयन्त्रले सरकारका हरेक कामलाई हस्तक्षेप गर्ने कुरा सिद्धान्ततः म मान्दिनँ । मैले पहिलेदेखि नमानेकै कुरा हो । अर्को गैरसंवैधानिक शक्ति केन्द्र हामीले बनाउन चाहेकै छैनौं ।

यो त चुनावको लागि राजनीतिक समन्वय गर्न बनेको हो । राज्यको दैनिक काममा यसले हस्तक्षेप गर्नुहुँदैन । त्यसो हुँदा गैरसंवैधानिक शक्ति केन्द्र बन्छ । तर कहिलेकाहीं कुनै न कुनै कुरामा हामीले सरकारलाई सहयोग गर्न सुझाव दियौं । जस्तो कि पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाउने कुरामा सुझाव दिइयो, सुझाव कार्यान्वयन पनि भयो ।

यो सरकार बनेपछि एमाले अध्यक्ष केपी ओलीले टालाटुली बटुलीको सरकार हो, यसको कुनै प्रभावकारिता र औचित्य रहन्न भन्नुभएको थियो । त्यस्तै भयो हैन ?

हाम्रो पनि बहुमत छैन, कसैको पनि बहुमत छैन । केपी ओलीले संसद फाल्न थाल्नुभयो, आएको परिवर्तनलाई उल्टाउन थाल्नुभयो, देशलाई प्रतिगमनतिर लैजान खोज्नुभयो त्यसलाई नियन्त्रण गर्नका लागि हामी सबै परिवर्तनको रक्षामा लाग्यौं ।

प्राप्त भएको जुन उपलब्धि छ यसलाई बचाउन, सिस्टमलाई अघि बढाउन र ओलीजीको प्रतिगमन रोक्न हामी एक ठाउँमा भएकै हो । त्यसैले यो सरकार बनेको हो । शब्द त अब जे भने पनि भयो नि !

यो गठबन्धनको आयु कहिलेसम्म हो ?

प्राप्त भएको जुन उपलब्धि छ यसलाई बचाउन, सिस्टमलाई अघि बढाउन र ओलीजीको प्रतिगमन रोक्न हामी एक ठाउँमा भएकै हो । त्यसैले यो सरकार बनेको हो । शब्द त अब जे भने पनि भयो नि !

यसलाई अझै पनि अगाडि बढाउनुपर्ने देखिन्छ । मलाई लाग्छ, प्रदेश र संघको चुनावमा पनि यो गठबन्धन कायमै भएर जानुपर्छ ।

प्रदेश र संघको चुनावमा तालमेलको मोडालिटी के हुन्छ, केही छलफल गर्नुभएको छ ?

फिल्डको रियालिटीलाई हेरेर गठबन्धन गर्नुपर्छ भन्ने मेरो भनाइ छ । मानौं न कुनै क्षेत्रमा ५० हजार एमाले छन्, ५० हजार कांग्रेस छन् । त्यहाँ अर्को पार्टीलाई दिएर के गर्ने ? कांग्रेस नै प्रतिस्पर्धामा छ ।

अर्को पार्टी प्रतिस्पर्धाको नजिक भयो भने त्यसैलाई दिने हो । ग्राउन्ड रियालिटीको आधारमा सिट बाँडफाँट गर्नुपर्छ ।यति सिटको भागबण्डा भन्ने हैन । कहाँ कसको संभावना छ त्यो अनुसार हुन्छ ।

कांग्रेसले ६० प्रतिशत राख्ने अरूलाई ४० प्रतिशत दिने भन्ने कुरा पनि आएको छ, त्यो कत्तिको सम्भव देख्नुहुन्छ ?

त्यो चाहिं हुँदैन । कांग्रेसको कुरा प्रष्ट छ, जहाँ आफू जित्छौं भन्ने विश्वास छ त्यो ठाउँमा आफैं लड्छौं । माओवादीको संभावना छ भने हाम्रो भोट उसलाई थपिदिन्छौं । हाम्रो भोट थपिदिएर समाजवादी, जसपा या जनमोर्चा जित्ने संभावना छ भने हामी थपिदिन्छौं ।

उहाँहरूको बलियो उपस्थिति भएको ठाउँमा हामीले अलिकति सहयोग गर्दा उहाँहरूले जित्ने संभावना हुन्छ भने हामीले सहयोग गर्ने, उहाँहरूले पनि हामीलाई त्यही गर्ने हो । मैले बुझेको गठबन्धन त यही हो ।

तालमेलको आधार कसरी तय गर्नुहुन्छ ?

जिल्ला जिल्लाको रिपोर्टबाट थाहा हुन्छ नि ! स्थानीय तहमा पाएको मतको रेकर्डहरू पनि छ । कहाँ कसको कस्तो संगठन भन्ने थाहा छ । मोटामोटी हेर्दा थाहा पाइहालिन्छ ।

कांग्रेससँग तालमेल गर्दा थोरै उम्मेदवार हुने आशंकाले गठबन्धनकै अरू दलले उपगठबन्धन बनाउने छलफल पनि थालेका छन् नि !

तालमेल गर्नैहुन्न भन्ने त कांग्रेसभित्र पनि छन् । एक्लै कांग्रेस लड्नुपर्दछ, १६५ सिटमै लड्नुपर्छ भन्नेहरू पनि छन् । १६५ मा नै लड्यौं भने १०० सीट जित्छौं, हामीले किन गठबन्धन गर्ने ? भन्ने हाम्रो पार्टीभित्र पनि छ नि त !

त्यस्तो मत हुँदाहुँदै पनि एक दलले पूर्ण बहुमत ल्याउनसक्ने अवस्था त यो निर्वाचन प्रणालीमा देखिंदैन । बहुमतको सरकार बनाउनका लागि गठबन्धनमा सहमति गरेर अहिलेदेखि नै अघि बढौं भन्ने हो । यसका लागि केही न केही सम्झौता गर्नैपर्छ ।

यस प्रणालीभित्रै रहेर एक दलले बहुमत नै ल्याउन नसक्ने अरू दलका नेताहरूले पनि भन्नुहुन्छ । यस निर्वाचन प्रणालीबाट एउटा दलले बहुमत ल्याउन नसक्ने नै हो ?

प्रत्यक्ष मात्रै चुनाव हुने हो भने एक दलले पनि बहुमत ल्याउन सक्थ्यो, तर समानुपातिकको व्यवस्था पनि छ । हामीले समावेशी र समानुपातिक पद्धति प्रयोग गरेका हौं ।

त्यसमा पार्टीले प्राप्त गरेको भोटको आधारमा सिट बाँडफाँट हुने हो । अनुपातमा बाँड्दा एउटै पार्टीले सर्लक्कै पाउँदैन, एकै दलको पूर्ण बहुमत हुन सक्दैन । त्यसकारण, अरू दलहरूलाई पनि मिलाउनुपर्ने भएको हो ।

१४औं महाधिवेशन अघि तपाईं सभापति शेरबहादुर देउवाको प्रतिपक्ष जस्तो देखिनुहुन्थ्यो । १४औं महाधिवेशन पछि मूलतः तालमेलको विषयमा तपाईं र सभापतिको मत एकै देखिन्छ । के कारणले गर्दा सभापतिकै लाइनमा देखिनुपर्ने अवस्था आयो ?

पहिले त सभापति र मेरो कुरा मिलेको थिएन । केपी ओलीले संसद भंग गरेपछि उहाँ चुनावतिर जानुपर्ने लाइनमा हुनुहुन्थ्यो । म चाहिं चुनावमा जानुहुन्न भनेर लागें । किनकी चुनाव हुन्छ भन्ने ग्यारेन्टी थिएन, बरु चुनावका नाममा पूरै कब्जा गरिदिने डर पनि थियो । त्यसबेला हामी सकिन्थ्यौं, ओलीले देशलाई जहाँ लैजान खोजेको, त्यहाँ पुर्‍याउँथे । त्यसैले विघटनको खिलाफमा म अलि बढी लागेको हुँ ।

हामी सत्ताका लागि हामी मिलेका होइनौं, व्यवस्था बचाउन मिलेका हौं ।

उहाँ (सभापति) विस्तारै तानिएर आउनुभएको हो । उहाँ पनि यही लाइनमा आइसकेपछि अघि बढ्ने कुरामा त दुई जनाको कुरा मिल्ने त भयो नि ! मिल्न त पर्‍यो नि त ! त्यति मात्रै हो ।

सरकार सञ्चालन तथा सुशासनका विषयमा पनि कुरा नमिल्ने, तर गठबन्धन गर्नुपर्छ भन्नेमा तपाईंहरू एकमत हुनु पछाडिको कारण के हो ?

हामी सत्ताका लागि हामी मिलेका होइनौं, व्यवस्था बचाउन मिलेका हौं ।

गठबन्धन नभए शीर्ष तहका नेताहरू नै पराजित हुने अवस्था आउने डरले तपाईहरु व्यक्तिगत स्वार्थका लागि भए पनि तालमेल गर्नैपर्ने बाध्यतामा रहेको भनिन्छ । यसमा पनि सत्यता हो नि ?

मेरो व्यक्तिगत कुरा गर्दा यो हुँदै होइन । मेरो व्यक्तिगत कुरा हुन्थ्यो भने त संसद विघटन भएकै बेलामा चुनावमा जाऔं भन्थें होला । सजिलै चुनाव जित्न मलाई सहज पनि थियो । उहाँहरू (तत्कालीन नेकपा) त चकनाचूर भइसकेको थियो । त्यो बेला चुनाव भएको भए त म सांसद भइसक्थें ।

त्यसैले मैले आफ्नो लागि होइन, व्यवस्थाका लागि सोचेको हो । व्यवस्था स्थिर नहुँदा नेपालले विकास गर्न पाएन । व्यवस्था स्थिर भएपछि मुलुकले निकास पाउन सक्छ ।

देशलाई स्थायित्व, सामाजिक न्याय र सुशासनको आवश्यकता रहेको त मैले भन्दै आएको छु । अहिलेका मूल एजेण्डा भनेकै यही हुन् । सिद्धान्त भने पनि, मुद्दा भने पनि यिनै हुन् । यिनै मुद्दामा हामी जो जो मिल्न सक्छौं मिलेर जाऔं भन्ने हो ।

गठबन्धनको विषयमा पनि पार्टीभित्र मतान्तर छ । कसरी मिलाउनुहुन्छ ?

गठबन्धन नगर्ने कुरा एकथरी साथीहरू गर्नुहुन्छ । गठबन्धनको विरोध गर्नेहरूले के उपलब्धि हासिल गरे त ? गठबन्धनको विरोध गर्नु वास्तविकतामा आधारित थिएन ।

तालमेलको विरोध गर्ने पार्टीको सही लाइन होइन । संकटबाट देशलाई बचाउनु अहिलेको आवश्यकता छ । संविधान र लोकतन्त्र बचाउनु छ । परिवर्तनलाई जोगाउनु छ । यो कुरालाई महत्व नदिनेले मात्रै गठबन्धन चाहिंदैन भन्छन् ।

गठबन्धनले जित्यो भने मात्रै देश संकटबाट बच्ने हो ?

हो । स्थानीय तहको चुनावले प्रतिगमनकारीलाई हतोत्साहित त गर्‍यो नि ! गठबन्धनको पक्षमा बहुमत आयो भने अस्थिरता ल्याउने शक्ति पछि पर्छ । षडयन्त्रकारी पछि हट्छन् । देशले स्थायित्व पाउँछ ।

संघ र प्रदेशमा पनि तालमेल भयो भने कांग्रेसको अवस्था कस्तो रहन्छ ? कांग्रेसको हैसियत तपाईंको आकलन चुनाव पछि कस्तो हुन्छ ?

कांग्रेस सबैभन्दा ठूलो पार्टी त बनिनै हाल्छ । कांग्रेस बहुमतको नजिक नजिक पुग्छ । कांग्रेसमा अन्तर्घात नगरी सबैलाई सबैले साथ दिए अझै अरू पनि आउन सक्ला ।

पार्टी सभापतिसँग तपाईंको सम्बन्ध सुधार भएपछि दलभित्रको समस्यामा बोल्नै छोड्नुभयो भन्ने आरोप पनि छ ! महाधिवेशन पश्चात् पार्टी विधान र त्यसको कार्यान्वयनको बारेमा बोल्नै छोड्नुभयो नि ?

पहिले पहिले धेरै बोल्नु थियो बोलिहालियो । अहिले बोल्न भनेर अरू साथीहरू आउनुभएको छ । उहाँहरू बोल्नुहोला नि त ! उहाँहरूले कतिसम्म गर्न सक्नुहुन्छ, हेरिरहेको छु । मैले भन्नुपर्ने, सभापतिलाई वार्निङ गर्नुपर्ने कुरा गरिरहेको छु, जथाभावी नगर्नुस् भनेको छु । दुई दिनअघि पनि पार्टी सभापतिलाई भेटेर लथालिङ्ग राख्नुभएन, भ्रातृ संस्था गठन गर्नुस् भनेको छु ।

स्थानीय तहको चुनावले प्रतिगमनकारीलाई हतोत्साहित त गर्‍यो नि ! गठबन्धनको पक्षमा बहुमत आयो भने अस्थिरता ल्याउने शक्ति पछि पर्छ । षडयन्त्रकारी पछि हट्छन् । देशले स्थायित्व पाउँछ ।

विधान अनुसार हुनुपर्ने निर्णय भएको छैन । विभाग गठन ६ महिनाभित्र हुनुपर्ने हो । गठन गर्ने कार्यमा सभापति लागेको पनि देखिन्न । तपाईंको सुझाव कार्यान्वयन त भएन ?

विभाग के भो ? भ्रातृ संस्था कहाँ के भए ? के गर्न खोजेको ? धेरै पहिले नै सभापतिको अगाडि भनेको हुँ । बेला बेलामा मेरो आफ्नो कुरा त भनिरहेको छु ।

तर, अहिले भन्ने क्रममा अलिकति शैली फरक भयो होला । हिजोका दिनमा पार्टी सभापति देउवाको सम्पूर्ण रूपमा अपोजिसनमा म थिएँ । पार्टीको संस्थापन पक्षको प्रतिपक्षको भूमिका जस्तै मेरो थियो । अहिले त हामी गर्छौं भन्दै मेरो ठाउँमा अरू आएका छन् । उहाँहरू कसरी बोल्नुहुन्छ, गर्नुहुन्छ– उहाँहरूलाई नै मौका दिऔं न त भनेर हो । उहाँहरूलाई अवसर दिएको हो मैले ।

पार्टी सभापतिको १४औं महाधिवेशनपछिको कार्यकालप्रति चाहिँ तपाईं सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट छैन । म सन्तुष्ट नभएरै सभापतिलाई नेविसंघ, तरुण दल, महिला संघ खै ? भनेर सोधेको छु । भ्रातृ संस्थाहरू किन नबनाएको प्रश्न गरेको छु ।

जसलाई देउवाले पत्याए, त्यसलाई बनाएर भयो ? आम कार्यकर्ता सबैले पत्याउनु पर्‍यो नि ! आम विद्यार्थी, तरुण, किसान र आदिवासी जनजातिले पत्याउनेलाई अध्यक्ष तोक्नु पर्‍यो नि ! सभापतिले पत्याएकोले मात्रै हुन्छ ? आफूलाई जुन प्यारो लाग्छ, त्यसैलाई नियुक्त गर्दै गएर हुँदैन ।

भ्रातृ संस्था सबैको तदर्थ समिति हुनुपर्‍यो । मेरो भनाइ त दिनदिनै भनिरहेको छु ।

भ्रातृ संस्थामध्ये चार वटाको अध्यक्ष तोकिएको छ । मनोनीत गर्ने क्रममा तपाईंसँग सभापतिले केही सरसल्लाह गर्नुभएन ?

अहँ, परामर्श गर्नुभएन । सकेसम्म म केन्द्रीय समितिको बैठक नछुटाउने व्यक्ति हुँ । भ्रातृ संस्था विघटनको निर्णय गर्ने त्यो दिन म सहभागी हुन सकिनँ । म नभएको बेला मिटिङ भयो । म बैठकमा भएको भए त २/४ प्रश्न गर्थें होला ।

भ्रातृ संस्था भंग गरेर सबै जिम्मेवारी साथीहरूले सभापतिलाई छाडिदिए । अब मैले के गर्ने ? उहाँलाई सबैले छोडिदिएपछि सभापतिले गर्ने यस्तै हो ।

तर पश्चात् लाभको पद पाउने भएर तपाईं सभापति नरम हुनुभयो भन्ने आरोप पनि यदाकता सुनिन्छ नि ?

मैले भन्न बाँकी केही छैन । सार्वजनिक रूपमा पनि सभापतिलाई भनेको छु । भेटेर पनि भनेको छु ।त्यो भन्नेहरूको भनाइ हो । म पदको लागि कम्प्रोमाइज गर्ने मान्छे होइन । लाभको पद खोजेर म जीवनभर हिंडेको पनि छैन । राष्ट्रपति हुन खोजेको भनी केही मान्छेहरूले भन्छन् ।

म राष्ट्रपति हुन खोजेको छैन । शान्ति प्रक्रिया पछि गिरिजाबाबुले राष्ट्रपति मलाई नै बनाउन खोज्नुभएको थियो । एक नम्बरमा मेरै नाम थियो । प्रचण्ड र बाबुराम भट्टराई मलाई बनाउन तयारै थिए । राष्ट्रपतिको आश गरेको भन्ने बेकारका हल्ला हुन् ।

पदका लागि राजनीति गर्न जान्दिनँ, गर्दिनँ पनि । देश र प्रजातन्त्रको भलो होस् । मैले चाहने त्यही हो ।

राजनीतिमा नयाँ पुस्ता आइरहेको छ । मूलधारका पार्टीमा पुरानै अनुहार छन् । पुरानो पुस्ताले छोडिदिएर नयाँका लागि अवसर दिए हुन्थ्यो भन्ने आशा छ । निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सोच त बनाउनुभएको छैन नि ?

नेपालको राजनीतिमा एउटा अफवाह र नचाहिने कुरा भइरहेको छ । मिडियाले पनि मच्चाउने गर्छ । मिडिया मच्चिनमा पछाडि कुनै तत्व छ कि ? जसले यो मुलुकलाई अस्थिर बनाउन खोजेको छ ।

शेरबहादुर देउवा फेरि सभापति बनेको यस्तै नारा लगाउनेहरूको कारण हो । नयाँ पुस्ताको नारा लगाउने सभापति देउवा बनाउन सबैभन्दा जिम्मेवार छन् ।

अस्थिरतातिर लगिरहने नयाँ–नयाँ प्रयोग गरिरहने खेल हुन थालेको छ । अस्थिर बनाएर नेपाललाई छिया-छिया बनाउन हो कि ! होइन भने यस्तो अराजनीतिक कुरा हुनुहुँदैन ।

मैले यो उमेरमा पनि लेख्दै आएको छु, विचार प्रवाह गरिरहेको छु । नयाँ पुस्ता भन्नेहरूले त्यत्तिको लेख्न सकुन् त ? विचार दिन पर्‍यो नि त ! उमेरले हो र राजनीति गर्ने ? विचारले हो नि राजनीति गर्ने । उमेरको कुरा बिल्कुल फाल्तु हो । अराजनीतिक कुरा हो ।

युवा पुस्ताका नेताहरूले प्रधानमन्त्रीमा दाबी गर्न खोज्नुभएको हुनसक्छ । युवा पुस्ताबाट अघि सार्दा पार्टी र देशलाई नै लाभ होला नि ?

प्रधानमन्त्रीको दाबी गर्न त पाइयो । संसदीय समितिमा जसलाई सांसदले चुन्छन्, उही हुने त हो । त्यस्तै नयाँ नयाँ भन्नेहरूले त शेरबहादुर देउवालाई दोहोर्‍याइरहेका छन् ।

शेरबहादुर देउवा फेरि सभापति बनेको यस्तै नारा लगाउनेहरूको कारण हो । नयाँ पुस्ताको नारा लगाउने सभापति देउवा बनाउन सबैभन्दा जिम्मेवार छन् ।

युवा पुस्ता अघि आऔं भन्नेले कसरी देउवालाई सभापति बनाउन जिम्मेवार भए ?

रामचन्द्र र देउवालाई एउटै बास्केटमा राखे । म रूपान्तरणको पक्षमा भएको व्यक्ति हुँ । विधान अनुसार पार्टी चल्नुपर्छ भनेर विकल्प दिएर अघि बढेको मान्छे हुँ । देउवाको विकल्पमा म रूपान्तरणको मुद्दा सहित अघि बढेको थिएँ ।

युवा पुस्ता भन्नेहरूले लिएको नाराले मलाई कमजोर बनाउने र शेरबहादुर देउवालाई बलियो बनाउने काम गर्‍यो । हामी दुईको बराबरी शक्ति थियो, त्यही पुस्ताको नाराको बलमा देउवाले शक्ति प्रयोग गरी छक्का हान्दिनुभयो ।

शेरबहादुरको विकल्प त म थिएँ नि ! विकल्पमा रहेको मलाई बाहिर निकाल्ने षडयन्त्र गरियो । रामचन्द्रलाई कमजोर बनाएर दउवालाई बलियो बनाउने काम भयो । आफूले विकल्प दिन पनि नसक्ने र म विकल्प हुनसक्ने मान्छेलाई कमजोर पार्ने काम गरे ।

नयाँ पुस्ता भनेकैले देउवालाई थमौती गरेका हुन् । परिवर्तनका बढ्ता कुरा गर्नेले नै देउवालाई थमौती गरे ।

तर जे सुकै नाममा होस्, युवालाई रोक्दा त कांग्रेसलाई झन् घाटा होला नि ?

युवा आउनुहुन्न भनेकै छैन । युवा मात्रै भन्ने कुरा त हुन्न नि ! व्यावहारिकतालाई ध्यानमा राखेर काम गर्नुपर्‍यो भनेको हुँ ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?