+
+

कोरोना भत्ता माग्दै भीम अस्पतालको ओपीडी ३ घण्टा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १२:२६

१९ असार, बुटवल । कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन् ।

संघर्ष समिति गठन गरी दुई साता अघि नै पत्रकार सम्मेलन गरेर जोखिम भत्ता नपाए असार १६ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएकास्वास्थ्यकर्मीहरुले शनिबारदेखि अस्पतालमा अनिश्चिकालिन धर्ना समेत सुरु गरेका छन् ।

अस्पतालमा सेवा बन्द गरेर आन्दोलन गर्न नपाइने कानुन विपरित स्वास्थ्यकर्मीको आन्दोलनले उपचारका लागि पुगेका विरामीहरु मारमा परेका छन् ।

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले आन्दोलन घोषणा गरेको १२ दिन बढी भइसक्दा पनि सरकारले कुनै चासो नदिएको हुंदा दवावका लागि ओपीडी सेवा ठप्प पारेको बताए ।

माग पुरा नभए आन्दोलन देशव्यापी बनाउने उनको दावी छ । उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

भीम अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता वापतको रकम हालसम्म नआएकाले दिन नसकिएको बताए ।

‘अस्पतालबाट २–३ पटक मन्त्रालयमा पत्र पठाइएको हो, तर हालसम्म पनि रकम प्राप्त हुन सकेको छैन’उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?