+
+
रात्रिजीवन :

काठमाडौंका चर्चित ५ नाइट क्लब : सुरा र सुरको धूम 

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असार २० गते १३:२६

२० असार, काठमाडौं । राजधानी सहरमा रंगीन रात्रिजीवनको आनन्द लिन चाहनुहुन्छ ? त्यसो हो भने तपाईं ठमेल पुग्नुपर्छ वा दरबारमार्ग । यहाँ केही रात्रिक्लब छन्, जसले आगन्तुकलाई हरक्षण आमन्त्रण गरिरहेका छन् । यी रात्रिक्लबहरुमा तपाईं बेपर्वाह सुरा र सुरमा हराउन सक्नुहुन्छ ।

एलओडी, ठमेल

प्रवेश शुल्क : १ हजार रुपैयाँ (महिलालाई निःशुल्क)

ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स केही दिनअघि सार्वजनिक सूचीमा विश्वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२२ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी परेको हो । यो क्लबको विशेषता भनेको यहाँको माहोल हो । यस क्लबको डिजाइन स्टेडियमको स्वटाइलको छ । ९ हजार ६ सय स्क्वायर फिटमा फैलिएको यो क्लबमा २५ सय जनासम्मको क्षमता छ ।

नेपालको नाइट लाइफ र नाइट क्लबको कुरा गर्दा एलओडी छुट्ने कुरै भएन  । यहाँ प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तर विशेष दिनबाहेक अन्य दिनमा महिलाको लागि भने निःशुल्क प्रवेशको व्यवस्था छ  । यहाँ डान्स तथा गीतसंगीतका साथै विभिन्न व्यञ्जन र पेयपदार्थको राम्रो व्यवस्था छ ।

यो क्लबको लाइट र म्युजिकले सबैलाई लोभ्याउँछ । डान्स गर्ने ठूलो हलको बीचमा आइसल्याण्ड बार छ । फराकिलो डान्स फ्लोर, लाइट, म्युजिकको माहोलले यो क्लब सेलिब्रिटीहरुको पनि रोजाइमा पर्छ  ।  यो क्लब राति २ बजेसम्म खुल्ला हुन्छ ।

फरेनहाइट, ठमेल

प्रवेश शुल्क : १ हजार रुपैयाँ (महिलालाई निःशुल्क)

काठमाडौंका चर्चित नाइट क्लबमध्येमा फरेनहाइट पनि पर्छ । ठमेलमा अवस्थित यो क्लब १ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । यहाँ क्लबका साथै फरेनहाइट थकाली रेस्टुरेन्ट र कफी सप पनि छ ।

दुई हजार जनासम्मले एकैपटक डान्स गर्न मिल्ने फ्लोर भएको यो क्लबमा प्रवेश शुल्क एक हजार रुपैयाँ लिइने गरिएको छ । त्यसमा सफ्ट तथा हार्ड ड्रिंक्स, जुस र ग्राहकको रोजाइ अनुसारको पेय पदार्थ पनि उपलब्ध गराइन्छ ।

यहाँको विशेषता भनेको पारिवारिक वातावरण पनि हो । सुरक्षाको दृष्टिकोणले पनि राम्रो भएकाले यो क्लब धेरै सेलिब्रिटीको रोजाइमा पर्छ । जसले गर्दा यसलाई सेलिब्रिटी हब पनि भनिन्छ । क्लबले विदेशी कलाकारलाई समेत ल्याएर लाइभ कार्यक्रम गर्ने गरेको छ ।

सिनेट क्लब, ठमेल

प्रवेश निःशुल्क

ठमेलमा नै रहेको सिनेट क्लब आकर्षक डिजाइन र लाइटिङका कारण चर्चित छ । रातको समयमा राम्रो वातावरणमा रम्न चाहनेका लागि यो राम्रो गन्तव्य हुन सक्छ ।

निःशुल्क प्रवेशको व्यवस्था भएको यो क्लबमा खानामा पनि १५ प्रतिशत छुट दिने गरिएको छ । यहाँ लाइभ म्युजिक र डिजेको साथै धेरै जना डान्स गर्न मिल्ने ठूलो फ्लोर छ । यहाँ राति २ बजेसम्म रेस्टुरेन्ट पनि खुल्ला रहन्छ ।

यस क्लबले पनि समय–समयमा विदेशी डिजे तथा गायकहरूलाई पनि क्लबमा आमन्त्रण गरेर लाइभ कार्यक्रम गर्ने गरेको छ । प्रवेश शुल्क नलाग्ने र खानामा पनि १५ प्रतिशत छुट भएकोले यो क्लब धेरै युवाको रोजाइमा पर्छ ।

क्लब टरटल, ठमेल

काठमाडौंको चर्चित क्लबमध्ये क्लब टरटल हो । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमै अवस्थति यो क्लबमा हरेक दिन छुट्टैछुट्टै ब्यान्डको लाइभ प्रस्तुति हुन्छ । महिनामा दुईदेखि तीन जनासम्म विदेशी कलाकारको समेत प्रस्तुति हुने भएकाले यहाँ युवाहरुको निकै भीड लाग्छ ।

१२ सय जनाको क्षमता भएको यो क्लबको डान्स फ्लोरमा मात्र पनि ५ सय जना एकैपटक नाच्न सक्छन् । डान्स गर्ने राम्रो वतावरणका साथै खाना र बारको पनि राम्रो व्यवस्था भएकाले क्लबले सबैलाई लोभ्याउँछ ।

इबिजा लाउन्ज एण्ड बार, ठमेल 

प्रवेश : निशुल्क

रात्रिकालीन समयलाई रमाइलो बनाउने अर्को गन्तव्य ठमेलमै रहेको इबिजा लज एण्ड बार पनि हो । इबिजा १० आना क्षेत्रफलमा फैलिएको छ । ३०० जनासम्मको क्षमता भएको यो क्लबको विशेषता भनेको लाइभ म्युजिक र डिजेइङ नै हो ।

रातको समयमा गीतसंगीतमा झुम्न चाहनेका लागि यस क्लबले निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । यहाँ खाना र ड्रिंक्सको पनि राम्रो व्यवस्था छ । खाना र बारको राम्रो व्यवस्था भएको यो क्लब बढी युवाहरूको रोजाइमा पर्ने गर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?