+
+

स्थानीय चुनावको ऐनामा देखिने संघ र प्रदेशको परिणाम

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०७९ असार २१ गते ७:१०

स्थानीय तह निर्वाचन–२०७९ बारेमा यसै अनलाइनमा मेरा दुई वटा लेख प्रकाशित भइसकेका छन् । दुवै लेखसँगको सिलसिलामा यो तेस्रो लेख हो । यस लेखको मूल उद्देश्य स्थानीय तह निर्वाचन–२०७४ को परिणाम, त्यो निर्वाचनको परिणामले संघ र प्रदेशको निर्वाचनअघिको राजनीतिलाई पारेको प्रभावबारे विश्लेषण गर्नु हो ।

व्यतीत भइसकेको राजनीतिक घुम्ती, अझ त्यो राजनीतिले अर्कै फड्को मारिसकेपछि कत्तिको रुचिको विषय हो र भन्ने प्रश्न स्वाभाविक हो । तर स्थानीय निर्वाचन–२०७४ र त्यसको एक वर्षपछि सम्पन्न संघ र प्रदेशको निर्वाचन परिणामबीचको संगतिको अध्ययन यस लेखको विषयवस्तु हो ।

भर्खरै स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको एवं मुलुक संघ र प्रदेशको आसन्न निर्वाचनको प्रारम्भिक तयारीको मानसिकतामा पुगिसकेकाले अघिल्लो तीन तहका निर्वाचनबीच कसिलो संगति भए भर्खरै सम्पन्न स्थानीय निर्वाचनले आसन्न संघ र प्रदेशको निर्वाचनको परिदृश्य आकलन गर्न एउटा आँखीझ्याल प्रदान गर्छ । यस्तो आकलनका आधारमा आसन्न निर्वाचनमा दलहरूलाई रणनीति निर्माण गर्न पनि सहयोग पु¥याउँछ । साथै यो विषयवस्तुमा भूराजनीतिप्रति सरोकार राख्ने जो–कोहीलाई पनि अभिरुचि हुनसक्छ । यसलाई यो लेखमा ध्यानमा राखिएको छ ।

स्थानीय तहको निर्वाचन–२०७४ मा पाए झैं अनुपातको समर्थन दलहरूलाई प्राप्त भएको भए एवं दलहरूको संरचना र मुहारमा निर्वाचनअघि तात्विक परिवर्तन नआएको भए संघीय र प्रादेशिक निर्वाचनको परिणाम कस्तो हुनेथियो भनेर प्रक्षेपण गरिएको तलको चार्टबाट प्रारम्भ गरौं ।

संघीय निर्वाचनको प्रक्षेपण

प्रादेशिक तह (सातै प्रदेशको संयुक्त)को प्रक्षेपण

२०७४ को मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनको परिणाम चाहिं यस्तो आएको छ ।

संघीय निर्वाचन –२०७४

प्रादेशिक निर्वाचन –२०७४

अब स्वाभाविक प्रश्न उठ्छ, स्थानीय तह निर्वाचनको आधारको प्रक्षेपण र वास्तविक निर्वाचनको भिन्नताको कारण के हो ? स्थानीय तह निर्वाचनमा अलग अस्तित्वमा रहेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी संघ र प्रदेशको निर्वाचनमा वाम गठबन्धन बनाई प्रतिस्पर्धामा भाग लिएका थिए भने मधेश प्रदेश (नामकरण हुनुअघि प्रदेश–२) मा राजपा र संघीय समाजवादी फोरमले मधेशकेन्द्रित गठबन्धन बनाई निर्वाचनमा भाग लिएका थिए ।

साथै निर्वाचनअघि ६ वटा प्रदेशको निर्वाचनमा मधेशी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक र मधेश प्रदेशमा नेपाल लोकतान्त्रिक फोरम नामबाट निर्वाचनमा भाग लिएको दलको नेपाली कांग्रेससँग एकीकरण भएको थियो । अब यसै परिवर्तित संरचना र गठबन्धनको स्वरुपमा दलहरूलाई स्थानीय तह निर्वाचन २०७४ मा प्राप्त समर्थन त्यसैगरी जोडिने थियो भन्ने आधारमा संघ र प्रदेशको निर्वाचन परिणाम प्रक्षेपण गरौं ।

संघीय निर्वाचन दोस्रो प्रक्षेपण

प्रादेशिक निर्वाचन (सातै प्रदेशको संयुक्त) दोस्रो प्रक्षेपण

यो प्रक्षेपण वास्तविक परिणामसँग निकै नजिक छ । जस्तो वाम गठबन्धनले संघमा जम्मा १६६ स्थान (प्रक्षेपण १३९), प्रदेशमा २४१ (प्रक्षेपण २४३), नेपाली कांग्रेस संघमा २३ (प्रक्षेपण १६), प्रदेशमा ४१  (प्रक्षेपण ४१) तथा मधेशी गठबन्धनले संघमा २१ (प्रक्षेपण ९), प्रदेशमा ४० (प्रक्षेपण ४३) स्थानमा विजयी भए । संघमा वाम गठबन्धन अलि कम र मधेशी गठबन्धन अलि बढी स्थानमा विजयी भए । मधेशकेन्द्रित दलहरूको विशेष प्रभाव मधेश प्रदेशमा रहेकाले अब मधेश प्रदेशको वास्तविकता  दोस्रो आधारमा प्रक्षेपण अध्ययन गरौं ।

मधेश प्रदेशमा संघीय निर्वाचनको परिणाम

मधेश प्रदेशमा संघीय निर्वाचनको परिणाम (दोस्रो प्रक्षेपण)

मधेश प्रदेशको वास्तविक परिणाम र दोस्रो प्रक्षेपणलाई दाँजेर हेर्ने हो भने मधेश प्रदेशको निर्वाचनमा मधेशी गठबन्धनलाई सफलता प्राप्त भएको देखिन्छ । यो विशेष सफलताको अन्तरंग कारणको आफ्नै महत्व छ र त्यसबारे अनुमान र आकलनको जिम्मा पाठकलाई नै छाड्छु । तर यही तथ्यांकबाट मधेश प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा वास्तविकता र दोस्रो प्रक्षेपण लगभग मिल्दोजुल्दो रहेको प्रष्ट हुन्छ । यसरी छोटो समयबीच सम्पन्न भएका निर्वाचनहरूमा स्थानीय तहको निर्वाचनमा दलहरूको वडाध्यक्ष उम्मेदवारहरूले पाएको समर्थन दलहरूको रूपान्तरित संरचनालाई ध्यानमा राखी प्रक्षेपण गरेमा संघीय, प्रादेशिक निर्वाचन परिणाम पूर्वानुमान गर्न निकै सहज हुने स्थापित हुन्छ ।

अर्थात् आगामी संघीय र प्रादेशिक निर्वाचनअघि राजनीति मौलिक रूपमा भिन्न नभए त्यसै रूपमा र भिन्न रूपमा रूपान्तरित त्यसै अनुसारको परिमार्जन गर्न सके स्थानीय रूपमा वडाध्यक्षले प्राप्त गरेको आधारमा संघ र प्रदेशको निर्वाचनको पूर्वानुमान गर्न सकिनेछ ।

सुरुमा तीन प्रमुख प्रतिस्पर्धी; वाम गठबन्धन, मधेशी गठबन्धनमा आवद्ध दलहरू तथा कांग्रेसले स्थानीय तह तथा संघ एवं प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ प्राप्त गरेको मत तुलना गरौं ।

तीन तहको निर्वाचनमा दलहरूको समर्थनको आधारमा लगभग उस्तै छ । स्थानीयभन्दा संघ र प्रदेशमा वाम गठबन्धनको मताधार सामान्य रूपमा केही संकुचित भएको छ । मधेशी गठबन्धनको मत उल्लेख्य रूपमा (४० प्रतिशत) ले वृद्धि भएको छ भने कांग्रेसको सामान्य रूपमा केही विस्तारित भएको छ । गठबन्धनभित्रका दलहरूको समर्थनको आधार जोड्न केही कठिनाई हुने भएकाले वाम गठबन्धनको मत केही घट्नु स्वाभाविक हो ।

अब प्रत्यक्ष र समानुपातिक निर्वाचनको बीचको संगतिबारे केही चर्चा गरौं ।

समानुपातिकतर्फ वाम गठबन्धनको मत संघ र प्रदेश दुवैमा बढी छ । यो पनि स्वाभाविक हो किनभने गठबन्धनभित्रका दलहरूले समानुपातिकमा प्रत्यक्षमा झैं एकअर्काका लागि होइन, आ–आफ्नो दलका लागि मत माग्न सहज भयो ।

विगतको संविधानसभा निर्वाचनमा झैं कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्षमा केही बढी मत प्राप्त गरेको छ । चर प्रदेशमा प्रत्यक्षतर्फ संघभन्दा प्रदेशमा अलि बढी मत पाएको कांग्रेसले समानुपातिकमा प्रदेशमा केही कम मत पाएको छ । मधेशी गठबन्धनको हकमा प्रदेशमा प्रत्यक्षतर्फ केही कम मताधार देखिए पनि बाँकी तीन निर्वाचनमा मत बराबर जस्तै छ । निष्कर्षमा भन्दा स्थानीय तहको मताधार संघ र प्रदेशको निर्वाचनमा अनुवादित हुने गर्दछ । संघ र प्रदेश तथा प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा सामान्य र मूलतः स्वाभाविक भिन्नता बाहेक लगभग पूर्ण रूपमा संगति हुने गर्दछ ।

प्रादेशिक रूपमा यो निष्कर्ष अनुवादित हुने गर्दछ भन्ने कुरा तल लिएको तालिकाबाट पनि प्रष्ट हुन्छ ।

मधेश प्रदेशको परिणाम भने अन्य प्रदेशभन्दा भिन्न छ । वाम गठबन्धनमा आवद्ध हुँदा एमाले र माओवादीको समर्थन आधार मधेश प्रदेशमा उल्लेख्य रूपमा (२५ प्रतिशत) ले संकुचित भएको छ । यो संकुचनको फाइदा सम्पूर्ण रूपमा मधेशी गठबन्धनमा आवद्ध दुई दललाई प्राप्त भयो । अर्थात् वाम गठबन्धन संघ र प्रदेशको निर्वाचनमा मधेशको मुद्दाभन्दा टाढियो भने मधेशी गठबन्धन मधेश प्रदेशका मतदाताका लागि थप आकर्षक बन्न पुग्यो ।

निष्कर्षमा २०७४ सालमा सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा दलहरूलाई गठबन्धनका रूपमा वा अलग–अलग प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा प्राप्त मताधारमा रहेको संगतिलाई ध्यानमा राख्ने हो भने जुनसुकै प्रकृतिको गठबन्धन निर्माण भए पनि गठबन्धनको प्रकृति अनुसारको सामान्य सहजता/असहजता बाहेक बाँकी कुरामा संघ र प्रदेशको निर्वाचनको परिणाम भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूलाई वडाध्यक्ष प्रदमा प्राप्त समर्थनको आधार पूर्वानुमान गर्न सकिन्छ ।

लेखकको बारेमा
डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?