+
+

नेपालमा हवाईजहाज भन्दा विमानस्थल धेरै

अच्युत पुरी अच्युत पुरी
२०७९ असार २० गते १८:४६
हुम्लाको सिमिकोट विमानस्थल/फाइल तस्वीर

२० असार, काठमाडौं । नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या भने ५२ वटा रहेको छ ।

नेपाल वायुसेवा निगगले उडाइरहेका दुई ट्वीनअटर जहाजसहित ५२ वटा जहाजले त्रिभुवन विमानस्थलसहित ३३ वटा विमानस्थलमा सेवा दिएका छन् ।

नेपालमा यात्रु संख्याका हिसावले तराई भेगका विमानस्थलमा अधिक भीडभाड छ । यसबाहेक पर्यटकीय क्षेत्रमा रहेका विमानस्थल बढी व्यस्त छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालगञ्ज, पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम सल्ले, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी मात्र सञ्चालनमा रहेका छन् ।

नेपालमा ठूला (एटीआर४२/७२, सीआरजे २००/७००, बीएचसी८क्यू४००) जहाज

  • बुद्ध एयर : १४
  • श्री एयरलाइन्स : ८
  • यती एयरलाइन्स : ५
  • सौर्य एयरलाइन्स : ३

नेपालमा रहेका साना (डीएसी–६/एलइटी४१०/जे४१/डीओ२२८) जहाज

  • बुद्ध एयर : २
  • समिट एयर : ४
  • तारा एयर : ३
  • सीता एयर : ४
  • गुण एयरलाइन्स : ७
  • नेपाल वायुसेवा निगम : २

अझै विमानस्थल थप्ने योजनामा सरकार

दुई दर्जन विमानस्थल गौचरणमा परिणत भएपनि सरकार थप विमानस्थल निर्माणको योजनामा भने पछि हटेको छैन । खासगरी पहुँचवाला नेताको दबावमा विमानस्थल परियोजना पार्ने परिपाटीले विमानस्थल निर्माण गर्ने क्रम बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उदयपुरमा विमानस्थल निर्माणको घोषणा गरेको छ । उदयपुर वर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला हो । सरकारले अहिले सिन्धुलीमा समेत विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा विमानस्थल बनाइँदैछ ।

तेह्रथुममा समेत विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । जिल्लाको आठराईमा रहेको चुहानडाँडामा विमानस्थल बन्दैछ । उता, अर्घाखाँचीमा समेत विमानस्थल बनिरहेको छ ।

अन्तर्राष्ट्रियतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ । यस वर्षको बजेटले धनगढी विमानस्थलाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थल बनाउने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको काम अगाडि बढाउने घोषणा गरेको छ । अघिल्लो सरकारले काभ्रेमा समेत विमानस्थल बनाउन निकै जोडबल गरेको थियो । आलोचनापछि सो आयोजना भने अहिले पाइपलाइनमा छैन ।

अस्तित्व नै मेटिने अवस्थामा पुग्दैछन् केही विमानस्थल

विगतमा निकै चलेका केही विमानस्थल यतिबेला सडक यातायातको पहुँच विस्तारसँगै अब अस्तित्व नै मेटिने अवस्थामा पुगेका छन् ।

चितवनको मैघोली, कैलालीको टिकापुर, सोलुखुम्बुको स्याङ्गबोचे, दोलखाको जिरी, बागलुङ, ढोरपाटन, गोरखासहितका विमानस्थलको अस्तित्व भने संकटमा पर्ने अवस्था छ ।

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि चलाउन नसकिएको विमानस्थल मनाङ हो । हालै निर्माण सम्पन्न भएको इलाम र निर्माणको अन्तिम चरणमा रहेको गुल्मी विमानस्थलको भविष्य भने हेर्न बाँकी छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?