+
+

राअविको टोलीलाई उछिन्न खोजेपछि एसएसपी बढुवा पेचिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २१:२७
प्रहरी प्रधान कार्यालय

२० असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी चलिरहेको छ । गृह मन्त्रालय र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वरियताक्रम अनुसार बढुवा गर्ने तयारी गरेका छन् ।

तर पछिल्लो ब्याचका प्रतिष्पर्धीले पनि शक्ति केन्द्रबाट दबाव दिन थालेपछि एसएसपी बढुवा पेचिलो बनेको गृह र प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार प्रहरी हेडक्वार्टर र मन्त्रालय वरियताक्रम अनुसार राष्ट्रिय अनुसन्धानमा स्थान्तरण भएर आएका र २०५४ सालमा निरीक्षक बनेका टोलीलाई बढुवा गर्ने पक्षमा छ ।

राअविमा ५ पुस २०५३ मा भर्ना भएका ३० जना प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकामध्ये गरी ३४ जनालाई एसपीबाट एसएसपी बनाउने गृह मन्त्रालयको तयारी छ ।

तर २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोली पनि अहिले बढुवामा छिर्न लबिइङ गरिरहेकाले बढुवा पेचिलो बनेको हो । २०५६ सालमा प्रहरी निरीक्षक भएकामध्ये विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली, भुपेन्द्रबहादुर खत्री लगायतले एसएसपी हुन जोडबल गरिरहेको स्रोत बताउँछ । अधिकारी, भट्टराई, खनाललाई बालुवारबाटै नछुटाउन गृहमा दबाब छ ।

खत्रीलाई जसरी पनि बढुवामा समेट्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको लबिइङ छ । डीआईजीमा बढुवामा पनि आफ्नो मान्छे नपरेको भन्दै खड्काले एसएसपी बढुवामा जसरी पनि खत्रीलाई समेट्न बालुवाटारमार्फत दबाब दिइरहेको स्रोतको भनाइ छ ।

एसपी राठौरलाई समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाव दिएको स्रोत बताउँछ । यो ब्याचका टोलीले राष्ट्रिय अनुसन्धानबाट आएका टोली गैरव्यवसायिक भएको र पर्याप्त तालिम पनि नलिएको भन्दै सीमितलाई मात्र बढुवा गर्नुपर्ने जिकिर गर्दै आएको छ । विगतमा राअविको टोलीलाई नेपाल प्रहरीमा स्थान्तरण गर्ने बेला पनि ठूलो विवाद भएको थियो ।

शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बेला उनीहरुलाई ‘जबरजस्ती’ नेपाल प्रहरीमा ल्याइएको थियो । त्यसबेला उनीहरुलाई स्थान्तरण गर्दा अन्याय भएको भन्दै प्रहरी निरीक्षकको ११२ र ११३ औं टोलीका इन्स्पेक्टरहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका दिए । तर अदालतले सरकारको निर्णयलाई नै सदर गरिदिएको थियो ।

हाल राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत बढुवाका प्रबल दाबेदार हुन् । यीमध्ये शाह, राना र बस्नेत विवादास्पद छविका प्रहरी मानिन्छन् ।

२०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे प्रतिष्पर्धी हुन् ।

त्यस्तै, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास पनि प्रतिष्पर्धी हुन् ।

यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलीपसिंह र सञ्जिव पनि राअविबाटै स्थानान्तरण भएका अधिकृत हुन् । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बर्खास्त भएर पुनर्वहाली भएका डिल्लीराज विष्ट पनि बढुवाको प्रतिष्पर्धी हुन् । उनका ब्याचका सबै एसएसपी भइसकेका छन् । पुरानो ब्याचका गणेश चन्द पनि बढुवाका आकांक्षी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?