+
+

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

एक तिहाइ कैदी बन्दी जबरजस्ती करणीको अभियोगका

महेश न्यौपाने महेश न्यौपाने
२०७९ असार २१ गते ६:५१

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।

बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कारागार कार्यालय रोल्पाका अनुसार हाल रोल्पा कारागारमा ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् ।

कारागारमा हाल कर्तव्य ज्यान र जबरजस्ती करणीका दुई/दुई जना ६५ वर्षमाथिका जेष्ठ नागरिक कैदी छन् ।

कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका २३ कैदी र १० थुनुवा गरी ३३ जना रहेका छन् ।

यसैगरी जबरजस्ती करणी उद्योगका चार कैदी र एक जना थुनुवा गरी पाँच जना राखिएको छ । जबरस्ती करणीको यो संख्या रोल्पा कारागारमा रहेका कुल कैदीबन्दीको संख्याको एक तिहाइ हो । उक्त कसुरमा सो कारागारमा राजनीतिक दलका स्थापित नेतादेखि नेपाल सरकारका कर्मचारी तथा ६५ वर्षमाथिका जेष्ठ नागरिक समेत छन् ।

कारागारमा हाल ज्यान मार्ने उद्योग २१ पुरुष र ९ महिलासहित ३० जना कैदीबन्दी रहेका छन् । यसैगरी कर्तव्य ज्यान ११ पुरुष र २ महिलासहित १३ कैदी रहेका छन् । कारागारमा लागुऔषधका पाँच पुरुष र ६ महिलासहित ११ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा बालविवाह र बहुविवाहक कसुरमा चार पुरुष र उक महिलासहित पाँच थुनुवा रहेका छन् ।

सवारी ज्यानमा तीन पुरुष कैदीबन्दी रहेका छन् । सवारी अंगभंग तीन पुरुष कैदीबन्दी र मानव बेचबिखनमा एक महिला र एक पुरुष गरी दुई कैदी रहेका छन् ।

नकवजनी चोरीमा दुई पुरुष कैदी रहेका छन् । अपहरण, गर्भपतन, चोरी, कृते, व्यक्ति बेपत्ता र पशु सम्बन्धि कसुरका एक/एक जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा निकै बढी कैदी बन्दी रहँदा आफूहरुको दैनिकी निकै असहज भएको बन्दी खटकबहादुर खत्रीले जानकारी दिए । ‘कारागारको भित्री खुला भागका साथै सुत्ने कोठामा समेत समस्या छ,’ खत्रीले भने ।

कारागारमा सामान्य जिमको व्यवस्था गरिए पनि स्थान अभावमा अन्य कुराको व्यवस्था गरिएको छैन ।

कैदीबन्दीहरु कारागारभित्रै सिपमुलक तालिम गर्न चाहे पनि यसतर्फ राज्यले सहयोग नगरेको खत्रीले गुनासो गरे ।

पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेरेको जेलर विशाल खनालको भनाइ छ । ‘पानी चुहिने छाना र सेन्ट्री पोष्टहरु मर्मत गर्नुका साथै कैदीबन्दीहरुका लागि २ कमन र प्रत्येक कोठामा एटेच ट्वाइलेटको व्यवस्था गरेका छौं,’ खनालले भने ।

कारागारको सुरक्षाका लागि पर्खाल मर्मत तथा काँडेतारको समेत व्यवस्था गरेको उनको भनाइ छ ।

कारागार बनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पूरा गर्न नसके पनि आवश्यक स्रोत साधनको उपयोग गरेर प्रयोग योग्य बनाएको जेलर खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?