+
+
Shares

ज्यान मार्ने उद्योगमा कारागार, फरार भएर प्रहरी कार्यालयमै लुटपाट र चोरी

कारगारबाट फरार भएपछि विवश प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । प्रहरी कार्यालयको हाताबाट मोटरसाइकल चोरेर लगेको आरोप उनीमाथि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिका-७ का विवश जलारीले ट्याक्सी र मोटरसाइकल ठोक्किएपछि क्षतिपूर्ति दिने भन्दै मोटरसाइकल चालकमाथि आक्रमण गरेका थिए।
  • विवशलाई जिल्ला अदालत कास्कीले ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान गर्‍यो र जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भए।
  • जिल्ला प्रहरी कार्यालय कास्कीले विवशलाई पक्राउ गरी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा अनुसन्धान गरिरहेको छ र अहिलेसम्म २९ जनालाई पक्राउ गरिसकेको छ।

१४ कात्तिक, पोखरा । पोखरा महानगरपालिका-७ घारीपाटन बस्ने विवश जलारी ट्याक्सी चलाउँथे । करिब २ महिनाअघि पोखरामा उनको ट्याक्सी र एउटा मोटरसाइकल ठोक्कियो ।

विवश र मोटरसाइकल चालकबीच भनाभन मात्रै भएन, एकले अर्काको दोष देखाउँदै क्षतिपूर्ति मागे । पछि विवशले क्षतिपूर्ति दिने भन्दै मोटरसाइकल चालकलाई बोलाएर अन्य केही व्यक्तिसहित आक्रमण गरे ।

गम्भीर घाइते बनेका मोटरसाइकल चालकको उपचार खर्च मात्रै ५ लाग्ने देखियो भने आक्रमणको घटना प्रहरीसम्म पुग्यो । प्रहरीले विवश लगायतलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलायो । र, विवशलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्‍यो ।

विवश कारागार चलान भएको करिब २५ दिन मात्र भएको थियो । जेनजी आन्दोलनका क्रममा कास्की कारगारबाट सबै कैदीबन्दी फरार हुँदा उनी पनि भागे । कारागारबाट फरार भएसँगै विवश प्रहरी कार्यालयमै पुगेर लुटपाटमा संलग्न भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विवशलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको डिजिटल क्यामेरा, एनएस मोटरसाइकलसहित उनी पक्राउ परेका हुन् ।

‘विवशले पोखरामै ट्याक्सी चलाउने रहेछन् । ट्याक्सी र मोटरसाइकल ठोक्किएपछि विवाद भएछ र क्षतिपूर्ति दिन्छु भन्दै बोलाएर आक्रमण गरेका रहेछन्,’ कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान भएको करिब २५ दिनपछि जेनजी आन्दोलनका क्रममा उनी पनि फरार भएको पाइयो ।’

प्रहरीका अनुसार विवश कारगारबाट फरार भएपछि प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । प्रहरी कार्यालयको हाताबाट मोटरसाइकल चोरेर लगेको आरोप उनीमाथि छ ।

उनीमाथि उपद्रव मुद्दामा अनुसन्धान भइरहेको र यो मुद्दाको टुंगो लागेसँगै पुरानो मुद्दाका कारण पनि कारागारमा बुझाइने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गर्नेलाई पक्राउ गरिरहेको छ ।

प्रहरीले अहिलेसम्म २९ जनालाई पक्राउ गरिसकेको छ । त्यसमध्ये ११ जनालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

२४ गते कास्कीमा जिल्ला प्रहरी कार्यालय र मातहतका २७ वटा कार्यालय तोडफोड तथा आगजनी भएका थिए । अहिले ती सबै नागरिकको सहयोगमा सञ्चालनमा आइसकेको छ ।

आफ्नै कार्यालय ध्वस्त पार्नेलाई धमाधम प्रक्राउ गरिरहेको प्रहरीले अन्य सरकारी संरचना र निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्नेलाई पनि पक्राउ गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?