+
+

जुम्ल्याहा दाजुभाइले बनाए मान्छेबिनै चिया बेच्ने मेसिन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २०:०९

२१ असार, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लब र कुश पन्थीले सफ्टवेयरमार्फत मान्छेबिनै चिया बिक्री गर्न सक्ने मेसिन (टी–स्क्यान) बनाएका छन् ।

विज्ञान विषयमा कक्षा १२ उतीर्ण गरेका १८ वर्षका उनीहरुले ६ महिना लगाएर बनाएको सफ्टवेयरले क्यूआर कोड स्क्यानमार्फत मान्छेको भौतिक उपस्थितिबिनै चिया बेच्न सक्ने प्रविधि विकास गरेका हुन् ।

यो प्रविधिमा चिया राख्ने मेसिनको माथिलो भागमा क्यूआर कोड राखिएको छ, जसमा ग्राहकले आफ्नो ई–सेवा वालेट तथा मोबाइल बैकिङ एपको सहायताले कोडलाई स्क्यान गरेर रकम तिरेपछि मेसिनको चिया कपमा झर्छ ।

‘चियाको मूल्य बराबरको रकम खातामा गएपछि मात्र चिया झर्छ र कप भरिएपछि अटोमेटिक रुपमा बन्द हुन्छ’ सफ्टवेयर निर्माता लब पन्थीले भने, ‘एक पटक पकाएको चिया ६ देखि ७ घन्टा सम्म एउटै तापक्रममा रहन्छ ।’

लब-कुशको दावी अनुसार क्यूआर कोड स्क्यान गरेर चिया बिक्री गर्न मिल्ने सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो हो । यसबाट चिया मात्र नभई जुस दूध लगायत तरल पदार्थ बेच्न सकिन्छ ।

क्यूआर कोड पेमेन्ट सिष्टममा ई–सेवाले सहकार्य गरेको छ । यो सफ्टवेयरको व्यवसायिक प्रयोग भएको खण्डमा अस्पताल लगायत सार्वजनिक स्थानमा चिया पसल वा थर्मसमा बोकेर चिया बेच्ने झञ्झट नहुने लब पन्थीले बताए । सफ्टवेयर सहित ५ लिटरको चिया मेसिन बनाउन २६ हजार रुपैयाँ खर्च लागेको उनले बताए ।

तिलोत्तमा क्याम्पस बुटवलबाट १२ कक्षा उतीर्ण गरेका उनीहरुले यसअघि नेपालकै पहिलो नेपाली भाषा बोल्ने मार्स रोबोट र कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगमा ल्याउन सकिने नर्स रोबोट ‘गो कोरोना रोबोट’ बनाएका थिए ।

गो कोरोना रोबोटलाई उनीहरुले प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । रोबोटमार्फत नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने आफूहरुको उद्देश्य रहेको तर सरकारी निकायबाट प्रोत्साहन नभएको उनीहरुको गुनासो छ ।

‘नयाँ नयाँ रोबोट बनाएर देशलाई योगदान गर्न चाहन्छौं तर आर्थिक अवस्था कमजोर भएकाले सरकारको सहयोग र प्रोत्साहन चाहेका छौं’, कुश पन्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?