+
+

अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यताबारे फरक बहस 

नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्तिमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतको नबनाउने हो भने हब विमानस्थलको गफ पनि सपना मात्र नहोला भन्न सकिन्न ।

तुलसी पौडेल तुलसी पौडेल
२०७९ असार २२ गते १०:११

सर्वोच्च अदालतको आदेशको कारण अहिले चर्चामा छ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । वातावरणीय प्रभाव पर्ने भन्दै अदालतले निर्माण सम्बन्धी सबै काम नगर्न आदेश दिंदा यसको पक्ष र विपक्षमा आवाज उठिरहेका छन् । पक्षमा भएकाले गेम चेन्जर परियोजना नभई हुन्न भनेका छन् भने विपक्षमा भएकाले वन जंगलसँगै पर्यावरण मास्न पाइँदैन भनेर आवाज उठाइरहेको देखिन्छ । आउनुहोस्- वातावरण कि विकास भन्नेबाट अलिकति फरक बहस गरौं ।

ठूलो अन्तर्राष्ट्रिय विमानस्थल 

साउदी अरबले दमाममा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनायो जसको नाम हो किंग फाहद अन्तर्राष्ट्रिय विमानस्थल। यसको क्षेत्रफल लगभग ७७६ वर्ग किलोमिटर छ । दुई वटा रनवे सहितको यो विशाल विमानस्थल हाम्रो काठमाडौं उपत्यका (करिब ६०० वर्ग किमी) भन्दा पनि ठूलो छ । विमानस्थल ठूलो भए पनि यात्रुको चाप अनुसार हेर्ने हो भने यो विमानस्थल विश्वका ‘पहिलो १००’ भित्र पनि पर्दैन । अझै साउदी अरब भित्र पनि तेस्रोमा पर्दछ ।

अब कुरा गरौं अमेरिकाको एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको। यसको क्षेत्रफल जम्मा २० वर्ग किमी छ र ५ वटा समानान्तर धावनमार्ग छन् । यो संसारकै सबैभन्दा व्यस्त विमानस्थल मध्ये पर्छ । सन् २०१९ मा यो विमानस्थल प्रयोग गरेर लगभग ११ करोड मान्छेले यात्रा गरे ।

इन्डोनेसिया दक्षिणपूर्वी एशियाको प्रमुख गन्तव्य हो । राजधानी जकार्तामा रहेको सोकार्नो अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा समानान्तर धावनमार्ग रहेका छन् । वार्षिक दुई करोड भन्दा बढी यात्रुलाई सेवा दिने यो विमानस्थल इन्डोनेसियाकै सबैभन्दा ठूलो अनि व्यस्त विमानस्थल भए पनि यसको क्षेत्रफल भने जम्मा १८ वर्ग किमी जति छ । त्यसैले यी उदाहरणबाट स्पष्ट हुन्छ कि विमानस्थलको आकार ठूलो हुँदैमा सबै कुरा हुन्छ भन्ने हुँदै होइन ।

निजगढको कुरा गर्दा सरकारले ८ हजार हेक्टर क्षेत्रफलमा एयरपोर्ट सिटीसहितको बनाउने भनेको छ । तीन वटा धावनमार्ग सहित बनाए पनि बढीमा २ हजार हेक्टर भित्र विमानस्थलका सबै संरचना बन्ने देखिन्छ । बाँकी ६ हजार हेक्टरको एयरपोर्ट सिटी बनाउने भनिएको छ। उक्त क्षेत्रमा रहेको तत्काललाई घना जंगल काटेर नयाँ शहर बसाउनु भन्दा नजिकैका सिमरा र निजगढमा पूर्वाधार विकास गर्दा उत्तम हुने देखिन्छ ।

विमानस्थलको व्यस्तता पर्यटक आगमन 

श्रीलंकाको माताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलको कथा भने बेग्लै छ । सन् २०१३ मा सुरु भएको यो विमानस्थलको लागत २०९ मिलियन अमेरिकी डलर थियो । जंगलको बीचमा बनेको यो विमानस्थल सही स्थानको छनोट नहुँदा अहिले बन्द जस्तै छ । धेरै विमान कम्पनीहरूले त्यहाँबाट उडान गर्दा लाभ नदेखेर सेवा बन्द गरे । योसँगै नयाँ विमानस्थलको वार्षिक घाटा लगभग १८ मिलियन डलर पुग्न थाल्यो । अहिले यो विमानस्थल सेतो हात्ती सावित भएको छ । फोर्ब्स पत्रिकाले एकपटक ‘विश्वकै सबैभन्दा खाली विमानस्थल’ भनेर लेख प्रकाशित गरेको थियो । अहिले यसको कार्गो टर्मिनलहरू कुनै एउटा कृषि उत्पादन राख्ने कम्पनीले प्रयोग गरिरहेको छ ।

मेक्सिको एउटा प्रसिद्ध अन्तर्राष्ट्रिय गन्तव्य हो । सन् २०१४ मा बढ्दो यात्रुको चाप धान्न नसकेर मेक्सिको सिटी अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोजियो । सुरुमा टेस्कोको विमानस्थल बनाउने भनेर घोषणा गरे पनि पछि रद्द भयो । सन् २०१९ मा फेलिप एन्जल्स अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको विमानस्थल भन्दा लगभग ४५ किलोमिटर पर निर्माण सुरु भयो । भर्खरै २०२२ को मार्चमा यो विमानस्थल संचालनमा आएको छ । संचालनमा त आयो तर यो विमानस्थल सोचे जस्तो सफल नहोला कि भन्ने आशंका उब्जिएको छ । पुरानो विमानस्थल र नयाँ विमानस्थल बीच द्रुतमार्ग र मेक्सिको सिटीसँगको मुख्य रेलमार्ग पनि समयमा सम्पन्न नहुँदा विमानस्थल सोचेजस्तो सहज नभएको निष्कर्ष निकाल्न थालिएको छ । साथै आधुनिक प्रभावकारी ‘कनेक्टिभिटी’ नहुँदा धेरै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान भर्न सकेका छैनन् ।

हाम्रोमा पनि निजगढ-काठमाडौं द्रुतमार्ग विना अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य छैन । विमानस्थल निर्माण सम्पन्न हुँदा द्रुतमार्ग पनि सम्पन्न भइसकेको हुनुपर्छ । निजगढ विमानस्थल बन्ने तर द्रुतमार्ग समयमा सम्पन्न नहुने हो भने विमानस्थललाई देशको राजधानी जोड्न असहज हुन्छ । यसको कारण विमानस्थलमा उडान भर्न विमान कम्पनीहरूले रुचि नदेखाउन सक्छन् । फलस्वरूप विमानस्थलको ‘कनेक्टिभिटी’ मा असर पर्छ ।

त्यसैले विमानस्थल बनाएर मात्र हुन्न संचालन पूर्व कम्तिमा देशको राजधानी शहर र अरु ठूला शहरहरू विमानस्थलसँग जोडिनुपर्छ । अहिलेको नेपालको यातायातको पूर्वाधार पक्कै पर्याप्त हुँदैन । सँगसँगै अन्तर्राष्ट्रिय ठूला शहरहरूसँगको उडानको सुनिश्चितता पनि हुनुपर्छ ।

पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक हुन्छ । हवाई मार्ग प्रयोग गरेर आउने पर्यटकको संख्या धेरै हुने हुँदा सुविधासम्पन्न विमानस्थल अपरिहार्य छ । अहिले भैरहवा र पोखरा पूर्ण संचालनमा नआएको सन्दर्भमा त्रिभुवन विमानस्थल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१९ मा नेपालको त्रिभुवन विमानस्थल प्रयोग गरेर जम्मा ४१ लाख जनाले आवतजावत गरे (आन्तरिक बाहेक) ।

स्मरण रहोस्- नेपालमा सन् २०१९ मा लगभग १२ लाख पर्यटक आएका थिए । सन् २०१९ को तथ्यांक हेर्ने हो भने त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय भन्दा पनि आन्तरिक टर्मिनल व्यस्त देखिन्छ । नेपालको सडक यातायात प्रभावकारी नहुँदा र रेल यातायातको विकास नभएकोले आन्तरिक हवाई यातायातमा बढी चाप देखिएको हो । कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को सुरुवात सँगै पर्यटन आवागमनमा ठूलो असर पर्‍यो । यसको फलस्वरूप कोरोनाले आक्रान्त पारेको पर्यटन क्षेत्र पहिलाको अवस्थामा आउन अझै धेरै समय लाग्ने देखिन्छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक हुरुरु आउँछन् भन्ने कदापि होइन । त्यसको लागि एयरपोर्ट नजिक पर्याप्त पर्यटन गन्तव्यको विकास हुनुपर्छ । निजगढबाट नजिकका चितवन राष्ट्रिय निकुन्ज, पर्सा वन्यजन्तु आरक्ष, जनकपुरधाम जस्ता गन्तव्यहरूको सही तरिकाले प्रवर्धन गरियो भने फलदायी हुनसक्छ । निजगढ विमानस्थलसँगै नेपालमा चारवटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन् । यसको मतलब यी सबै विमानस्थललाई व्यस्त बनाउन पनि अन्तर्राष्ट्रिय पर्यटक आगमनलाई गणितीय रूपमा बढाउनुपर्नेछ ।

असीमित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल आफैंमा अद्भुत गन्तव्य हो । सरकारी र निजी साझेदारीमा पर्यटन प्रवर्धन कार्यक्रम ल्याउने र पर्याप्त मात्रामा पर्यटन पूर्वाधारहरूको विकास गर्ने हो भने पर्यटक आगमन बढाउन असम्भव नभए पनि सहज भने पक्कै छैन ।

हब विमानस्थल तथा हवाई कार्गोको सम्भावना 

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्ल्युटीटीसी) ले सन् २०१८ मा एउटा श्वेत पत्र प्रकाशन गरेको थियो। क्रिएटिङ अ टुरिज्म डेस्टिनेसन फ्रम एन एयरपोर्ट हब शीर्षकको उक्त श्वेतपत्रमा भनिएको छ- ‘हब विमानस्थलबाट पर्यटन विकास गर्नको लागि, आर्थिक रूपमा सबल तथा प्रतिष्ठित राष्ट्रिय एयरलाइन, इनबाउन्ड पर्यटनको प्रचुर सम्भावना, पर्याप्त पूर्वाधार र केन्द्रीय तहबाट गन्तव्य र उड्डयन विकासको दीर्घकालीन भिजन हुनुपर्दछ ।’ उदाहरणको लागि सिंगापुर, हङकङ, दुबई जस्ता शहरहरू हब गन्तव्यको रूपमा विकास हुनुमा माथि उल्लिखित कुराहरूको सुनिश्चितता नै हो ।

‘ओएजी मेगाहब्स इन्टरनेशनल इन्डेक्स २०१९’ का अनुसार बेलायतको हिथ्रो विमानस्थल धेरै “कनेक्टेड उडान” गर्ने मध्येमा पहिलो नम्बरमा पर्छ । यसको “कनेक्टिभिटी स्कोर” ३१७ छ। जर्मनीको फ्र्यांकफर्ट विमानस्थलको ३०९ र अमेरिकाको शिकागो विमानस्थलको २९० छ । “कनेक्टिभिटी स्कोर” जति बढी हुन्छ त्यति नै हब विमानस्थलको रूपमा सफल मानिन्छ । एशियामा भने सिंगापुर विमानस्थल पहिलो र हङकङ विमानस्थल दोस्रोमा पर्छन् । यी सबै विमानस्थलको विशेषता के हो भने यिनलाई आधार बनाएर ठूला ठूला विमान कम्पनीहरूले उडान गर्छन् । जस्तै ब्रिटिश एयरवेज, लुफ्थान्सा, अमेरिकन एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक आदि ।

अहिलेको नेपालको अवस्था हेर्ने हो हाम्रो ध्वजावाहक तथा अरु नेपाली विमान कम्पनीहरू डब्ल्युटीटीसीको रिपोर्टमा भनिए जस्तो प्रतिष्ठित त छैनन् नै, आर्थिक रूपमा सबल पनि छैनन् । अर्को कुरा ‘कनेक्टिंग’ उडानको लागि भौगोलिक रूपमा पनि सहज हुनुपर्छ । नेपाल भएर पूर्व, पश्चिम, उत्तर वा दक्षिणका अन्तर्राष्ट्रिय शहरहरूमा उडान भर्न कत्तिको सहज होला ? यदि श्रीलंकाको माताला विमानस्थलको जस्तो निजगढ भएर उडान गर्दा अरु अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले फाइदा देखेनन् भने हब विमानस्थलको रूपमा विकास गर्न गाह्रो हुनेछ । यसको लागि दूरी, लागत, भौगोलिक सहजता, अन्तर्राष्ट्रिय उडान रुट लगायत विषयमा विस्तृत अध्ययन हुनु जरुरी छ ।

अर्को महत्वपूर्ण कुरा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्तिमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतको नबनाउने हो भने हब विमानस्थलको गफ पनि सपना मात्र नहोला भन्न सकिन्न ।

भूपरिवेष्टित देश भएको हुँदा अन्तर्राष्ट्रिय व्यापारको लागि पनि अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता हुन्छ । तेस्रो देशबाट कार्गो गरी सामान ल्याउन सजिलो, सहज र कम समय लाग्ने हुँदा उपुक्त हुन्छ । तर यो सडक मार्ग भन्दा ४-५ गुणा महँगो र सामुद्रिक मार्ग भन्दा १२-१६ गुणा महँगो हुन्छ ।

विश्व बैंकको एउटा रिपोर्टमा भनिएको छ विकासोन्मुख देशहरूमा दुईतर्फी कार्गो हुने सम्भावना कम हुने हुँदा तुलनात्मक रूपमा हवाई कार्गो कम उपयोगी हुन्छ । हवाई कार्गोलाई प्रभावकारी बनाउने हो भने विदेशी एयरलाइनको सहज पहुँचसँगै विमानस्थलको संचालनमा सुधार गर्नुपर्ने हुन्छ । बढ्दो हवाई इन्धनको मूल्यले गर्दा हवाई कार्गो प्रभावकारिता कम भए पनि दीर्घकालीन रूपमा ‘ट्राफिक’ बढ्ने नै देखिन्छ । नेपाल जस्तो देशमा एकतर्फी कार्गो बढी हुने भएकाले महँगो हुने त भयो नै तर पनि ठूला जहाज अवतरण गर्दा कार्गो सेवा व्यवस्थित रूपमा संचालन गर्न सकेमा फाइदा हुन सक्छ । यद्यपि स्थल पारवहनको विकल्प हवाई कार्गो अझ नेपाल जस्तो कम विकसित देशको लागि भने पक्कै पनि होइन ।

र अन्त्यमा, त्रिभुवन विमानस्थल पक्कै पनि नेपालको लागि पर्याप्त छैन । तत्कालका लागि त्रिभुवन विमानस्थलको हवाई चापलाई कम गर्न हालसालै बनेका दुइटा विमानस्थलहरूलाई प्रयोग गर्न सकिन्छ । भैरहवा विमानस्थलको धावनमार्गको लम्बाइ कम्तिमा ६०० मिटर बढाउने हो भने ठूला विमान अवतरण गराउन सकिन्छ । पोखरा विमानस्थलमा पनि मझौला आकारका विमान अवतरण गर्न मिल्ने भनिएको छ ।

तत्काल त्रिभुवन विमानस्थलको हवाई ट्राफिक भैरहवा र पोखरा डाइभर्ट गर्दा धेरै समस्या समाधान हुने देखिन्छ । भैरहवामा अवतरण गर्ने एयर स्पेसको लागि यथाशीघ्र भारतसँग उच्च तहमा वार्ता गर्नुपर्छ । यदि अहिले बनिरहेका दुईवटा विमानस्थललाई मात्रै पूर्ण क्षमतामा चलाउने हो भने नेपालको अहिलेको हवाई यात्रु चाप समाधान गर्न सकिन्छ भने आगामी केही वर्षसम्म पनि सजिलै धान्ने अवस्था छ ।

दीर्घकालीन रूपमा निजगढ विमानस्थलको विकल्प छैन नै । किनभने प्रचुर पर्यटनको सम्भावना, बढ्दो विश्वव्यापीकरणले गर्दा आगामी दिनमा नेपाल अझै धेरै अन्तर्राष्ट्रिय हवाई संजालमा जोडिंदै जानेछ । यसो भन्दैमा तुरुन्तै तीनवटा धावनमार्ग भएको एयरपोर्ट सिटी सहितको भयंकर बनाउनुपर्छ भन्ने पनि होइन । सुरुमा एउटा रनवे सहितको एउटा टर्मिनल संचालनमा आउने गरी निर्माण गर्दा वातावरणीय रूपमा कम क्षतिमा बनाउन सकिन्छ । यसो गर्दा कम आर्थिक भार पर्ने तथा छिटो निर्माण सकिएर विमानस्थल संचालनमा ल्याउन सकिन्छ ।

पछि हवाई यात्रुको चाप बढ्दै गयो भने त्यही अनुसार विस्तार गर्दा हुन्छ । यसरी विमानस्थल बनाउन तुरुन्त ठूलो बजेट पनि नचाहिने तथा संचालनमा आएपछि विमानस्थलले आफैं आम्दानी गर्न सुरु गर्ने भएकाले केही हदसम्म भए पनि आर्थिक भार कम पर्न जान्छ । अहिले विश्वका अति व्यस्त विमानस्थलहरू पनि सुरुमा एउटा रनवेबाट विस्तार गर्दै गर्दै बनेका हुन् । त्यसैले अहिले नै निजगढलाई दुबई, सिंगापुर, हङकङ बनाउने हचुवा विकासे गफ भन्दा धरातलीय यथार्थ बुझेर निर्माणको मोडेल बनाउँदा उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?