+
+

हुर्किए पुष्पा र अञ्जली

यिनीहरुलाई जंगलमा छाडेको दिन म टुहुरो हुन्छुहोला : महतरा

सुवास पण्डित सुवास पण्डित
२०७९ असार २२ गते १३:३२

२२ असार, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुसँग लडिबुडी गर्दै हुर्किएका पुष्पा र अञ्जलीका लागि कोषको आँगन अब साँघुरो भएको छ । पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला भएको छ । तर कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनुपर्ने चुनौती छ ।

जन्मिएलगत्तै आमाबाट छुटेका थिए यी दुई गैंडाका केटीहरु । तिनलाई कोषका कर्मचारीहरुले उद्धार गरेर ल्याए र नाम राखिदिए– पुष्पा र अञ्जली । पुष्पा २८ महिनाकी र अञ्जली १४ महिनाका भए । उनीहरुलाई एकैपटक सम्बोधन गर्दा कर्मचारीहरु ‘पुष्पाञ्जली’ भन्छन् ।

पहिले त्यही कोषको चौरमा छुनुमुनु गरेर दिन कटाउने पुष्पा र अञ्जली हिजोआज बजारतिरसम्म डुल्न थालेका छन् । आफू गएको पाइला सुँघ्दै फर्कने भएकाले हराउँदैनन् । तर, कहिलेकाहीँ अल्मलिन्छन् । नजिकैको जंगलमा सँगसँगै जाने र चर्ने गर्छन् ।

पुष्पाञ्जलीको रेखदेखका लागि खटिएका चितवन राष्ट्रिय निकुञ्जका लालबहादुर महतराका उनुसार उनीहरु दुबै स्वस्थ छन् । महतराले भने, ‘पुष्पा अञ्जलीलाई माया गर्छिन् । आफू जता जान्छिन् अञ्जलीलाई पनि उतै लैजान्छिन् । पुष्पालाई एकछिन नदेख्दा पनि अञ्जली खोज्छिन्, कराउँछिन् । एकै घरका दिदी–बहिनी जस्तो गरेर हुर्किएका छन् ।’

गैंडाका साना बच्चा हुर्काउनु आफैंमा चुनौतीपूर्ण मानिन्छ । तर पुष्पाञ्जलीलाई लालबहादुरले आमाको जस्तै ममता दिएर हुर्काए । उनी अहिले पनि अञ्जलीलाई दूध खुवाउँछन् । पुष्पाले दूध खान छाडेकी छिन् तर अञ्जलीले दैनिक १५ लिटर दूध खान्छिन् । महतरा भन्छन्, ‘अञ्जली भरखरै १४ महिनाको मात्रै भएकाले दूध दिने गरेका छौं, आमासँगै हुनेले पनि यो उमेरसम्म दूध खान्छन् ।’ उनका अनुसार जंगलमा तीन वर्षको हुँदासम्म गैंडाका बच्चा आमासँगै हिँड्छन् ।

कर्मचारीको मायामा हुर्किए

बिहान ५ बजे खोरबाट बाहिर निकालेपछि एकछिन कोषको चौर परिसरमा पुष्पा र अञ्जली रमाउँछन् । अग्ला रुखको जंगल छिचोलेर आउने सूर्यको किरणसँग पुष्पाञ्जलीको छुनुमुनु हेर्नलायक हुन्छ । एउटै आमाले जन्माएका सन्तान जस्ता लाग्छन् पुष्पा र अञ्जली  । पुष्पाञ्जलीको आमाको भूमिका छन् महतरा । अलि साना हुँदा अरु कर्मचारीले पनि सहयोग गर्थे तर अहिले ठूला हुँदै गएकाले महतराले मात्रै हेर्छन् । साँझ खोरमा पठाउनु अघि पकाएको कुँडो पुष्पालाई दुई केजी र अञ्जलीलाई एक केजी खुवाउने गरिन्छ । हिउँदयामको लामो रातमा खोरभित्र घाँस पनि राख्ने गरिएकोमा अहिले भने राखिएको छैन । हाल धेरै गर्मी भएकाले दिउँसो घाम चर्किएको बेलामा आहाल खेल्न खोज्दा महतराले घोलमा लैजान्छन् । उनीहरु खेलिञ्जेल हेर्छन् । महतरा हिँडेपछि उनीहरु पनि पछि–पछि आउँछन् । भोक लाग्दा भैंसीको जस्तो आवाज निकालेर कराउने गरेको महतरा बताउँछन् ।

सानो छँदा अञ्जलीलाई दूध खुवाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी लालबहादुर महतरा

कोषका चिकित्सकहरुले ६/६ महिनामा पुष्पा र अञ्जलीको स्वास्थ्य जाँच गरिरहन्छन् । अहिलेसम्म दुबैको स्वास्थ्य राम्रो छ । जंगलबार ल्याएदेखि खासै बिरामी भएका छैनन् । उमेर अनुसारको वजन भए/नभएको, पानी पुगे/नपुगेको, पेट र दिसामा केही खराबी भए/नभएको, शरीरमा घाउचोट भए/नभएको र उमेर अनुसारको पोषण पुगे/नपुगेको चिकित्सकहरुले निगरानी गरिरहेका हुन्छन् । आमाको दूध खाएका र जंगल भित्र प्राकृतिक रुपले हुर्किएको जस्तो गरी उनीहरुको वजन त छैन तर नराम्रोसमेत नभएको उनीहरुलाई हेर्ने महतरा बताउँछन् । महतरा भन्छन्, ‘आमाको दूध पोषिलो हुन्छ, हामीले दिने दूध त्यति पोषिलो हुँदैन, आमासँग हुँदा जति बेला पनि दूध खान सक्छन् तर यहाँ त्यस्तो अलि हुँदैन ।’

निकुञ्जका धेरैजसो भेटेनरी चिकित्सकहरु पूर्वी सेक्टरमा नै बस्ने भएकाले गैंडाका टुहुरा बच्चाहरुलाई कोषको कार्यालय परिसरमै राख्ने र हुर्काउने गरिएको छ ।

कसरी ल्याइए पुष्पा र अञ्जली ?

गत वर्षको माघमा चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै रहेकी पुष्पाको साथी हुन आइन् अञ्जली । २०७७ को गैंडा गणनाको क्रममा चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरको दिव्यपुरी क्षेत्रमा करीब एक साताको गैंडाको बच्चा अलपत्र अवस्थामा भेटियो ।

गैंडा गणकहरू निकैबेर अडिएर उसको आमालाई पर्खिए । लामो समय पर्खिंदा पनि कुनै माउ गैंडा आएन । बच्चा निकै थकित, कमजोर र भोकाएको अवस्थामा देखिन्थ्यो । वरपर बाघका पाइलाहरुसमेत थिए । बाघको आक्रमणबाट १० प्रतिशत गैंडा मर्ने गरेका छन् । गैंडाको बच्चालाई त्यसै छाड्दा बाघले मार्न सक्ने वा बच्चा भोकले मर्न सक्ने अवस्थाको विश्लेषण गरेर त्यसलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा ल्याइयो । लालबहादुरले ७ दिनको गैंडाको बच्चाको नाम राखिदिए ‘अञ्जली’ ।

अञ्जलीभन्दा अगाडि २०७६ सालको माघमा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एक साताको गैंडाको बच्चालाई अञ्जलीलाई जस्तै गरी उद्धार गरेर ल्याइयो । फूलजस्तै लागेकाले कोषका कर्मचारीले न्वारन गरेर नाम राखिदिए ‘पुष्पा’ । कोषमा हुर्काइएका गैंडाका टुहुरा केटाकेटी मध्ये सबैभन्दा सानो उमेरमा ल्याएको पुष्पा र अञ्जली नै हुन् ।

सानो छँदा पुष्पा

निकै सानो अवस्थामा ल्याइएकी पुष्पा र अञ्जलीलाई निकै दुःख र मिहिनेत गरेर कोषका कर्मचारीहरुले हुर्काए । ‘सुत्केरी आमाले साना छोराछोरीलाई तोरी तेल लगाएदिए जस्तै गरी हामीले पुष्पा र अञ्जलीलाई तेल लगाइदिन्थ्यौं, नुहाइदिएर घाममा सुताउथ्यौं, विगतको दिन सम्झिदै कोषका एक कर्मचारी लालबहादुर भन्छन्, ‘यहाँ ल्याउँदा जम्मा एक हप्ताको मात्रै थिए, शरीर पूरै रातो थियो, तर अहिले यति ठूला भैसके, आनन्द लाग्छ ।’ उनले आफू सुत्ने कोठाको खाट नजिकै लगेर सुताउने गरेको सुनाए । जंगलमा भेटिँदा जुरुक्क उठाएर गाडीमा हालेर ल्याइएका पुष्पाञ्जली अचेल हल्लाउनसमेत नसकिने भएका छन् ।

पुष्पाञ्जलीलाई जंगलमा छाडेको दिन म टुहुरो हुन्छु : महतरा

पुष्पा र अञ्जली ठूला हुँदै जाँदा उनीहरुको रेखदेख सानैबाट गर्दै आएका लालबहादुर महतरालाई भने चिन्ता थपिन थालेको छ । ठूलो हुँदै गएकाले अब उनीहरुलाई जंगलमा छाड्नुपर्छ । आफ्नै सन्तान जसरी हुर्काएका ती पुष्पाञ्जलीलाई जंगलमा छाड्ने कुराले उनको मन पिरोलिन्छ । ‘पुष्पा र अञ्जली दुबैलाई आमाले दिएको जस्तै ममता दिएँ, राति–राति उठेर दुई–दुई घण्टाको फरकमा दूध खुवाएँ, नुहाइदिएर तेल लगाइदिएँ, जाडोमा न्यायो बनाएर हुर्काइयो,’ महतरा भन्छन्, ‘यिनीहरूको माया असाध्यै लाग्छ ।’

आफू अविवाहित भए पनि छोराछोरी हुर्काएको जस्तो अनुभव पुष्पाञ्जलीले दिएको उनी बताउँछन् । ‘अहिले पनि काखमा आउँछन् । बेला–बेला पछाडि आएर मेरो गर्धनमा आफ्नो टाउको टेकाउँछन्,’ महतराले अनलाइनखबरसँग भने, ‘चकचक नगर भन्दा ज्ञानी हुन्छन्, यता आऊ भन्दा आउँछन्, बस भन्दा बस्छन्, उठ भन्दा उठ्छन्, मेरो इशारा सबै बुझ्छन् ।’

पुष्पा र अञ्जलीसँग लालबहादुर महतरा

पुष्पाञ्जलीलाई जंगलमा छाडेको दिन आफूलाई निकै नरमाइलो लाग्ने महतरा बताउँछन् । ‘यिनीहरु टुहुरा थिए, यहाँ ल्याएर हुर्काइयो, अब यिनीहरूले छाडेर जाँदा म टुहुरो हुन्छु होला,’ महतरा भन्छन्, ‘यिनीहरु सोझा छन्, भाग्न जान्दैनन्, जंगलमा हुर्किएको जस्ता हुँदैन तर के गर्ने सधैं यहीँ राखेर पनि भएन, विदाई त एक दिन गर्नु नै पर्छ होला ।’

कोषमा हुर्काइएका ६ वटा ‘केटाकेटी’ मध्ये पुष्पा नै पहिलो र अञ्जली दोस्रो केटी हुन् । यसअघि कोषमा बीरू, बाङ्गे, मंगले, मेघौली र त्रिवेणीलाई हुर्काइएको थियो । उनीहरु सबै ‘केटा’ हुन् ।

‘वाइल्ड’ बनाउने चुनौती

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने पुष्पा र अञ्जलीलाई कहिले जंगलमा छाड्ने भन्नेबारे छलफल हुन बाँकी नै रहेको बताउँछन् । यद्यपि पुष्पाञ्जली पोथी गैंडा भएकाले यिनीहरुलाई जंगलमा छाड्दा गैंडाको संख्या बढाउन मद्दत पुग्ने उनको भनाइ छ । पुष्पा र अञ्जली पोथी भएकाले अलिक ठूलो भएपछि भालेसँग आफैं जान पनि सक्ने डा. लामिछाने बताउँछन् ।

उद्धार गरेर ल्याइएका र मानिसले हुर्काएका गैंडा जंगल जान खासै रूचाउँदैनन् । बाढीबाट उद्धार गरेर ल्याइएका मंगले र मेघौलीलाई कोषमा नै राखेर हुर्काइएको थियो । पछि तिनीहरुलाई जंगलमा छाड्ने भनेर पठाइयो । तर ती धेरैजसो मानिसकै बस्तीतिर आउने, हिँड्ने गरे । कोषमा बस्दा गैंडाका बच्चाहरु मानिसको स्याहारमा हुर्किने हुँदा मानिससँग निकै नजिक हुन्छन् । मानिसकै आस गर्छन् । मंगले र मेघौली सौराहाका वस्तीमा निस्फिक्री हिँड्ने गरेको देखिन्छ ।

कोषले साधारणतया साना गैंडाका केटाकेटीलाई अवस्था हेरी दुई वर्षसम्म पाल्ने गरेको छ । मानिसले हुर्काएर पालेका जनावरलाई ‘वाइल्ड’ बनाउनु अर्को चुनौती हो । कोषमा हालसम्म २० वटा बच्चा गैंडाको उद्धार गरिएको कोषले जनाएको छ ।

फोटो/भिडियोः सगुन चपाईं

लेखकको बारेमा
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?