+
+

संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा

यो देशमा जम्मा ३४ वटा जीव बस्दछन् । त्यसमध्ये ३० जना मानिस हुन् भने ४ जना कुकुर । यहाँ कुकुरलाई पनि नागरिकता दिइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १०:३०

आफ्नै देश होस्, आफैंले निर्धारण गरेको सिमाना होस्, आफ्नै सेना र मुद्रा होस्, आफ्नै संविधान होस् र अझ आफू नै त्यो देशको शासक हुन पाइयोस् । सायद यस्तो कुरा कल्पनामा मात्रै हुन्छ भन्ने लाग्नसक्दछ तपाईंलाई । तर संसारका केही मानिसले चाहिं यसलाई यथार्थमा परिणत गरिदिएका छन् ।

संसारमा केही त्यस्ता देशहरू छन् जसको जनसंख्या १०० भन्दा कम छ । भलै ती देशहरुलाई संयुक्त राष्ट्रसंघ तथा अन्य मुलुकहरुले देशको मान्यता दिएका छैनन्, तर त्यहाँका मानिसहरू पूर्ण स्वतन्त्रताका साथ बिन्दास जिन्दगी बिताइरहेका छन् ।

उसो त विश्वमा संयुक्त राष्ट्रसंघका सदस्य १९३ र पर्यवेक्षक २ गरी १९५ वटा मात्रै सार्वभौम मुलुक छन् । तर यी बाहेक अन्य यस्ता देशहरु पनि छन् जसले आफूलाई छुट्टै स्वतन्त्र राष्ट्र भएको दाबी गर्दछन् तर उनीहरुलाई राष्ट्रसंघ वा अन्य कुनै पनि देशले त्यस्तो मान्यता दिएका हुँदैनन् ।

यस्ता स्वघोषित तथा स-साना भूक्षेत्रहरूलाई माइक्रोनेशन अर्थात सुक्ष्म देश भनिन्छ । त्यस्ता देशहरुसँग आफ्नो सिमाना र कानुन हुन्छ । आफ्नै बैंकिङ व्यवस्था र सैनिक पनि रहने गरेको छ ।

गुगलको माइक्रोनेसन म्याप अनुसार हाल पृथ्वीमा यस्ता सुक्ष्म देशको संख्या ६७ पुगेको छ । त्यसमध्ये कतिपय देशको क्षेत्रफल केवल केही एक्कड मात्रै छ भने एउटा मुलुकको जनसंख्या त जम्मा ३० मात्रै छ ।

सुक्ष्मदेश मध्ये सबैभन्दा अनौठो कहानी रिपब्लिक अफ मोलोसियाको छ । यो देशको सीमाभित्र केवल ३४ वटा जीव बस्दछन् । त्यसमध्ये ३० जना मानिस हुन् भने ४ जना कुकुर ।

यो देशको कुल क्षेत्रफल जम्मा २.२८ एक्कड छ । यो क्षेत्र अमेरिकाको नेवादा राज्यसँगै छ ।त्यहाँका शासकको नाम केभिन बघ हो ।

नेवादाको डेयटेन भ्यालीमा रहेको उक्त माइक्रोनेसनको आफ्नै मुद्रा पनि छ । त्यसको नाम भ्यालोरा हो । उक्त देशको केन्द्रीय बैंकको रुपमा बैंक अफ मोलोसा छ भने चिपयुक्त सिक्का र नोटसमेत छापिएको छ ।

रोचक त के भने यो देशमा कुकुरलाई पनि नागरिकता दिइन्छ । शासक केभिन बघको परिवारमा पत्नी र तीनवटा सन्तान छन् । शासक बघले सधै सैनिक पोषाक लगाउने गर्दछन् र आफ्नो बर्दीमा विभिन्न खालका पदकहरु झुण्डाउने गर्दछन् ।

उनले आफैंलाई विभिन्न खाले सैनिक पदवी दिइसकेका छन् । उनी आफूलाई एक स्वतन्त्र देशको शासक मान्दछन् र त्यहाँ घुम्न आउने बाहिरी व्यक्तिहरुलाई आफैं सिमानामा गएर स्वागत गर्दछन् ।

सन् १९९० मा रिपब्लिक अफ मोलोसियाले पूर्वी जर्मनीसँग युद्धको घोषणा गरेको थियो । सन् २००६ मा रिपब्लिक अफ मोलोसियाको एक अर्को सुक्ष्म मुलुक मुस्टाचेस्टनसँग युद्ध भयो । उक्त युद्धमा केभिन बघले जित हासिल गरे र सजायको रुपमा मुस्टाचेस्टनका शासकले ६ वर्षसम्म हरेक महिना एक भ्यालोरा जरिवाना दिनुपरेको थियो । सन् २०१० मा एक अर्को सुक्ष्म मुलुकसँग मोलोसियाको युद्ध भएको थियो ।

रिपब्लिक अफ मोलोसियाले दुई पटक आफ्नो राष्ट्रिय गान परिवर्तन गरिसकेको छ । यो मुलुकको झण्डा निलो, सेतो र हरियो गरी तिरंगा स्वरुपमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?