+
+

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:२७

काठमाडौं । सन् १८८८ मा संसारको सबैभन्दा पहिलो फिल्म रिलिज भएको थियो । २.११ सेकेन्ड लामो उक्त फिल्मको नाम ‘राउन्डहे गार्डेन सीन’ थियो । तर तीन सेकेन्डभन्दा पनि कम लम्बाइको उक्त फिल्म विश्वकै लागि आविष्कार बन्यो ।

पहिलो फिल्म बनाउने कुनै निर्देशक थिएनन् बरु फ्रान्सेली वैज्ञानिक लुइस ली प्रिन्स थिए । २.११ सेकेन्ड लामो फिल्मबाट सुरु भएको चलचित्रको यात्रा अहिले वार्षिक ५ लाख फिल्मसम्म पुगेको छ ।

फिल्मको व्यापारलाई अर्थतन्त्रको ठूलो हिस्सा पनि मानिन्छ । विश्व मनोरञ्जन संसारको सन् २०२१ को नयाँ आँकडा सार्वजनिक भएको छ । जसअनुसार दुनियाँभर फिल्मको कुल बजार २१.४ बिलियन डलर रहेको छ ।

यो आँकडा कोरोना महामारीपछिको हो । यो कुल बजारमा चीनको हिस्सा मात्र ७.३ बिलियन अमेरिकी डलर (९१ अर्ब ९८ करोड रुपैयाँ) छ । यो सूचीमा नेपालको छिमेकी मुलुक भारत ०.५ बिलियन डलर (६ अर्ब ३० करोड)सहित आठौं स्थानमा छ ।

पहिलो स्थानमा रहेको चीनमा वार्षिक ८५० फिल्म प्रदर्शन हुन्छन् । जसमध्ये देशभित्रकै फिल्मले ६० प्रतिशत र विदेशी फिल्मले ४० प्रतिशत कमाइ गर्छन् ।

दोस्रो स्थानमा रहेको अमेरिकाले सन् २०२१ मा ५६ अर्ब ७० करोड रुपैयाँ (४.५ बिलियन डलर) कमायो । अमेरिकामा वार्षिक ८०० फिल्म रिलिज हुन्छन् । जसमा ८८.८ प्रतिशत स्वदेशी र ११.२ प्रतिशत विदेशी फिल्मबाट कमाइ हुन्छ ।

जापान सूचीमा तेस्रो स्थानमा छ । १.५ बिलियन डलरसहित तेस्रो स्थानमा रहेको जापानमा वार्षिक ८५० वटा फिल्म लगभग रिलिज हुन्छन् । जापानमा स्वदेशी फिल्मबाट ७९.३ र २१ प्रतिशत विदेशी फिल्मबाट कमाइ हुन्छ ।

सूचीको चौथो स्थानमा बेलायत र आयरल्याण्ड छन् । सन् २०२१ मा यी बजारमा प्रदर्शन भएका फिल्मले ०.८ बिलियन डलर कमाए । यी दुई बजारमा वार्षिक २८० फिल्म प्रदर्शन हुन्छन् भने स्वदेशी फिल्मबाट ४४ प्रतिशत र विदेशीबाट ५६ प्रतिशत कमाइ हुन्छ ।

सूचीको पाँचौं स्थानमा रहेको युरोपेली मुलुक फ्रान्सले सन् २०२१ मा फिल्मबाट कुल ०.८ बिलियन डलर कमाएको थियो । फ्रान्समा वार्षिक ३०० फिल्म रिलिज हुन्छन्, जसमध्ये स्वदेशीबाट ३६ प्रतिशत र विदेशीबाट ६४ प्रतिशत कमाइ हुन्छ ।

छैटौं स्थानमा रुस छ, जसले सन् २०२१ मा फिल्मबाट ०.६ बिलियन डलर कमाइ गरेको थियो । उक्त वर्ष त्यहाँ १०० फिल्म प्रदर्शन भए जसमध्ये स्वदेशीबाट १८ प्रतिशत र विदेशीबाट ८२ प्रतिशत कमाइ भयो ।

सातौं स्थानमा दक्षिण कोरिया छ, जसले बितेको वर्ष ३५० वटा फिल्मबाट ०.५ बिलियन डलर कमायो । जसमध्ये ५२ प्रतिशत स्वदेशीबाट र ४८ प्रतिशत विदेशबाट कमाइ भएको छ ।

नेपालको छिमेकी मुलुक भारत सूचीको आठौं स्थानमा छ । सन् २०२१ मा भारतमा लगभग २ हजार ४०० फिल्म रिलिज भए । जसबाट भारतले ६ अर्ब ३० करोड (०.५ बिलियन डलर) कमाइ गर्‍यो । कुल आम्दानीमा ८५ प्रतिशत स्वदेशी र १५ प्रतिशत विदेशी फिल्मको हिस्सा छ ।

अस्ट्रेलिया सूचीको नवौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका कुल ५० फिल्मबाट अस्ट्रेलियाले ०.५ बिलियन डलर कमाएको छ ।

जर्मनी सूचीको दशौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका लगभग २५० फिल्मबाट जर्मनीले ०.४ बिलियन डलर कमाइ गर्‍यो । जसमा स्वदेशी फिल्मको कमाइ २६.३ प्रतिशत र विदेशीबाट ७३.७ प्रतिशत हिस्सा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?